close

बुटवलको हाटबजारमा तिनाउको तरकारी

बुटवलको हाटबजारमा तिनाउको तरकारी

Trulli
ADVERTISEMENT

पाल्पा– तिनाउ गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपजको लागि बजारीकरणको व्यवस्था गरेको छ । गाउँपालिकाले रुपन्देहीको बुटवल उपमहानगरपालिकाअन्तर्गत सञ्चालन हुने हाट बजारमार्फत कृषि उपज बिक्री गर्दै आएको हो । 

बुटवल उपमहानगरपालिकासँग दुईवटा सटर लिजमा लिएर पालिकाका किसानले उत्पादन गरेका खाद्यान्नलाई बजारीकरण गर्दै आएकोे गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । ‘विचौलियाले मनमानी नाफा नखाने वातावरण बनाउन एक द्वार प्रणालीमार्फत बजारीकरणमा अघि बढेका छौँ,’ उनले भने । 

किसानलाई उत्पादनको आधारमा पाँच प्रतिशत अनुदान उपलब्ध गराइरहेको अध्यक्ष श्रेष्ठले बताए । उनले पालिकाखबरसँग भने, ‘किसानले १०० रुपैयाँको तरकारी बेच्नुभएको छ भने थप पाँच रुपैयाँ गाउँपालिकाले उपलब्ध गराउँछ ।’

सो लिजमा लिएका सटरको व्यवस्थापन तिनाउ गाउँपालिका स्वयंले गर्दै आएको छ भने कृषक समुहमार्फत लिजमा लिएको सटरबाट कृषि उपज बिक्री गर्दै आएको छ । ‘समुहले प्रशासनिक खर्च स्वरुप बिक्री गरेका सामानको चार प्रतिशत रकम राख्ने गरेको छ,’ अध्यक्ष श्रेष्ठले भने । गाउँपालिकाले सटरको भाडा बापत बुटवल उपमहानगरपालिकालाई मासिक २० हजार रुपैयाँ तिर्दै आएको उनले जानकारी दिए । 

गाउँपालिका तथा स्थानीय सहकारीको लगानीमा गाउँपालिकामा एउटा कृषि एम्बुलेन्स सञ्चालनमा रहेको उनले जानकारी दिए । किसानले उत्पादनका आधारमा कृषि एम्बुलेन्सले आवश्यकता अनुसार उत्पादित सामाग्री बुटवल पुर्याउँदै आएको उनले जानकारी दिए । 

यस्तै गाउँपालिकाले अध्यक्षसँग किसान कार्यक्रम सञ्चालन गरेर प्रत्यक्ष किसानसँग जोडिएर उनीहरुका  समस्या समाधानका साथै आवश्यक बीउ बिजन वितरण गर्दै आएको उनले बताए । कार्यक्रममार्फत कृषि उपज पोषणसँग समेत जोडिएकाले विषादी रहित तरकारी उत्पादनमा जोड दिँदै आएको उनले बताए ।  

यस्तै गाउँपालिकाले किसानलाई बीउ बिजनदेखि उपकरणसम्म ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ । ‘कृषकलाई हाते ट्याक्टर ५० प्रतिशतमा उपलब्ध गराउँदै छौँ ।’ गाउँपालिकाको आफ्नै बजेटबाट  १७४ वटा ट्याक्टर वितरण गर्ने तयारीमा रहेको उनले जानकारी दिए । 

गाउँपालिकाभित्र पकेट क्षेत्र छुट्याएर च्याउ खेती, आलु खेती लगायतका नगदे बाली उत्पादनलाई प्रोत्साहन गरेको उनले बताए । कृषि सहकारीबाट आवश्यक मल सहज रुपमा उपलब्ध गराउँदै आएको पालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । कृषि प्राविधिकले कृषि बालीको अनुगमन समेत गर्ने गरेको उनले सुनाए । 

कृषि क्षेत्रको लागि गाउँपालिकाले ८५ लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष श्रेष्ठले बताए । संघीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण तथा प्रदेश सरकारको तरकारी पकेट क्षेत्रका लागि बजेट आएको उनले बताए । गाउँपालिकामा कृषि क्षेत्रको लागि चालु आर्थिक वर्षमा करिब डेढ करोड रकम विनियोजित रहेको उनले जानकारी दिए ।