close

डाेकाे बुनेर जीवन  चलाउँदै

डाेकाे बुनेर जीवन  चलाउँदै

Trulli
ADVERTISEMENT

म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जाका धनबहादुर विक र टेकबहादुर विकको परिवार कामको खोजीमा बेनी झरेको तीन वर्ष बित्यो । अहिले यी दुई विक परिवार बेनी नगरपालिका– वडा नं २ बगरफाँटमा जग्गा भाडामा लिएर टहरो बनाइ डोको बुनेर त्यसबाट आएको पैसाले गुजारा चलाउँदै आएका छन् ।

एकहत्तर वर्षीय धनबहादुर आफू जान्ने भएदेखि अहिलेसम्मको उमेर डोको बुनेरै जीवन बिताए। जीवनका अनेकौँ घामपानी भोगेका उनी उमेरले डाँडा काट्नै लाग्दा पनि जागर र जोस भने युवाभन्दा कम देखिँदैनन्। 

घरको पिँढीमा बसेर नातिनातिनी खेलाउँदै छोरा बुहारीको कमाइ खाने बेलामा चोयाँसँग खेल्दै डोका बुन्न व्यस्त उनीडोको बुन्ने सीप नै आफ्नो बुढेसकालको सहारा भएको बताउँछन् । 

त्यस्तै अवस्था छ सोही ठाउँमा डोको बुन्दै गर्नुभएका ६९ वर्षीय टेकबहादुर विकको पनि । उहाँले १२ वर्षको उमेरमा डोको बुन्न सिकेको सीप नै जीवन जिउने आधार बनेको बताउँछन्। देशमा भएको राजनीतिक परिवर्तनले विकद्धयको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको उनीहरुको भनाइ छ । उनीहरुले डोको बुन्ने सीप नै आफ्ना लागि मुख्य आधार भएको बनेको छ। 

टेकबहादुरले एक डोको रु तीन सयदेखि पाँचसय सम्ममा बिक्री गर्दै आएका छन्। ‘अहिले पहिलेको जस्तो डोकाको बिक्री छैन, पहिला घरमै ग्राहक खोज्न आउँथे, अहिले डोको बेच्न भारी नै बोकेर गाउँगाउँ चाहार्नुपर्छ’ उनले भने। उनले आफ्नो हातमा सीप र काम गर्नसक्ने अवस्था रहुञ्जेलसम्म ढोको बुनेर नै जीविका चलाउने बताए । 

‘अहिलेसम्म यसैबाट जीविका चलाएको छु, अव कति नै बाँचुला र रु बाँचुन्जेलसम्म जीउ सञ्चै भयो भने डोको बुनेर नै गुजारा चलाउँछु’ टेकबहादुर भन्छन्। हातमा सीप छ, घामपानीमा निस्कन नपर्ने, बुढेसकालमा दिन बिताउने बाटो पनि यही डोको बुन्ने पेसा नै बनेको विकको भनाइ छ । डोको बुनेर आएको पैसाले दैनिक घरखर्च चलाउने र आफ्नी श्रीमतीको औषधि उपचारमा खर्च गर्ने गरेको उनले सुनाए। ‘छोराबुहारीले नहेरेपछि यही डोको बुनेर श्रीमती र म पालिएका छौँ’ उनले भने।