close

एक वडा एक नर्सरी : प्रभावकारी नभएपछि कार्यक्रम स्थगित

एक वडा एक नर्सरी : प्रभावकारी नभएपछि कार्यक्रम स्थगित

Trulli
ADVERTISEMENT

उदयपुर - उदयपुरगढी गाउँपालिकाले एक वडा एक नर्सरी कार्यक्रम स्थगित गरेको छ । विगत तीन वर्षदेखि सञ्चालित सो कार्यक्रम प्रभावकारी नभएपछि चालु आर्थिक वर्षदेखि २०८०/०८१ स्थगित गरेको हो । 

गाउँपालिकाको कृषि शाखाका प्रमुख पारसमुणि फुयाँलका अनुसार  कृषिमा आत्मनिर्भरसँगै स्थानीयको आय आर्जन वृद्धिका लागि सो कार्यक्रम सञ्चालन गरेको थियो । तर गाउँपालिकाका अधिकांश स्थानीय बासिन्दाले नर्सरीबाट बिरुवा मागेर लैजाने भएकोले कार्यक्रम प्रभावकारी नभएको  उनले पालिकाखबरलाई सुनाए । 

'सहरमा भए कौसीमा वा बारीमा रोप्नका लागि भए पनि केही बोट विरुवा किनेर लैजानु हुन्छ,' उनले भने, 'तर गाउँमा त्यस्तो हुँदैन । अधिकांशले मागेर मात्रै लैजाने गर्नुहुन्छ ।' नर्सरी सञ्चालन गर्ने कृषकले गुनासो गरे पछि गाउँपालिकाले कार्यक्रम स्थगित गरिएको उनले बताए ।

नर्सरीमा उत्पादित सामग्रीलाई बजारमा लैजानसमेत समस्या हुने गरेको उनले सुनाए । 'प्रतिविरुवा ५ रुपैयाँ पनि आउँदैन । तर बजारमा आउन जानको लागि धेरै समय र भाडा तिर्नु पर्ने हुन्छ,' उनले भने, 'लागत नै नउठ्ने भएपछि बजारमा बेच्न पनि लैजानु हुन्न । गाउँकै भरमा बस्नुपर्छ ।'

नर्सरीको रुपमा दर्ता नभई मिक्स उत्पादनको रुपमा फार्म दर्ता भएको उनले सुनाए । सोही फाममार्फत बिरुवा उत्पादन हुँदै आएको उनले बताए । नर्सरी उत्पादन गरेबापत गाउँपालिकाले विरुवा तथा सामग्रीमा ५० देखि सतप्रतिशत अनुदान दिँदै आएको उनले सुनाए ।

सो कार्यक्रमलाई स्थगित गरी चालु आवबाट गाउँपालिकाले उत्पादनमा आधारित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  गाउँपालिकामा हाल ३०० वटा फार्म सञ्चालन हुँदै आएको छ ।