close

राष्ट्रिय स्तरको खेल मैदान निर्माणमा जुट्यो अजयमेरु

राष्ट्रिय स्तरको खेल मैदान निर्माणमा जुट्यो अजयमेरु

Trulli
ADVERTISEMENT

डडेल्धुरा– डडेल्धुराको अजयमेरु गाउँपालिका गाउँटोलदेखि केन्द्रसम्मकै खेलकुद आयोजना गर्न मिल्ने गरी राष्ट्रिय स्तरको खेल मैदान निर्माणमा जुटेको छ । गाउँपालिकाले खेल क्षेत्रमा युवा आकर्षण बढाउन मैदान निर्माण सुरु गरेको हो ।


करिब २० करोडको लागतमा बहुवर्षीय योजना बनाई वडा–३ को चनबेतालमा खेल मैदान निर्माण गर्न लागिएको हो । गाउँपालिकाले गुरुयोजना बनाएर निर्माण गरिरहेको खेल मैदानका लागि दुई आर्थिक वर्षमा करिब ४० लाख रुपैयाँ खर्च गरिसकेको छ ।


मैदान निर्माणका लागि चालु आर्थिक वर्षमा ३५ लाख रुपैयाँ विनियोजन गरेको छ । यसका लागि टेन्डर आह्वान भइसकेको छ । केही दिनमै खेल मैदान निर्माण सुरु हुने गाउँपालिका अध्यक्ष उमेश भट्टले जानकारी दिए । ‘१ सय ५० मिटर लम्बाइ र ८० मिटर चौडाइ रहने खेल मैदान अहिले सम्याउने काम अन्तिम चरणमा पुगेको छ । योे काम सकिएपछि चालू आर्थिक वर्षमा पर्खाल लगाउनेछौं’, अध्यक्ष भट्टले भने ।


खेल मैदानमा प्याराफिट लगाउने, स्विमिङ पुल, शौचालय, कभर्ड हलसहितका विभिन्न भौतिक संरचना निर्माण गरिनेछन् । अजयमेरुले एक वडा एक खेल मैदान निर्माण गर्ने योजनाअनुसार गाउँपालिकाका बाँकी पाँचै वडामा पनि काम सुरु भएको छ ।


खेलकुदको विकासका लागि पालिकाले पाँच खेल प्रशिक्षकसमेत चयन गरेको छ । गाउँपालिका स्तरमै सुविधासम्पन्न खेल मैदान निर्माण थालिएसँगै खेलप्रमी उत्साहित भएका छन् ।