close

महिला वडाध्यक्षलाई अवसरभन्दा चुनौती बढी

महिला वडाध्यक्षलाई अवसरभन्दा चुनौती बढी

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नेपालको संविधान २०७२ लागू भएसँगै कार्यान्वयनमा आएको संघीयताबमोजिम मुलुकमा दोस्रो स्थानीय तहकाे कार्यकाल सुरु भएको छ ।

तर, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको धारा ३८(४)मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हकको व्यवस्था उल्लेख छ ।

राज्यका सबै संरचनामा  एकतिहाई महिलाको अनिवार्य उपस्थिति हुनुपर्ने प्रावधान संविधानमा छ । सोही प्रावधानअनुसार राष्ट्रपति र उपराष्ट्रपति, प्रतिनिधिसभाको सभामुख र उपसभामुख, जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख , स्थानीय तहको प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ । 

तर, सो व्यवस्था वडाध्यक्ष पदका लागि भने लागू भएको पाइँदैन । त्यसैले पनि कम मात्रै महिला वडाध्यक्षमा उम्मेद्वारीसँगै विजयी भएका छन् । विजयी भएका महिलाको नेतृत्व पनि सहज छैन । उम्मेद्वारी दिने समयदेखि कार्यकालमा पनि उनी विभिन्न समस्या झेल्दै आएका छन् । महिला भएकै कारण पार्टीले टिकट नदिने गरेको, र विजयी भइहाले पनि बजेटलगायत कुरामा उपेक्षा गरिएको गुनासो महिला वडाध्यक्षहरूको छ । 

गोरखाको शहीदलखन नगरपालिकाको वडा नम्बर २ मा सकुन थापामगर वडाध्यक्षमा निर्वाचित भइन् । उनी वडाध्यक्ष पदमा निर्वाचित मात्रै नभएर पालिकाकै  पहिलो महिला वडाध्यक्षको इतिहास रचिन् । 

‘मैले उम्मेद्वारी दिँदै गर्दा महिलाले जित्न सक्ला र भन्ने प्रश्न आएको थियो,’ उनले स्मरण गर्दै भनिन्, ‘कतिले त  महिलाले वडा चलाउन सक्दैन भन्ने प्रश्नसमेत गरे ।’ तर, आफूले लामो समय समुदायमा गरेको योगदान र सेवाले आफू पुरुष उम्मेद्वारलाई पछाडि पारेर जीत हासिल गर्न सफल भएको उनले बताइन् । 

आफू निर्वाचित भएसँगै वडाको फोहोर व्यवस्थापनका लागि लागेको उनले पालिकाखबरलाई  सुनाइन् । 

‘यहाँका मन्दिरबाट मात्रै दैनिक पाँच यस किलो फोहोर उत्पादन हुन्छ,’ उनले भनिन्, ‘बजार क्षेत्रदेखि विभिन्न स्थानबाट एक हजारदेखि पन्ध्र सय फोहोर उत्पादन हुँदै आएको छ ।’

वडाभित्र आउने फोहोरको व्यवस्थापन हालसम्म सो क्षेत्रका संघ संस्थालाई आग्रह गर्दै आए पनि कुनै सहकार्य गर्न नमानेकोमा उनले दुखेसो पोखिन् । भन्छिन्, ‘यसले मलाई पनि काम गर्न समस्या भएको छ ।’ 

वडाध्यक्ष भएपछि वडा नम्बर ३ सँग समन्वय गरेर फोहोरमैलाका समिति गठन गरिसकेको उनले बताइन् । उनको नेतृत्वमा  फोहोर व्यवस्थापनको लागि ७ सय मिटर तल ल्याण्डफिल्ड बनाउने योजना बनेको उनले सुनाइन् । 

आफू महिला नेतृत्व भएकोले महिलासँगै कृषि, शिक्षा, स्वास्थ्य, एकल महिलालाई प्राथमिकतामा राखेर वडाको योजना निर्माण भएको उनको दाबी छ ।   ‘महिलाको शसक्तीकरणका लागि अभिमुखीकरण ल्याउने सोच छ,’ उनले भनिन्, ‘महिलाको हक अधिकारको लागि लड्ने योजना बनाएका छौँ ।’

उम्मेद्वारीको दर्ताको क्रममा समाजले केही शंका गरे पनि कार्यशैलीप्रति खुसी भएको उनी बताउँछिन् । आफूले गरेको कामलाई वडाले नजिकबाट नियाल्दै आएको वडाध्यक्ष थापामगर बताउँछिन् ।  

उनले भनिन्, ‘नराम्रो पतिक्रिया केही छैन । सकारात्मक र नकारात्मक प्रतिक्रिया आएको छ । तर, मेरो कार्यलाई नकारात्मक रुपमा हेरिएको छैन ।’

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको वडा नम्बर ४ की वडाध्यक्ष सरस्वती कुलुङ महिला जनप्रतिनिधि भए पनि पुरुषको जस्तै नेतृत्व सम्हाल्न सक्ने विश्वास व्यक्त गर्छिन् । 

आफू महिला भए पनि समाजमा राम्रो प्रभाव भएकाले आफू पार्टी र जनताको रोजाइमा परेको बताउँछिन् । ‘म पहिलेदेखि नै सामाजिक सेवामा लागेको हुनाले मैले सहज रुपमा काम गर्दै आएको छु,’ उनी भन्छिन् । 

वडाध्यक्ष भएसँगै वडाका जनतासँग प्रत्यक्ष रुपमा जोडिएर उनीहरूको घरघरमा गएर सेवा दिँदै आएको उनको अनुभव छ । महिला वडाध्यक्ष भए पनि र पुरुषजस्तै नेतृत्व गर्न सकेकोमा उनले खुसी व्यक्त गरिन् । 

तर, आफू महिला वडाध्यक्ष भएकै कारणले चुनौती भोग्नु नपरेको  उनले पालिकाखबरलाई बताइन् । ‘महिला र पुरुष दुबैलाई अवसरसँगै चुनौती पनि छ । तर, पुरुषलाई जस्तै धेरै चुनौती छैन,’  उनले भनिन्, ‘तर महिला भएकाले अन्य महिलाको शसक्तीकरणका लागि योजना बनाएका छौँ ।’

आफूले व्यक्तिगत चाहनाभन्दा पनि जनताको इच्छाअनुसार वडाध्यक्षमा उम्मेदवारी दिएकाले जनताको सेवा गर्न आफू सधैँ तत्पर रहेको उनले सुनाइन् । सय दिनको कार्यवधिप्रति अध्यक्ष कुलुङ उनी सन्तुष्ट छिन् । ‘सबैले शतप्रतिशत नै गर्न सक्दैनन् । म पनि सक्दिनँ,’ उनले भनिन्,  ‘जनताको सबै अपेक्षा एकैपटक पूरा हुन सक्दैन । समय लाग्छ ।’

आवश्यक समन्वय गरेर जनताको अपेक्षा र चाहना पूरा गर्नका लागि आफूले काम गर्दै आएको उनले बताइन् ।  ‘दीगो विकासको लक्ष्यअनुरुप काम भइरहेको छ । साथीहरूले पनि गर्दै आउनुभएको छ । कतिपय काम भएका छैनन् । त्यसैले योजना बनाएर काम गर्ने निर्णय गरेको छु,’ उनले भनिन् । 

महिलाहरू स्वरोजगार नभएसम्म समाजले महिलाप्रति हेर्ने दृष्टिकोणमा फरक नआउने भएकाले वडाका महिलालाई प्राथमिकतामा राखेर योजना बनाउँदै आएको उनले पालिकाखबरलाई बताइन् । 

‘महिलाहरूलाई पनि पैसा कमाउने अवसर दिनुपर्छ,’ उनले भनिन्, त्यसैले महिलालाई सीपमूलक तालिमसँगै शसक्तीकरणका लागि बजेट विनियोजन गरिएको छ ।’  

सिन्धुलीको दुधौली नगरपालिकाको वडा नम्बर ३ की वडाध्यक्ष भद्रा माझिले उम्मेदवारीका लागि पार्टीले सुरुमा सहयोगको आश्वासन त पाइन् । तर मुस्किलैले टिकट पाइनन् । 

‘मलाई पार्टीले वडाध्यक्ष पदको टिकट दिने भनेको थियो । तर, गठबन्धन गरेपछि टिकट दिन मानेन,’ उनले स्मरण गर्दै भनिन् । टिकट नपाएपछि विद्रोहको गर्ने तयारी गरेको थाहा पाएपछि  पार्टीले पार्टीले टिकट दिएको उनले बताइन् । 

‘पार्टीले त मलाई पत्याउन गाह्रो मानेको थियो । तर, जनताले मलाई विजयी गरायो,’ उनले भनिन् । तर, पालिकाले उपेक्षामा राखेर बजेट विनियोजन गरेको आरोप उनको छ । 

‘पालिकाले महिला वडाध्यक्ष भएको कारणले अरू वडाको तुलनामा थोरै बजेट विनियोजन गर्नुभएको छ,’ उनले भनिन्, ‘पालिका प्रमुखलाई भेटेर कुरा गर्दा प्राविधिक गल्तीको कारण भन्नुभयो ।’ आफूलाई कम कम बजेट दिए पनि योजनाअनुरुप काम गर्ने विश्वास उनको छ ।  

‘वडामा शिक्षा र जनचेतनाको कमी छ,’ उनले भनिन्, ‘ती समस्याको समाधान गर्दै लैजाने योजना बनाएकी छु ।’ आफूले गरेको काम र कार्यशैलीप्रति वडाबासी खुसी भएको अनुभव उनको छ । 

ठुला व्यक्तिभन्दा सर्वसाधारणसँग चाँडै घुलमिल हुने भएकाले जनताको पीडा बुझ्नसक्ने भएकोले आफूप्रति जनताको विश्वास बढेको उनले बताइन् । परिवारको सहयोग र श्रीमानको हौसलाले वडा सम्हाल्न सहज भएको उनको अनुभव छ । 

यस्तै, आफूजस्तै अन्य महिलाले विभिन्न समस्या भोग्न नपरोस् भन्ने सोच्छिन् मुसिकोट नगरपालिकाको वडा नम्बर ९ की महिला वडाध्यक्ष भुमा गुरुङ । 

उनी मुसीकोटको मात्रै नभई गुल्मी जिल्लाकै पहिलो महिला वडाध्यक्ष हुन् । आफू सोही  गाउँमै हर्केको, पढेलेखेको र समाजमा सेवा गरेकोले उम्मेद्वारी दर्तासँगै विजयी भएको उनी बताउँछिन् । 

‘मलाई उम्मेद्वारीको लागि समस्या थिएन,’ उनले भनिन्, ‘परिवारले पनि आवश्यक सहयोग गर्दै आएको छ ।’ तर, महिला भएकै कारणले समाजले फरक रूपले हेर्ने उनी बताउँछिन् । 

महिला र पुरुषको पद समान छ । ‘तर हामीलाई फरक तरिकाले हरिन्छ,’ उनले भनिन्, ‘समाजको हेराइले पनि महिलालाई काम गर्न चुनौती थप्छ ।’ तर, पनि चुनौतीलाई पनि अवसरको रुपमा लिएर समाजसँग जुधेर काम गर्दै आएको उनले बताइन् । 

महिला वडाध्यक्ष भएकोले आफूले भोगेको समस्या, आइलागेका समस्याबारे चासो दिएर काम गर्दै आएको उनले बताइन् । उनका अनुसार वडाभित्रका महिलाको सशक्तीकरणका लागि योजना बनाउँदै आएको छ । उनले भनिन्, ‘तर पुरुष अध्यक्ष महिलालाई भन्दा पनि सडक विकासलाई प्राथमिकता दिने अनुभव मेरो छ ।’ वडाभित्र धेरै नानीले पढाइ छोडेकोले विद्यालयबाट बाहिर भएका विद्यार्थीलाई भित्र पठाउने योजना बनाएको उनले बताइन् । 

उनले शिक्षामा सुधारको लागि विभिन्न निकायसँग समन्वय गर्दै आएको र बाँकी दिनमा पनि गर्ने आश्वासन उनको छ । उनले समयअनुसार पैरवी गरेर विपन्न परिवारलाई सहयोग गर्दै आएको बताइन् । 

उम्मेद्वारीको क्रममा महिलाले गर्न सक्दैन भनिए पनि निर्वाचित भएर आए पनि पालिकाले अन्य वडाको तुलनामा समानमा बजेट विनियोजन गरेको उनले बताइन् ।सोहीअनुरुप बितेको सय दिनको कार्यवधिमा जनताले  सोचेकोजस्तै काम भएकामा उनले खुसी व्यक्त गरिन् । 

भन्छिन्, ‘केही काम पूरा भएको छैन । तर, बिस्तारै पाँच वर्षभित्र पूरा हुनेछ ।’