close

जथाभावी फोहोर फाल्दा महामारी फैलिने चिन्ता

जथाभावी फोहोर फाल्दा महामारी फैलिने चिन्ता

Trulli
ADVERTISEMENT

धनगढी–धनगढी उपमहानगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फालिँदा दुर्गन्ध फैलिएर महामारीको रूप लिने चिन्ता बढेको छ । उपमहानगरले नगर क्षेत्रबाट संकलित फोहोर बस्ती नजिकको खोला, नदी किनारमा फाल्ने गरेका कारण महामारी फैलिने चिन्ता बढेको हो ।

 

नगर क्षेत्रबाट दैनिक १६ टन फोहोर संकलन हुँदै आएको छ । नगर क्षेत्रभित्र फोहोरमैला व्यवस्थापन गर्न उचित स्थान नहुँदा संकलित फोहोर बस्ती नजिकै भएर बग्ने खोला, किनारमा जथाभावी फाल्ने गरिएको स्थानीय बताउँछन् ।

 

नगर क्षेत्रबाट दैनिक संकलन हुँदै आएको फोहोर उचित स्थानमा व्यवस्थापन गर्नुपर्ने माग स्थानीयको छ । नगर क्षेत्रभित्र फोहोरमैला व्यवस्थापन गर्न उचित स्थान नहुँदा संकलित फोहर व्यवस्थापनमा समस्या भएको धनगढी उपमहानगरको सामुदायिक विकास शाखा प्रमुख टंकबहादुर विष्टले बताए । 

 

एसियाली विकास बैंकको ऋण सहयोगमा धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापनका लागि बजेट व्यवस्था गरिँदासमेत लामो समयदेखि फोहोर फाल्ने स्थान टुंगो लाग्न नसकेको उनले जानकारी दिए । 


स्थानको टुंगो नलाग्दा उपमहानगर क्षेत्रभित्र एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणले पनि गति लिन सकेको छैन । दीर्घकालीन रूपमा फोहोरमैला व्यवस्थापनका लागि धनगढी उपमहानगरले पटेलामा रहेको राष्ट्रिय वनभित्र ३३ बिघा जमिन छनोट गरी क्षेत्रीय सहरी विकास आयोजना कार्यालयलाई लेखिपठाएको जनाएको छ ।


प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन गर्न सम्बन्धित विभाग तथा मन्त्रालयमा स्वीकृतिका लागि पठाए पनि अहिलेसम्म काम हुन सकेको छैन । 


ईआइए स्वीकृत हुनेबित्तिकै फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण थालिने क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका उपव्यवस्थापक झंकबहादुर थापाको भनाइ छ । 


सुदूरपश्चिममा कैलाली र कञ्चनपुरका २÷२ गरी ४ वटा नगरपालिकामा एडीबीको ऋण सहयोगमा २०७२ देखि एकीकृत फोहोरमैला व्यवस्थापन कार्यक्रम सञ्चालन हुँदै आएको छ ।