close

डिपट्युवेलका ट्रान्सफर्मर चोरी

डिपट्युवेलका ट्रान्सफर्मर चोरी

Trulli
ADVERTISEMENT

बारा । बारा र पर्सा जिल्लामा  भूमिगत सिँचाइको काम प्रभावित भएको छ । भूमिगत सिँचाइका लागि  जडान भएका  डिपट्युवेलबाट ट्रान्सफर्मर चोरी भएसँगै सिँचाई प्रभावित भएको हो । 

ट्रान्सफर्मर चोरीका कारण दुवै जिल्लामा भूमिगत  सिँचाइको काम प्रभावित भएको भूमिगत जलस्रोत तथा  सिँचाइ विकास डिभिजनको कार्यालय वीरगञ्ज पर्साले जनाएको छ । मधेश प्रदेश सरकारको मातहतमा रहेको कार्यालयका अनुसार पर्सा जिल्लामा तीन वटा र बारा जिल्लामा तीन वटा ट्रान्सफर्मर चोरी भएका छन् । 

चोरी भएका ट्रान्सफर्मरबारे पर्सा र बाराका प्रहरी  प्रशासनलाई जानकारी दिएको कार्यालय प्रमुख  अरविन्दकुमार मिश्राले जानकारी दिए । चोरी भएका छ वटा  ट्रान्सफर्मरको मूल्य रु ३० लाख रहेको उनको भनाइ छ । 

कार्यालयका अनुसार  पर्साको  वीरगञ्ज  महानगरपालिका वडा नं २८ र ३१, कोन्दियाको वडा नं ३२ को सोलखपुर र बारा जिल्लाको पर्सोनी गाउँपालिका वडा नं ७ प्रस्टोका, महागढी माई नगरपालिकाको  तेलकूवा र हर्नेया नजिक इनर्वामालमा जडान भएका डिपट्यूवेलबाट ट्रान्सफर्मर चोरी भएको प्रमुख मिश्राले जानकारी दिए । उनका अनुसार विगत दुई महिनाको अवधिमा ६ वटै ट्रान्सफर्मर चोरी भएको हो । ट्रान्सफर्मर चोरी भएपछि किसान समस्यामा परेको मिश्राको भनाइ छ । 

पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले चोरी भएको ट्रान्सफर्मर विषयमा छानबिन तथा पत्ता लगाउनका लागि सम्बन्धित प्रहरी चौकीमा निर्देशन दिइएको बताए। 
 
ट्रान्सफर्मरभित्र रु ५० हजार पर्ने तेल र रु चार लाखभन्दा बढी मूल्य पर्ने तामाको तार जडान गरिएको हुन्छ ।