close

माग बढेपछि केराबारीमा भटमास

माग बढेपछि केराबारीमा भटमास

Trulli
ADVERTISEMENT

मोरङ - केराबारी गाउँपालिकाले सेता भटमास खेतीलाई प्रवर्द्धन गर्ने भएको छ । गाउँपालिकामा सेतो भटमासको उत्पादनसँगै बजार पनि राम्रो भएकोले प्रवर्द्धन गर्न लागेको हो । 

गाउँपालिकाको कृषि तथा सहकारी शाखाका अधिकृत टेकप्रसाद बास्तोलाका अनुसार गाउँपालिकाले प्रदेश सरकारको सर्सत अनुदानकाे बजेटमार्फत सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । सो कार्यक्रमको लागि चालु आवमा करिब १० लाख रुपैयाँ बजेट विनियोजन भएको उनले पालिकाखबरलाई सुनाए । 

सेतो भटमास प्रवर्द्धनका लागि गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा बीउ तथा सामग्री वितरण गरिने उनको भनाइ छ । क्लष्टर क्षेत्रमा भटमास उत्पादन गर्ने समूह तथा कृषकलाई प्राथमिकतामा राखी बीउ तथा सामग्री वितरण गर्ने तयारी गाउँपालिकाको छ । 

स्थानीय बासिन्दाको मागको आधारमा गाउँपालिकाले बीउ तथा सामग्री वितरण गर्ने छ । गाउँपालिकाले करिब डेढ टन भटमासको बीउ वितरण गर्ने अनुमान गरेको उनले सुनाए । 

गाउँपालिकामा पहाडी तथा तराई क्षेत्र भएकोले सेतो र कैलो भटमासको उत्पादन राम्रो हुने गरेको  उनले सुनाए । स्थानीय बासिन्दाले मकै बारी भित्र, धान रोपेको खेतको आलीमा तथा पाखो बारीमा भटमास लगाउँदै आएको उनले बताए । उनका अनुसार करिब एक हजार ५०० देखि दुई हेक्टर क्षेत्रफलमा भटमास  खेती हुँदै आएको छ । 

गाउँपालिकामा उत्पादन भएको भटमासको बजारीकरणसमेत राम्रो रहेको उनले बताए । पालिकामा उत्पादित भटमास स्थानीय स्तरमै उपयोग हुने उनको भनाइ छ । 

'गाउँपालिकामा  उत्पादन भएको भटमास दाना उद्योग तथा स्वयाबिन तेल उद्योगमा खपत हुन्छ, ' उनले भने, 'केही उद्योगले प्रदेश सरकारसँग समन्वय गरी भटमास खरिद गर्न लागेको छ ।'