close

रैथाने बालीको ब्राण्डिङ गर्ने योजनामा मर्स्याङ्दी

रैथाने बालीको ब्राण्डिङ गर्ने योजनामा मर्स्याङ्दी

Trulli
ADVERTISEMENT

लमजुङ– मर्स्याङ्दी गाउँपालिकाले रैथाने बाली प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाभित्रका स्थानीय बाली लोप बाहिरबाट खरिद गरेर ल्याएका खाद्यान्न उपभोग गर्ने चलन बढेपछि गाउँघरमा फल्ने स्थानीय बीउ, बालीको प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

रैथाने बाली प्रवर्द्धनका लागि हरेक वर्ष कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पालिकाखबरसँग बताए । कृषि सहकारीमार्फत स्थानीयलाई सो सम्बन्धि अनुदान र सहयोग गर्दै आएको उनले बताए । 

पालिकाभित्र तीनवटा कृषि सहकारी सञ्चालित छन् । सो सहकारी संस्थामार्फत कृषकले रैथाने बाली प्रशोधन, प्याकेजिङ र ब्राण्डिङ गर्न चाहेमा योजना बनाउन तथा प्राविधिक सहयोग उपलब्ध गराउने कृषि शाखा प्रमुख तिलक कट्टेल बताए । ‘अनुदानमा गुन्द्रुक बनाउन चाहेमा गुन्द्रुक बनाउने मेसिनमा ५० प्रतिशत अनुदान उपलब्ध गराएर सहयोग गछौं,’ उनले भने । 

रैथाने बालीलाई प्याकेजिङ गरि ब्राण्डिङ गर्ने उद्देश्यले गाउँपालिकाको कृषि विकास शाखाले स्थानीयलाई दुईदिने तालिम समेत उपलब्ध गराएको उनले जानकारी दिए ।  

यस्तै गाउँपालिकाबाट प्रोत्साहन अनुदानका कार्यक्रम समेत सञ्चालन गरिएको छ । ‘बाँझो खेतीमा रैथाने बाली लगाएमा प्रतिरोपनी नौ सय रुपैयाँ उपलब्ध गराउँछौँ ।’ रैथाने बालीमा कालो भट्ट, काउनो जस्ता बाली लगाउनुपर्ने बताए । एक किलो रैथाने बाली उत्पादन गरेमा १० रुपैयाँ अनुदान दिने तथा योजनासमेत रहेको उनले सुनाए ।  

गत वर्ष रैथाने उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको कृषि शाखा प्रमुख कट्टेलले बताए । रैथाने बालीका बिउ दिने, औजार, उपकरण दिने कार्यक्रम सञ्चालन गरेको उनले बताए । ‘हिजोसम्म घट्टमा कोदो पिस्ने गर्नुहुन्थ्यो । त्यसको सट्टामा मेशिन वितरण गर्ने, कोदो प्रोसेसरमा अनुदान दिने काम गरिरहेका छौँ ,’ उनले भने । 

चालु आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेर रैथाने बाली प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।