close

स्थानीय सरकारले दिएका सार्वजनिक बिदाका श्रृंखला : जन्मोत्सवदेखि आफन्तको मृत्युसम्म !

मनलाग्दी बिदा दिन पाईंदैन, यो गलत हो : प्रवक्ता, लज्जाबोध भयो : पूर्व मेयर

स्थानीय सरकारले दिएका सार्वजनिक बिदाका श्रृंखला : जन्मोत्सवदेखि आफन्तको मृत्युसम्म !

मनलाग्दी बिदा दिन पाईंदैन, यो गलत हो : प्रवक्ता, लज्जाबोध भयो : पूर्व मेयर

Trulli
ADVERTISEMENT

असार १० गते देशभरका अधिकांश पालिका बजेट प्रस्तुत गर्ने चटारोमा रहेकै बेला केही पालिका भने बन्द रहे । न शनिवार, न त सार्वजनिक विदा नै तर, सेवाग्राही पालिका पुग्दा ढोकामा ताल्चा झुण्डिरहेको देखेपछि उनीहरु अचम्मित भए । 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका पुगिसकेपछि सेवाग्राहीले नगरले विदा दिएको बारे थाहा पाए । असार ९ गते नै नगरसभा सकेका कारण नगरले सार्वजनिक विदा दिएको थियो । बाह्रबिसेका मेयर बालकृष्ण बस्नेत भन्छन्, ‘नगरसभाका लागि खट्ने कर्मचारीलाई मात्रै विदा दिने भनिएको हो तर मलाई नै झुक्याएर कर्मचारीले सार्वजनिक विदा नै दिएछन् ।’

यसरी विदा दिन पाईन्छ त ? भन्ने पालिका खबरको प्रश्नमा मेयर बस्नेतले भने, ‘कर्मचारीले मलाई झुक्याए, विदा दिने भनेर मैले हस्ताक्षर गरेको पनि छैन र गर्दा पनि गर्दिनँ ।’

मेलम्चीमा पनि बिदा
सिन्धुपाल्चोककै मेलम्ची नगरपालिकाले पनि असार १० गते नगरभित्र सार्वजनिक विदा दिएको छ । बाह्रबिसेका मेयरकै भाषामा मेलम्चीका मेयर आइतमान तामाङले भने, ‘असार ९ गतेको नगरसभाका कारण सबै कर्मचारी थकित भए, अनि शुक्रबार पनि पर्याे, त्यसैले आज १० गते बिदा दिइयो ।’ उनले विदा भएपनि आफुहरु भने कार्यालयमै काममै व्यस्त रहेको बताए । 

परम्परा पहिलेदेखिकै
मेलम्ची र बाह्रबिसे नगरपालिकाले पहिलोपटक विदा दिएका भने होइनन् । यसअघि २०७४ मा निर्वाचित जनप्रतिनिधिहरुले पनि विदा दिने गरेको तथ्यांक भेटिएको छ । हरिबोधनी एकादशी तथा तुलसी विवाहको अवसरमा २०७५ मंसिरमा भक्तपुरको चाँगुनारायण नगरपालिकाले सार्वजनिक विदा दिएको थियो । त्यस्तै, सिन्धुलीको दुधौली नगरपालिकाले पनि सोही दिन सार्वजनिक विदा दियो । यसबाहेक ताप्लेजुङ, पाँचथर र झापाका केही स्थानीय तहमा पनि त्यस दिन सार्वजनिक विदा दिइएको थियो । सोही बर्षको छठ पर्वमा केन्द्र सरकारले एक दिन विदा दिंदा प्रदेश २ ले दुई दिन र केही तराईका स्थानीय तहले तीन दिनसम्म बिदा दिए । 

यस्तो पनि विदा  !

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०७६ फागुनमा जन्मदिन मनाउन जन्मघर तेह्रथुम पुगे । तत्कालिन प्रधानमन्त्री ओलीको ६९ औं जन्मदिन मनाउन आठराई गाउँपालिकाले त्यस दिन सार्वजनिक विदा नै दिएको थियो । 

सप्तरीको रुपनी गाउँपालिकाले यही जेठ ९ गते सार्वजनिक विदा दियो । प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीले सोही दिन कै मितिमा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, ‘नवनिर्वाचित पदाधिकारीहरुको विजय उत्सव मनाउने प्रयोजनका लागि सार्वजनिक विदा दिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

रुपन्देहीको मर्चवारी गाउँपालिकाले यहि असार ५ गते सार्वजनिक विदा दियो । गाउँपालिका अध्यक्षले सोही दिन सूचना प्रकाशित गरी उपाध्यक्षको देवर दुर्घटनामा परी मृत्यु भएका कारण सार्वजनिक विदा दिए । 

संविधान र कानूनमा व्यवस्था छैन
नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय तहको काम, कर्तव्य र अधिकार अन्तर्गत सार्वजनिक विदा दिन पाउने व्यवस्था उल्लेख छैन । तर, विदा दिन नपाईने भनेको पनि छैन । संघीय सरकारको गृह मन्त्रालयले सार्वजनिक विदाबारे निर्णय गर्दछ । सार्वजनिक विदाबारे नेपाल राजपत्रमा प्रकाशित गरेपछि मात्रै कार्यान्वयन हुने व्यवस्था छ । नयाँ बर्ष सुरु हुनुभन्दा एक महिना अगाडि नै गृह मन्त्रालयले नेपाल राजपत्रमा शनिवार, पर्व, महिला कर्मचारीका लागि, शिक्षण संस्थाका लागि, जात्रा, दशैं, तिहार, दिवस, जन्मजयन्ती, अन्तर्राष्ट्रिय नियोगका लागि भनेर फरक फरक सूची सार्वजनिक गर्ने गरेको छ । तर, स्थानीय सरकारले विदा दिने त्यस्तो व्यवस्था नभएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताउछन् ।   

यो गलत हो : प्रवक्ता अधिकारी
गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरे भन्दा बाहेक विदा दिने अधिकार स्थानीय तहसँग नभएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए । उनले भने, ‘तर, धार्मिक, सांस्कृतिक, स्थानीय चाड लगायतका केही अवसरमा स्थानीय विदा दिन सकिने व्यवस्था गृह मन्त्रालयले राजपत्रमा उल्लेख गरेको छ, त्यस्ता विदा दिंदा पनि परिधिभित्र बसेर दिन पाईन्छ, नगरसभा सकेर, आफन्तको मृत्युमा, जेलबाट छुटेर आएको खुशियालीमा बिदा दिन पाईंदैन, यो गलतै हो ।’ 

गल्ति नदोहारियोस् : पूर्व मेयर निम्फुञ्जो शेर्पा
बाह्रबिसे नगरपालिकाका पूर्व मेयर निमफुञ्जो शेर्पाले जनताको सेवालाई प्रभावित पार्ने गरी मनलाग्दी विदा दिने अधिकार स्थानीय सरकारसँग नभएको दावी गरे । उनले भने, ‘कर्मचारीलाई खुशियाली मनाउन जनतालाई दुःख दिने ? खै हामीले त त्यस्तो गरेनौं । यस्तो गैरजिम्मेवारपूर्ण काम गरेकाले आफु पनि पूर्व मेयर र नगरवासी भएकाले लज्जाबोध भएको छ, यो गल्ति नदोहोरियोस् ।’ पूर्व मेयर शेर्पाले गाउँका जनताले शनिवार र नियमित विदा बाहेक दिईने यस्ता विदाबारे सूचना नपाउँदा दुःख पाएको दावी गरे । उनले भने, ‘सबै जनताले मिडियामा पालिका खुले, नखुलेको बुझेर मात्र आउनुपर्ने अवस्था अन्त्य होस् ।’