close

शुद्धोधन गाउँपालिकाः चियानास्तादेखि अधिकारसम्ममै मनमुटाव

शुद्धोधन गाउँपालिकाको कार्यपालिका बैठकले १० लाख रुपैयाँसम्मका योजनाको अनुगमन गर्ने अधिकार वडा अनुगमन समितिलाई दिने निर्णय गरेसँगै जनप्रतिनिधिबिच आरोप/प्रत्यारोप हुन थालेको छ । विगतका आवमा ५ लाख रुपैयाँसम्मका योजनाको अनुगमन गर्ने अधिकार वडा अनुगमन समितिलाई दिइएकोमा यस आबबाट समितिको अधिकार कार्यपालिकाले थप गरेको हो । यता गाउँपालिका उपाध्यक्ष भने आफ्नो अधिकार खोस्ने बदनियतले कार्यपालिकाले साे निर्णय गरेकाे आरोप लगाइरहेका छन् ।

शुद्धोधन गाउँपालिकाः चियानास्तादेखि अधिकारसम्ममै मनमुटाव

शुद्धोधन गाउँपालिकाको कार्यपालिका बैठकले १० लाख रुपैयाँसम्मका योजनाको अनुगमन गर्ने अधिकार वडा अनुगमन समितिलाई दिने निर्णय गरेसँगै जनप्रतिनिधिबिच आरोप/प्रत्यारोप हुन थालेको छ । विगतका आवमा ५ लाख रुपैयाँसम्मका योजनाको अनुगमन गर्ने अधिकार वडा अनुगमन समितिलाई दिइएकोमा यस आबबाट समितिको अधिकार कार्यपालिकाले थप गरेको हो । यता गाउँपालिका उपाध्यक्ष भने आफ्नो अधिकार खोस्ने बदनियतले कार्यपालिकाले साे निर्णय गरेकाे आरोप लगाइरहेका छन् ।

Trulli
ADVERTISEMENT

कपिलवस्तु- शुद्धोधन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाद बढेको छ । गाउँपालिकाले अनुगमन समितिकाे क्षेत्राधिकारमा फेरबदल गरेपछि गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी र उपाध्यक्ष होम प्रकाश चौधरीबीच विवाद बढेको हो । 

गाउँ कार्यपालिका बैठकले १० लाखसम्मका योजनाको अनुगमन गर्ने अधिकार वडा अनुगमन समितिलाई दिएपछि विवाद चर्किएको छ । वडा अनुगमन समितिलाई अनुगमन गर्ने अधिकार थपेसँगै उपाध्यक्ष चौधरीले आफूलाई जिम्मेवारीबाट बञ्चित गराएको आरोपसमेत लगाएका छन् । 

गत असार २८ गते बसेको गाउँ कार्यपालिकाको बैठकले वडा अनुगमन समितिको अधिकार बढाउने निर्णय गरेको थियोे । निर्णयमा भनिएको छ, ‘यस शुद्धोधन गाउँपालिका, कपिलवस्तुको आर्थिक वर्ष २०८०/८१ देखि वडामा सञ्चालन भएका वडा कार्यालयको लागि विनियोजन भएको बजेट रु १,००,००० (दश लाख) रुपैयाँसम्मको योजना तथा कार्यक्रमहरुको अनुगमन वडा अनुगमन समितिले गर्ने र त्यस योजनाको सम्बन्धमा आवश्यक पर्ने सम्पूर्ण कागजात, प्राविधिक स्टिमेट, मुल्यांकन र अनुगमन प्रतिवेदनसहित वडाको सिफारिस अनुसारको गाउँपालिकामा प्राप्त भएपछि गाउँपालिकाले भुक्तानी दिने र कुनै कमी/कमजोरी भएमा वडा समितिले सम्पूर्णमा  जिम्मेवारी लिने निर्णय गरियो ।’

आफूलाई अनुगमन समितिको अधिकारबाट बञ्चित गराउने बदनियतले सो निर्णय गरेको आरोप  गाउँपालिकाका उपाध्यक्ष चौधरी (कुर्मी)को छ । उनी भन्छन्, ‘ वडामा १० लाख माथिको योजना पनि हुन्छन् र ? १० लाख रुपैयाँसम्मको अनुगमन गर्ने अधिकार वडालाई दिएपछि उपाध्यक्षले कहाँ अनुगमन गर्ने ?’ तर सो निर्णयमा उनी आफैँले हस्ताक्षर समेत गरेका छन् । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी सोको प्रतिवेदन कार्यपालिकाको बैठकमा पेश गर्ने उपप्रमुख तथा उपाध्यक्षको काम कर्तव्य र अधिकार तोकेको छ । 

वडा अनुगमन समितिको जिम्मेवारी बढाउन परेमा उपाध्यक्षको संयुजकत्वमा अनुगमन समितिको बैठकले जिम्मेवारी बढाउने निर्णय गरेर कार्यपालिकाको बैठकमा पेश गर्छ । तर शुद्धोधनमा भने कार्यपालिकाले सिधैँ वडा अनुगमन समितिको अधिकार बढाएको उनको आरोप छ । 

शुद्धाेधन गाउँपालिकाको असार २८ गते सम्पन्न कार्यपालिका बैठककाे निर्णय

अनुगमनमा व्यक्तिगत रिसिबी हुन थालेपछि अधिकारमा फेरबदल

गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले वडा अनुगमन समितिले १० लाख रुपैयाँसम्मको अनुगमन गरेर प्रतिवेदन पठाएपछि भुक्तानी गर्ने कार्यपालिकाले निर्णय गरेको जानकारी दिए । 

उपाध्यक्षले अनुगमनको क्रममा व्यक्तिगत रिसिवी देखाएको आरोप उनकाे छ ।'फरक/फरक राजनीतिक दलबाट चुनाव जितेर आएका जनप्रतिनिधि छौँ । वडाले काम सकाएर फाइल पठाएपछि उपाध्यक्ष अनुगमनमा जान्न भन्नुहुन्छ,’ उनले भने, 'हाम्रो उपाध्यक्षको आँखामा कुन मेशिन छ? जसले यो काम राम्रो छैन, जे हुनुपर्ने त्यो भएको छैन भन्नलाई ?’

उपाध्यक्षले इन्जिनियरलाई समेत गाली/गलौच गर्ने र आफ्ना कार्यकर्ताकाे प्रयाेग गरेर धम्क्याउने गरेकाे आराेप उनले लगाएका छन् ।  ‘उपाध्यक्षले आफ्नो क्षेत्रकाे योजनाका अनुगमन गर्दा मुल्यांकन पुरा आएन भने दाई/भाइ लगाएर प्रेसर दिने, इन्जिनियरलाई 'कोठाभित्र ताल्चा लगाएर पिट्छु' भनेर धम्कि दिन्छन्, त्यो गर्न मिल्छ ?’, उनले पालिकाखबरसँग प्रश्न गरे । 

गाउँपालिकाको अध्यक्षको हैसियतले उपाध्यक्षको साे 'दादागिरी' रोक्ने  जिम्मेवारी आफ्नाे रहेको  दावी उनकाे छ । उपाध्यक्ष अझैपनि पालिकास्तरीय अनुगमन समितिको संयोजकको रुपमै रहेको बताउँदै उनले भने, ‘उपाध्यक्षको अधिकार खोसेको छैन, वडालाई अधिकार थपिएको हो ।’

अघिल्लो आर्थिक वर्षमा पाँच लाख रुपैयाँसम्मको अनुगमनको अधिकार वडा अनुगमन समितिलाई दिइएकोमा यस वर्ष थप गरिएको अध्यक्ष चौधरीले बताए । उपाध्यक्षको व्यवहारका कारणले गर्दा उक्त निर्णय गर्न बाध्य भएको उनको भनाई छ ।

योजनाको गल्ती औंल्याउने कर्तव्य उपाध्यक्षको

आयोजनामा देखिएको गल्ती औंल्याउने जिम्मेवारी आफ्नो रहेको गाउँपालिकाका उपाध्यक्ष होम प्रकास चौधरी (कुर्मी) बताउँछन् । सोही जिम्मेवारीमा बसेर योजनामा कहीँ गलत गरिरहेको छ भने त्यसको अनुगमन गरेको बताए । ‘गलत भएमा यो काम राम्रो छैन भन्ने जिम्मेवारी मेरो हो,’ उनले भने । तर, वडाध्यक्षहरुले 'हाम्रो बजेटको काम किन रोक्नुहुन्छ' भन्दै विरोध गर्ने गरेका उनले बताए । 

वडा नं १ का वडाध्यक्षले आफ्नाे छाेरीलाई कारबाही गरेकाे विषयलाई रिसिबीकाे रुपमा लिएकाे उनकाे आराेप छ ।उनले भने, ‘उहाँले २०७४ को चुनावमा वडाध्यक्ष भएपछि आफ्नो छोरीलाई वडा नं १ को स्वास्थ्य चौकीमा करारमा नियुक्त गर्नुभएको रहेछ ।’

वडाध्यक्षको छोरीले दुई/तीन महिनाको हाजिरी एकैचोटी गरेर ससुराल जाने गरेको पाइएको उनले बताए । मैले अनुगमन गर्दा हाजिरी गरेर उपस्थित नभएको पाएपछि कारबाही गरेको थिएँ,’ उनले भने, ‘उक्त रेकर्डलाई गाउँपालिकाको प्रशासन शाखामा पेश गरेर कारबाही गर्न भनेँ र शाखा प्रमुखले कारबाही गरे ।’  सोही रिसिबीले आफूलाई अनुगमनको अधिकारबाट बञ्चित गराउन कार्यपालिकाबाट साे निर्णय ल्याएकाे उनले बताए  ।


 'वडा नम्बर १का अध्यक्षले 'उपाध्यक्षले अनुगमनमा धेरै परिशान गर्नुभयो त्यहीँ भएर अब आफैँ अनुगमन गछौँ' भन्दै हिड्नु भएकाे रहेछ,’  उनले भने, 'तपाईले अब अनुगमन गर्नुपर्दैन, १० लाख रुपैयाँसम्मका योजनाको अनुगमनको जिम्मेवार हामी आफैँ हुन्छौँ भनेर उहाँहरुले निर्णय गर्नुभएको हो ।’ 

गाउँपालिकाका अध्यक्षले पनि ‘तपाईँ अब अनुगमन नगर्नुस्’ भनेको उनले बताए । उनी थप्छन्, ‘ मसँग कुन ठाउँमा कहाँ गलत गरेको भन्ने प्रमाणहरु पनि छन् ।’

वडाले १० लाखभन्दा बढीको योजना नबनाउने उल्लेख गर्दै उनले भने, ‘वडामा २ देखि ५ लाखसम्मका योजना बनाउनुहुन्छ । त्यो भन्दा माथिको योजना गाउँपालिकामा के को हुन्छ ?’ उपाध्यक्षको अनुगमन समितिको अधिकार खोसिने नियतबस वडा अनुगमन समितिको अधिकार बढाएको उनी बताउँछन् । 

इमान्दारितासँग काम गर्दा अधिकार खोसियो

‘इमान्दार भएर आफ्नो काम गरेपछि यस्तै नतिजा पाइन्छ’ गाउँपालिकाका उपाध्यक्ष होम प्रकास चौधरी (कुर्मी)ले दुखेसो पोखे । ‘गलत कामको विरोध गर्दा दश लाखसम्मको अनुगमन नगर्नु रे । त्यो भन्दा माथीको त योजना नै बन्दैन,’ उनले भने । 

‘ठेक्कामा ढलान गर्न दिएको छ भने जतिसुकै बालुवा गिटी लागोस् प्रयोग गरिएका हुन्छन् । इन्जिनियरहरु पनि योग्य हुन्छन् । ठेक्कामा गरेका कामहरु राम्रा छन्,’ उनले भने। तर उपभोक्ता समितिले गरेकाे काममा गल्ती भेटिने गरेको र त्यसलाई गलत भन्दा आफ्नो विरोध हुने गरेको उनले बताए । ‘मैले ती गलत भएका कामहरुको सबै प्रमाण राखेको छु,’ उनले भने । 

शुद्धोधन गाउँपालिकामा अध्यक्ष लोकतान्त्रित समाजवादी पार्टी, उपाध्यक्ष नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । ६ वटा वडा रहेको पालिकामा एक वडामा नेकपा माओवादी केन्द्र, ३ वटा वडामा नेपाली कांग्रेस र दुई वडामा लोसपाको तर्फबाट निर्वाचित वडाध्यक्ष छन् । 

 सरकारी सवारी साधनमै जनप्रतिनिधिको विवाद

गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले आफूले प्रयोग गरेको सवारी साधनको विषयमा गलत प्रचार भएकाे आरोप लगाएका छन् । उनले भने, ‘चुनावमा जितेर निर्वाचित भएपछि मैले सरकारी सवारी साधनलाई छोडेर  नीजि प्रयोग गरेँ ।’

 प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखाका प्रमुखले नीजि गाडी प्रयोग गर्न पाइन्छ भनेकाले सो गरेको उनको जिकिर छ । ‘सम्झौता गरेर गाडीको भाडा समेत लिन सक्ने उहाँहरुले जानकारी दिनुभएको थियो,’ उनले भने । 

गाडीको भाडा नलिने तर इन्धन र मर्मतको सेवा लिने सम्झौता गरे अनुसार गाउँपालिकाबाट रकम भुक्तानी हुने गरेको उनले बताए । पालिकाको सम्पूर्ण कामका साथै कर्मचारीलाई फिल्डमा छाड्न समेत नीजि गाडीको प्रयोग गरेको उनले जानकारी दिए । आफ्नो गाडी प्रयोग गरेर पालिकाबाट भाडा लिएको भन्दै अख्तियारमा समेत आफूविरुद्ध उजुरी परेको र सोको सफाई समेत पाएको उनले सुनाए । 

‘अख्तियारले अनुसन्धान गर्दा मर्मत र इन्धनमा मात्र खर्च भएको र  मेरो नियत गलत नदेखिएको भन्दै सफाई दियो ।त्यसपछि मात्रै मैले उपाध्यक्षले प्रयोग गरिरहेको सरकारी गाडी प्रयोग गरेर आफ्नो नीजि गाडी घरमै राखेँ,’ उनले भने ।

गाडीमा भएको  खर्चको विषयमा आफू जानकार नभएको  गाउँपालिकाका उपाध्यक्ष हाेम प्रकास चाैधरीले बताए । ‘घरबाट पालिकामा र अनुगमन स्थलमा जान मात्र सरकारी गाडीको खर्च गरेको हो ।’ गाडीको मर्मत र तेल ड्राइभरले कहाँ लगेर कति हालेको आफूलाई थाहा नहुने उनले बताए ।

उनले भने, ‘रकम भुक्तानी लेखा र हाकिमसाबहरुले गर्नुभएको हो ।’सरकारी गाडीमा बढी खर्च भएको थाहा पाएपछि आफ्नै नीजि मोटरसाइकल प्रयोगमा ल्याएको उनले बताए । उनले भने, ‘दुई महिना अघि सरकारी गाडी फिर्ता गरेँ । अहिले आफ्नै मोटरसाइकलको प्रयोग गरेको छु । यसको मर्मत र तेलको खर्च म आफ्नै व्यक्तिगत पैसाबाट गर्छु ।’

पालिकाको चिया/नास्ता मात्रै साढे ३४ लाख

यस्तै, आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकामा ३४ लाख ५१ हजार रुपैयाँ बराबरको चियानास्ता खर्च आएको उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी)ले बताए । जसमध्ये २ लाख २५ हजार रुपैयाँ बराबरको चिया खर्च आफ्नो आएको उनले बताए । 

‘एक्लैले चियानास्ता खाएको होइन । म न्यायिक समिति चलाउँछु । समितिमा दैनिक ५/६ वटा मुद्दा पर्छन् । ५ देखि २०० जनासम्म दैनिक सेवाग्राही आउँछन् । ती सबैलाई चिया खुवाएको हो’ उनले थपे, ‘एक वर्षमा समितिमा परेकाे ३१५ वटा उजुरी मध्ये २५५ वटाको मिलापत्र मेरो नेतृत्वले गरेको छ ।’

 गाउँपालिका अध्यक्ष कमलेश शरण चाैधरीले मासिक १५ हजार रुपैयाँ 'अतिथि सत्कार' बापत अध्यक्षले खर्च गर्न पाउने व्यवस्था नै रहेको  बताए । ‘जसअनुसार एक वर्षमा एक लाख असी हजारसम्मको अतिथि सत्कारका लागि खर्च गर्न सकिन्छ', उनले भने, 'तर, एक लाख ४७ हजार रुपैयाँ बराबरकाे मात्रै खर्च भएकाे रहेछ । त्यो म (गाउँपालिका  अध्यक्ष)लाई भेट्न आउने अतिथिलाई खुवाएको हो । मैले मात्रै खाएकाे हैन ।'