close

व्यवसायिक तरकारी खेतीमा जम्दै ठाटीकाँधका कृषक

व्यवसायिक तरकारी खेतीमा जम्दै ठाटीकाँधका कृषक

Trulli
ADVERTISEMENT

दैलेख। ठाटीकाँध गाउँपालिकाकै नमुना अगुवा कृषकका रुपमा परिचित गणेश थापाको बिहान भालेको डाकोसँगै निन्द्रा खुल्छ । उनी ब्युझँने बित्तिकै आफुले लगाएको तरकारी सुम्सुम्याउन बारीमा पुग्छन्। र, मायाले ती तरकारीको गोडमेल गर्छन्। 

बालीमा लाग्ने रोग वा अन्य विषयमा आफूलाई जानकारी नभए तुरुन्तै प्राविधिकलाई सम्पर्क गरेर सोध्छन् उनी। आवश्यक परेमा प्राविधिकलाई घरमै बोलाएर सहयोग लिन्छन्। पछिल्लो समयमा व्यवसायिक तरकारी खेति गर्ने जोश अझै बढ्दै गएको उनी बताउँछन्।

‘पहिले देखि नै मेरो इच्छा भनेको व्यवसायिक तरकारी खेति नै गर्ने हो,’ उनी भन्छन्,  ‘पहिले केही प्राविधिक समस्या थिए । अहिले सोसेक नेपालद्वारा ठाटीकाँधमा सहकार्य परियोजना संचालन भएपश्चात प्राविधिक घरमै आएर विभिन्न तरिका सिकाउँदा झनै व्यवसायिक तरकारी गर्ने हुटहुटी बढेर आएको छ ।’

पहिले उनी घरमा खानलाई मात्र तरकारी लगाउने गर्थे। २०७१ सालबाट उनले व्यवसायिक तरकारी खेति सुरु गरेका थिए। २०७७ बाट पक्की टनेल बनाएर तरकारी खेती गर्न थालेपछि आफू नमुना कृषकका रुपमा परिचित भएको उनको भनाई छ । उनले अहिले बारीभरी टन्नै तरकारी फलाएका छन्। 

आफुलाई तरकारी उत्पादन गर्न सहज भएको तर बजारको असहज भएको थापाको भनाई छ । पहिले प्राबिधिक समस्या थियो । आफुले लगाएको तरकारीको अनुगमन गर्दिने कोही थिएनन् । ‘पालिकाका कर्मचारी आउदैन थिए । सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना संचालन भएपश्चात प्राविधिकको प्रत्यक्ष सल्लाह सुझावसँगै विभिन्न कृषि सामग्री पाएका छौँ ,’ उनले सुनाए। 

पहिले कृषि प्राविधिक नहुँदा निकै अन्यौल हुने गरेको उनको अनुभव छ। उनले भने, ‘अहिले प्राविधिक साथमै हुँदा सहज भएको छ । बाहिरको रासायनिक मलको प्रयोग गरेका छैनौँ । प्रत्यक्ष रुपमा घरेलु विषादी बनाउन सिकेर प्रयोग गरेका छौँ।’ 

पहिले तरकारीमा लागेको रोगको विषयमा जानकारी नहुने, बारीमै कुहिएर तरकारी खेर जाने जस्ता समस्या भोगेका थिए थापाले। अहिले प्राविधिक साथमा पाएपछि ती समस्याको समाधान पाएको उनी बताउँछन्। ‘अहिले हामीले लगाएको तरकारी कुहिने समस्या खासै छैन। प्राविधिकले बारीमै आएर सल्लाह दिनथालेपछि तरकारी उत्पादनमा समेत वृद्धि भएको छ,’ उनले भने। 

गणेश थापा त एक प्रतिनिधि पात्र मात्र हुन्। एइ आइ एन लक्जेम्बर्गको आर्थिक सहयोग सोसेक नेपालद्वारा ठाटीकाँधमा सहकार्य परियोजना संचालन पश्चात् पालिकाका ६ वटै वडाहरुमा व्यवसायिक कृषि खेति गर्नेको आकर्षण बढेको कृषि प्राबिधिक भुपेन्द्र सिजापति बताउँछन्। उनी भन्छन्, ‘पहिले यहाँ प्राविधिकको समस्या थियो। अहिले प्राविधिकका रुपमा कृषकका समस्या सुन्न र प्रत्यक्ष देख्न म बारीमै पुग्ने गर्छु। कृषकलाई तरकारी उत्पादनमा सहज भएको मैले प्रत्यक्ष महसुस गरेको छु।’ परियोजनाले टनेल बिउबिजन, सिँचाइको लागि पाइप, जैविक विषादी बनाउ डम, ट्यांकी, हजारी लगायतका सामाग्रीहरु बितरण गरिएको सिजापतिले बताए।

ठाटीकाँध गाउँपालिका–६ थापा टोलकी भद्रा थापा पनि व्यवसायिक तरकारी खेतीमा होमिएकी छिन्। पहिले आफ्ना आधारभुत आवश्यकता पूर्ती गर्न श्रीमानको भर पर्ने उनी अहिले आफ्नै कमाइबाट आत्मनिर्भर भएकी छिन्। ‘पहिले साना साना इच्छा पुरा गर्नको लागि श्रीमानसँग पैसा माग्नुपर्ने, भर पर्नुपर्थ्याे। अब त्यो अवस्था परिवर्तन भएको छ,’ उनले भनिन्, ‘आफै तरकारी उत्पादन गर्छु। बजारमा बेच्न पनि आफै लैजान्छु।’ उनले च्याउसँगै फर्सि, सिमी, काक्रा लगायतका सिजन अनुसारका तरकारी फलाउने गरेकी छिन्। 

पहिले बिउबिजन पाउनै मुश्किल हुने गरेको उनले सुनाइन्। हाल बिउ पाएर च्याउ मज्जाले फलाएकी छिन् उनले। आफुलाई खान पुग्ने मात्र तरकारी फलाउने गरेकी उनले सोसेकले सहयोग गरेपश्चात व्यवसायिक रुपमा तरकारी खेती सुरु गरेकी हुन्। सोसेकले तरकारी खेतीका लागि विभिन्न सामग्री, समयसमयमा प्राविधिक सहयोग गर्ने गरेको उनले बताइन्। तरकारी बेचेर मासिक दश हजारसम्म उनले आम्दानी गर्न थालेकी छिन्। 

उनको घर नजिकै बजार छ। तर बजारका तरकारी कम खपत हुन्छ । राम्रो बजारीकरण नहुँदा फलेको तरकारी धेरै दिन लगाएर बेच्नुपर्ने समस्या रहेको उनले सुनाइन्। 

एइ आइएन लक्जेम्बर्गको आर्थिक सहयोग सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना संचालन भएपछि राहत भएको स्थानीय कृषक बताउँछन्। जनताको नजिकको सिंहदरबार पालिका भएपनि कृषकको हितमा काम भने अनुभव हुनेगरि केही नगरेको उनीहरु गुनासो गर्छन्। गाउँमा सहकार्य परियोजना संचालन पश्चात् भने धेरै कृषकको मनमा आशा पलाएको छ। परियोजनाको टनेल लगायत विभिन्न कृषि सामग्री सहयोग पश्चात् कृषकहरु व्यवसायिक तरकारी खेति तर्फ उन्मुख हुन थालेका छन्।

हाल स्थानीय कृषकहरुले मिलेर कालिका ताजा तरकारी कृषक समुह गठन गरेका छन्। उनीहरुले बैठक बसेर मासिक ५० रुपैँया बचत समेत गर्छन्। समुहमा निर्णय गरेर त्यही अनुसार कृषकले खेती समेत गर्न थालेका छन्। गाउँपालिकाको मुख्यतः वडा नं १, २ र ६ का कृषकहरु व्यवसायिक रुपमा तरकारी खेतीमा लागेका छन्। अन्य वडामा पनि यसको आर्कषण बढ्दो छ ।