close

छोरी जन्माउन पञ्चवर्षीय योजना, छोरी जन्माउनेलाई पुरस्कारै पुरस्कार

छोरी जन्माउन पञ्चवर्षीय योजना, छोरी जन्माउनेलाई पुरस्कारै पुरस्कार

Trulli
ADVERTISEMENT

बैतडी– पाटन नगरपालिकाले विभेदपूर्ण लिङ्ग छनौट अन्त्य गर्न पञ्चवर्षे कार्ययोजना तयार गरी कार्यान्वयन सुरु गरेको छ । 

एक स्थानीय सामाजिक संस्था एनएसपीको सहकार्यमा विभेदपूर्ण लिङ्ग छनौट अन्त्यको लागि गत आर्थिक वर्षमा कार्ययोजना (२०७९/८०–२०८४/८५) तयार गरेर  सञ्चालन गरेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महरा बताउँछन् । उनी पालिकाखबरसँग भन्छन्, ‘हाम्रो स्वास्थ्य संस्थामा जन्म भएको शिशुहरूको समग्र अवस्था हेर्दा ५५ प्रतिशत छोराको जन्म हुँदा ४५ प्रतिशत मात्र छोरी जन्मिएको पाइयो । यसले भविष्यमा ल्याउने विकराल अवस्थाको अन्त्य गर्ने प्रयासमा छौँ ।’  नगरपालिकाका अनुसार यो भ्रूण हत्यताको असर हो । 

भ्रूणावस्थामै छोरी हत्याको अन्त्य गर्न कार्यक्रमका लागि बजेट विनियोजन गरी लैंगिक समानताका विषयमा पालिका स्तरीय अभिमुखीकरण तालिम प्रदान गरिएको उनले जानकारी दिए । यसका लागि सरोकारवालासँग अन्तरक्रिया गरिँदै आएको र निरन्तरता दिने उनको भनाइ छ । वटै वडामा छोराछोरी समान हुन्, छोरा मात्र जन्माउँदा भविष्यमा निम्तिन सक्ने समस्याका विषयमा जानकारी गराउने उनले पालिकाखबरलाई बताए । उनको अनुसार महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहमार्फत पनि विभेदपूर्ण लिङ्ग छनौटको विषयमा सचेतना जगाउने गरिएको छ । 

प्राकृतिक तरिकाबाट सन्तान जन्मँदा पुरुषको अनुपातमा महिलाको जन्म धेरै हुन्छ । तर पालिकामा छोराको जन्म अत्याधिक हुँदा दीर्घकालीन असर गर्ने भएकाले पञ्चवर्षीय योजना बनाइएको स्वास्थ्य शाखा प्रमुख महरा बताउँछन् । ‘यहाँ त अवैध तरिकाबाट गर्भपतन गर्ने संस्थाहरू छैनन् । भारतमा गएर गर्छन् कि भन्ने शंका छ ।’ सुरक्षित गर्भपतनको सुविधा भने पालिकाका सबै वडामा रहेको उनले बताए ।

पछिल्लो एक वर्षमा कार्ययोजना बनाएर समाजमा त्यसको लागु गर्ने क्रममा विभेदपूर्ण लिङ्ग छनौट अन्त्यका लागि विभिन्न चुनौती महशुस गरिएको उनी बताउँछन् । उनको अनुसार भ्रूण हत्याको अन्त्य गर्न समाजमा छोरालाई बढी मान्यता दिनु प्रमुख चुनौती हो । यस सोचाइलाई अन्त्य गर्न छोराछोरी समान हुन् भन्ने धारणाको स्थापना गर्नुपर्ने उनी बताउँछन् । सोही सोचको स्थापना गर्न छोरी जन्माउन प्रोत्साहन गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने तयारीमा नगरपालिका छ । 

नगरपालिकाभित्रका छोरीहरूलाई निःशुल्क शिक्षा उपलब्ध गराउने योजना नगरपालिकाको छ । यस्तै चालु आर्थिक वर्षदेखि छोरी जन्माए बापत प्रोत्साहन उपलब्ध गराउने योजना नगरपालिकाको छ । तर यसबारे ठोस निर्णय हालसम्म नभएको स्वास्थ्य शाखा प्रमुख महता बताउँछन् । उनी भन्छन्, ‘छोरीहरू जन्मिएपछि उनीहरूको खातामा नै प्रोत्साहन उपलब्ध गराउने यस आर्थिक वर्षबाटै सुरु गर्ने योजना छ ।’

नगरपालिकामा पञ्चवर्षे योजना भर्खरै मात्र लागु भएकाले यसले कतिको सकारात्मक प्रभाव पार्यो भनेर अहिले नै मूल्यांकन गर्ने बेला नभएको सुनाउँछन् । ‘विभेदपूर्ण लिङ्ग छनौटको विषयमा समाजमा बहस चलिरहेको छ । पाँच वर्षमा विस्तारै यसको अन्त्य गछौँ, नसके न्यूनीकरणद त अवश्य हुन्छ ।’ उनले भने । 

परिवार नियोजनमा पाटन नगरपालिकाको अवस्था

मुलुकभरको अवस्थाजस्तै पाटन नगरपालिकामा पनि पुरुषभन्दा परिवार नियोजनको साधनको प्रयोग गर्ने महिलाहरू धेरै छन् । नगरपालिकाभित्र परिवार नियोजनका सुविधा उपलब्ध गराउन दक्ष जनशक्तिको अभाव नरहेको शाखा प्रमुख महता बताउँछन् । उनको अनुसार सबै वडामा महिलाहरूमा डिपो इम्प्लान्ट सेवा उपलब्ध छन् भने ९ वटा वडामा आइसिटी सेवा उपलब्ध छ । 

लामो समयका अस्थायी परिवार नियोजनका साधनबाहेक छोटो समयका परिवार नियोजनका साधन पनि पर्याप्त उपलब्ध रहेको उनले बताए । परिवार नियोजन संघको तथ्यांकअनुसार ८० प्रतिशत भन्दा धेरैले परिवार नियोजनको साधन प्रयोग गरेको पाइएको उनले बताए । ‘संघले पाटन नगरपालिकाबाहेक अन्य क्षेत्रको पनि समावेश गरेर तथ्यांक निकाल्छ । हाम्रो पालिकाभित्र ४५ देखि ५० प्रतिशतले परिवार नियोजनको साधन प्रयोग गरेका छन्,’ उनी भन्छन् । 

स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाको रेकर्डअनुसार नगनगरपालिकाभित्र २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउने महिला १० प्रतिशत रहेको पाइएको उनले जानकारी दिए ।  

नगरपालिकामा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका लागि वडा वडामा तालिमप्राप्त नर्सको सुविधा रहेको उनले बताए । पाठेघरको मुखको क्यान्सरको डायलासिसको सुविधा पालिकामै रहेको उनले बताए । 

उनको अनुसार पाठेघरको मुखको क्यान्सर र यौन रोगको उपचारका लागि नगरपालिकाले बेलाबेलामा शिविर समेत सञ्चालन गर्छ । पालिकाकै स्वास्थ्य संस्थामा पनि यौन रोगको पहिचान गर्न सकिने उनले बताए । उनले भने, ‘गत वर्ष एक जनामा यौन रोग लागेको फेला परेको थियो ।