close

महिला जनप्रतिनिधिहरूको दशैँ योजना

महिला जनप्रतिनिधिहरूको दशैँ योजना

Trulli
ADVERTISEMENT

काठमाडौं । घरमुली घरको मुख्य जिम्मेवार हुन्छन् । दशैँजस्ता चाडबाडमा घरमा खान लाउनको व्यवस्थासँगै आफन्तजन पनि आउने-जाने हुँदा घरमुली थप व्यस्त हुन्छन् । तर, जनप्रतिनिधि घरमुलीमात्र होइनन् । उनीहरूले समाजको जिम्मेवारी पनि उत्तिकै लिएका छन् । लिनु पनि पर्छ । जनताको अभिभावक हुन् । समस्या तथा आपत‍्विपतमा जनताले खोज्ने र भन्ने जनप्रतिनिधिलाई नै हुन्  ।

तर, जनप्रतिनिधिका पनि निजी जीवन हुन्छ । उनीहरूका घरमा पनि आफन्तहरूमा आउँछन्  । त्यसैले दशैँमा कसरी समस्या व्यवस्थापन गर्नुहुन्छ भनेर केही महिला पालिका प्रमुखलाई सोधेका छौं । देशभर ७५३ मध्ये २५ पालिकाले प्रमुखमा महिला पाए । २५ जनामध्ये प्रतिनिधिमूलक केहीको दशैँ योजना पेश गरेका छौं । 

खोटाङका जन्तेढुङ्गा गाउँपालिकाकी अध्यक्ष अरुणादेवी राई दशैंमा परिवारसँगै खेतबारीमा बिताउने योजनामा छिन् । शुक्रबारदेखि कर्मचारीलाई दशैंको शुभकामना दिएर बिदाई गरिसकिएको उनले बताइन् । 

पालिकाखबरसँग टेलिफोनमार्फत सम्पर्कमा आएकी पालिका अध्यक्ष राईले दशैँमा माटोसँग खेल्ने योजना रहेको बताइन् ।  आफू किराँत धर्मालम्बी भएकोले दशैं सामान्य रुपमा मनाउने उनले सुनाइन् । ‘हामी सामान्य रुपमा दशैं मनाउँछौँ । त्यसैले आफन्तसँग भेटघाट र घुमघामको योजना छैन,’ उनले भनिन्, ‘दसैँमा माछामासु र दूध दही खानेछु ।’

अधिकांश समय पालिका र स्थानीय जनतासँग बित्ने भएकोले घरबारीको काम लथालिंग रहेको उनले सुनाइन् । भन्छिन्, ‘शनिबारदेखि तोरी छर्न काम सुरु हुन्छ । दशैंभरी घरको काम सकाउने योजना छ ।’

उनले पालिकालाई तोरीमा आत्मनिर्भर बनाउनका लागि स्थानीयलाई ६०० किलो तोरी वितरण गरेको सुनाइन् । 

यता सुनकोसी गाउँपालिका सिन्धुलीकी अध्यक्ष दीपा बोहोरा दाहालले घरपरिवारसँग भेटघाट गरी दशैँ मनाउने योजना बनाएकी छिन् । दशैंमा परिवारको सबै सदस्य भेट हुने उनले बताइन् । ‘घर बाहिर बसेर पढिरहेका छोरीहरू दशैमा घर आउँछन्,’ उनले भनिन्, ‘सासुससुरा आमा सबैजनासँगै हुनुहुन्छ । सबैजना एकै ठाउँमा बसेर रमाइलो गर्नुपर्छ ।’

उनी दशैंमा परिवारका सदस्यसँगै छिमेकी र आफन्तलाई भेट्ने योजना रहेको बताउँछिन् ।  ‘गाउँघरमा हाम्रो टोल विकास संघ संस्थाहरू छन् । बाल बालिकाको संगठनले आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यममा उपस्थित हुने छु,’ उनले भनिन् ।

उनले पालिकावासीको सुरक्षाको लागि डेंगु महामारीको संक्रमण बढ्ने भएकोले दशैंमा सचेतना कार्यक्रम आयोजना गर्ने उनको लक्ष्य छ । आफू पालिकाको अध्यक्षसँगै परिवारको सदस्यसमेत रहेकोले पाारिवारिक जिम्मेवारी रहेको उनले बताइन् । 

त्यस्तै, पर्वतको मोदी गाउँपालिकाकी अध्यक्ष हीरादेवी शर्माले टीकाको दिनमात्रै परिवारसँग बिताउने र अरु दिन जनतासँग बिताउने योजना सुनाइन् । टेलिफोनमार्फत पालिकाखबरसँग सम्पर्कमा आएकी अध्यक्ष शर्माले परिवारको लागि एक दिन छुट्टाएको र बाँकी दिन कार्यक्रममा व्यस्त हुने बताइन् । 

‘हामीसँग परिवारभन्दा पनि समाज र जनताको दायित्व छ,’ उनले भनिन्, ‘त्यसैले जनताको नजिक हुने काममा म व्यस्त हुनेछु ।’ 

परिवारले पनि आफूलाई र जिम्मेवारीलाई बुझेको कारणले गर्दा सहज भएको उनले बताइन् । ‘मसँग परिवारको पनि जिम्मेवारी छ । तर मलाई परिवारले बुझ्नु भएको छ,’ उनले भनिन् । 

उनले केही ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउन नसकेको बताइन् । दशैंमा भत्ता नपाउनु भएका ज्येष्ठ नागरिकको घर-घरमा गएर रकम वितरण गर्ने बताइन् ।