close

विनोद शाही मृत्यु प्रकरणमा मेयर चलाउनेसहित सात जना पक्राउ

विनोद शाही मृत्यु प्रकरणमा मेयर चलाउनेसहित सात जना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौँ । स्थानीयको दबाबपछि प्रहरीले अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा अनुसन्धान गर्न मेयर अम्बिका चलाउनेलाई हिरासतमा लिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार घटनाको अनुसन्धानका लागि चलाउने र अर्का एक जनालाई शनिबार पक्राउ गरिएको जानकारी दिएको छ । तर उनीहरूलाई कहाँबाट पक्राउ गरिएको हो भन्ने कुरा भने खुलाइएको छैन ।

पालिका खबरलाई उच्च प्रहरी स्रोतले दिएको जानकारी अनुसार मेयर चलाउनेलाई काठमाडौँमा पक्राउ गरेर अछाम लगिएको हो ।

पीडित पक्षले हत्या गरेको आरोप लगाउँदै मेयर चलाउने सहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । जसमा हालसम्म ७ जना पक्राउ परिसकेका छन् । तर, प्रहरीले पक्राउ परेकाहरूको नाम भने गोप्य राखेको छ ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा काँग्रेस र एमालेका कार्यकर्ताबिच मतदानका क्रममा विवाद भएको थियो ।

स्थानीयका अनुसार विवादका क्रममा काँग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करिब तीन घण्टा मतदान रोकिएको थियो । त्यसपछि सोही विषयलाई लिएर एमाले कार्यकर्ताले काँग्रेस कार्यकर्तालाई कुटपिट गरेका थिए ।

त्यसपछि जेठ १७ गते काँग्रेस कार्यकर्ताको जाहेरीका आधारमा प्रहरीले केही व्यक्तिहरूलाई पक्राउ गर्न खोज्दा अवरोध भएपछि दोहोरो झडप नै भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।

शाहीको हत्या गरिएको भन्दै दोषीलाई पक्राउ गर्न माग गर्दै परिवारले ५ दिनसम्म घटनास्थलबाट शव उठाउन दिएनन् । प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि मात्रै उनीहरुले शव बुझेका थिए ।

हत्या गरिएको भनिएका शाही कक्षा १० मा पढ्ने पढ्दै थिए । जेठ १७ गते बेपत्ता भएका उनको शव जेठ २१ गते घर नजिकैको जङ्गलमा फेला परेको थियो ।

यो घटनाको सिआइबीले पनि अनुसन्धान गरिरहेको छ। मृतकका आफन्तले भने हत्या भएको र हत्यामा संलग्नलाई प्रशासनले पहिचान गरी कारबाही गर्न ढिलाइ गरिरहेको भन्दै विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।