close

बाँझो जमिनमा खेती गर्नेलाई प्रतिरोपनी २५ सय अनुदान

बाँझो जमिनमा खेती गर्नेलाई प्रतिरोपनी २५ सय अनुदान

Trulli
ADVERTISEMENT

स्याङ्जा– फेदीखोला गाउँपालिकाले बाँझो जमिनको उपयोगका लागि किसानलाई अनुदान उपलब्ध गराउन दोस्रोपटक सूचना प्रकाशन गरेको छ । गाउँपालिकाको लक्ष्य अनुसारको आवेदन नपरेपछि समय थप गरेर पुनः सूचना प्रशासन गरेको हो । 

गाउँपालिकाले फागुन ६ गते दोस्रोपटक सूचना जारी गर्दै बाँझो जमिनमा खेती गर्न इच्छुक कृषक, कृषि समुह तथा कृषि सहकारीलाई १५ दिनभित्र आवेदन पेश गर्न अनुरोध गरेको छ । 

बाँझो जमिनमा धान, कोदो, मकै, फापर, गहुँ दलहन वा तरकारी खेती गर्नका लागि पालिकाले अनुदान उपलब्ध गराउन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पौडेलले बताए । गाउँपालिकाले आफ्नै बाँझो जमिनमा खेती गर्दा प्रतिरोपनी दुई हजार रुपैयाँ तथा बाँझो जग्गा भाडामा लिएर खेती गर्दा प्रतिरोपनी दुई हजार ५०० रुपैयाँ उपलब्ध गराउने उनले जानकारी दिए । 

फेदीखोला गाउँपालिकाको बाँझो जग्गा उपयोग अनुदान भुक्तानी कार्यविधि, २०७७ अनुसार बाँझो जमिनमा खेती गर्न चाहने स्थानीयलाई गाउँपालिकाले अनुदान उपलब्ध गराउँदै आएको उनले बताए । 

उनका अनुसार चालु आर्थिक वर्षमा कम्तिमा सय रोपनी बाँझो जमिनमा खेतीको लागि अनुदान उपलब्ध गराउने गाउँपालिकाले लक्ष्य लिएको छ । तर लक्ष्यअनुरुप आवेदन नपरेको उनले बताए । उनले पालिकाखबरसँग भने, ‘१०/१२ रोपनीको लागि मात्र आवेदन परेको छ । गाउँपालिकाको सूचना पाउन छुट्नु भएकासम्म खबर पुर्याउन पुन सूचना प्रशासन गरेका हौँ ।’ 

दुई वर्षदेखि बाँझो रहेका जग्गामा खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको उनले बताए ।