close

आँगनमा धारा छ, पानी छैन

आँगनमा धारा छ, पानी छैन

Trulli
ADVERTISEMENT

म्याग्दी । बेनी नगरपालिका–१ उपल्लाचौरकी कल्पना थापामगरको आँगनमा धारा छ । खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्छन् । 

'आँगनमा धारा भए पनि पानी आउँदैन', उनले भने, 'टोलको सार्वजनिक धारामा पानी आउँदा पालो लगाएर पाइपबाट ल्याएको पानी ड्रम, गाग्री र ग्यालिनमा सँगालेर उपभोग गर्छौँ ।' कल्पनाजस्तै उपल्लाचौर र सालघारी टोलका धेरैजसो घरमा निजी धारा बनेको करिब एक वर्ष पुगे पनि पानी आपूर्ति भएको छैन । कालीगण्डकीको पानी तानेर घर–घरमा खानेपानी सुविधा पु¥याउने उद्देश्यले सुरु भएको रत्नेचौर लिफ्ट खानेपानी आयोजना निर्माणले गति लिन नसक्दा उपभोक्ताको दुःख नहटेको हो ।

रत्नेचौरमा विस २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित छ । जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुनसकेको छैन । आयोजना निर्माणमा भएको ढिलाइले घर–घरमा धाराबाट शुद्ध खानेपानी उपभोग गर्न पाउने आशा गरेका नागरिक निरास बनेका स्थानीय कृष्ण बोगटीले बताए । 

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सञ्चालित करिब रु सात करोडको खानेपानी आयोजनाले ठेक्का सम्झौता भएको ३१ महिनासम्म पनि पूर्णता पाएको छैन । बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापाले सम्बद्ध कार्यालय र निर्माण व्यवसायीको समझदारी नमिल्दा खानेपानी आयोजना निर्माणले निरन्तरता पाउन नसकेको बताए। 

'ताकेता ग¥यो भने १५–२० दिन काम हुन्छ । अनि फेरि रोकिन्छ, हैरान भएका छौँ', उनले भने, 'निर्माण कम्पनीका सञ्चालक र खानेपानी कार्यालयको असमझदारीले आयोजना प्रभावित बनेको हो ।' खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दी र प्राकृतिक–प्रदीप–जुम्ली जेभीबीच २०७७ असार २४ गते रु दुई करोड ७५ लाख ३६ हजार पाँच सयमा ठेक्का सम्झौता भएको थियो ।

कूल रु छ करोड ७६ लाख लागत अनुमान गरिएको आयोजनाको उपभोक्ता समितिले गर्नुपर्नेबाहेकका संरचना बनाउन ठेक्का लगाइएको हो । विसं २०७९ असार २३ गतेसम्म मुहानमा इनार, मुख्य लाइन, सङ्कलन, रिजर्भ र वितरण ट्याङ्कीलगायत संरचना निर्माण गरिसक्ने सम्झौता थियो ।

हालसम्म एक वटा रिजर्भ फेरो ट्याङ्की निर्माण सकिएको छ । दुईवटा ट्याङ्की र इनार निर्माणलाई पूर्णता दिन बाँकी छ । मुख्य पाइप लाइन जडान र गाड्ने, शाखा लाइन खन्ने गाड्ने काम बाँकी छ । निर्माण कम्पनीका प्रतिनिधि होमनाथ सापकोटाले बाँकी कामलाई पूर्णता दिन शनिबारदेखि मजदुर र उपकरण परिचालन गरेको बताए। 

'इनार बनाउन खाडल खनिएको छ, कार्यालयले छिटो लाइन दियो भने मुख्य लाइनको जिआइ पाइप वेल्डिङ पनि तत्कालै सुरु हुन्छ', उनले भने, 'बाँकी रहेका धारा बनाउन र पाइप लाइन पुर्नका लागि मजदुर ल्याएको छु । समुदाय र कार्यालयबाट वातावरण बन्यो भने दुई महिनाभित्र आयोजना निर्माण सकिन्छ ।'

विसं २०७७ माघ ११ गते तत्कालीन प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले आयोजनाको शिलान्यास गर्नुभएको थियो । सिमस्थित कालीगण्डकी नदी किनारबाट पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा दुई सय ४३ घरधुरीमा निजी धारामार्फत खानेपानी वितरण गर्ने योजना छ । हालसम्म एक सय २० भन्दा बढी घरमा निजी धारा निर्माण भइसकेको छ । 

तीस हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेण्ड ४.७ लिटर पानी चार सय ५० मिटरमाथि सालघारीमा निर्माण हुने एक सय १५ क्यूबिक क्षमताको ट्याङ्कीमा खसालेर घर–घरमा धारा जडान गरेर वितरण गरिने भएको छ । घर–घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने यो आयोजनाको वितरण लाइनको कुल दूरी १८.७ किलोमिटर छ । खानेपानी कार्यालयले भने ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कामलाई तीव्रता दिन ताकेता गरिएको जनाएको छ ।