उदयपुर– सप्तकोसी नदीको वहाब गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराहक्षेत्र नगरपालिकाका पाँच वडाका दर्जन बढी गाउँका वासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् ।
बाढी आउँदा डुबाउला भन्ने चिन्ता र घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरूलाई सताउने गरेको हो । स्थानीय वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् ।
कोसी सम्झौताअनुसार भारतले नदीको दुवैतर्फ तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको सप्तकोसी नदी छेउमा घर र खेती भएका बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ का बाजाहाङ लिम्बू बताउँछन् ।
‘नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन’, उनले भने । सप्तकोसी नदी वराहक्षेत्र नगरपालिकाको मध्य भागबाट बग्छ । बर्खामा नदीले बर्सेनि ठूलो धनजनको क्षति पुर्याउँदै आएको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान गर्दा सप्तकोसी किनारका हजारौंँ बासिन्दालाई घरबारविहीन बनाइसकेको छ ।
पछिल्लो समय सप्तकोसीले धार परिवर्तन गरेर पश्चिमतर्फ कटान गर्दा बेलका नगरपालिका वडा नम्बर २, ३, ८ र ९ उच्च जोखिममा परेको छ । सप्तकोसीले धार परिवर्तन गरी उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ को लाहुरे खोचमा कटान गरेर नदी पस्न लागेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसीटप्पु आरक्षका ४ हजार घर परिवार उच्च जोखिममा परेका हुन् ।
सप्तकोसीमा पानीको वहाब बढेसँगै कटान हुन थालेकाले त्यस क्षेत्रका वासिन्दा जोखिममा परेका हुन् । कोसीले ६ सय मिटर कटान गरिसकेको छ । करिब २ सय मिटर कटान गर्न बाँकी छ ।
२ सय मिटर कटान गरे त्यहाँ बसोबास गर्ने ४ हजार घरपरिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति हुने वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ का वडा सदस्य श्यामबहादुर लिम्बूले बताए ।
‘रोकथाम गर्न नसके बेलका नगरपालिका वडा नम्बर २, ३, ८, ९ र वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ सहित सप्तरीको फत्तेपुर, कञ्चनरूप, भारदह, राजविराज हुँदै कुनैली नाका भएर नदी बग्नेछ’, लिम्बूले भने ।
सप्तकोसी कटानले वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ चिलिया टप्पुमा रहेको बालसेवा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, कौशिका आधारभूत विद्यालय र बेलकाको वडा नम्बर ३ मा रहेको सरस्वती आधारभूत विद्यालयसहित २ वटा स्वास्थ्य संस्था विस्थापित भइसकेको वडा सदस्य लिम्बूले जानकारी दिए ।त्यहाँ रहेको एकता, सिर्जना, एबिसी, गिनेरी, रामनगर, बुधबारे, चिलिया टप्पु विस्थापित हुन लागेको उनले बताए ।
सप्तकोसीमा चार वटा भँगालो छ । पूर्वपट्टिको भँगालोले राजाबास, चक्रघट्टीतर्फ कटानलाई तीव्र बनाएको छ भने पश्चिमपट्टिको भँगालोले उदयपुरतर्फको चिलिया टप्पुमा क्षति पु¥याएको छ ।सबैभन्दा खतरा पश्चिम भँगालो हो । यसले उदयपुर, सप्तरीको अधिकांश भागमा क्षति पुर्याउँछ ।
सप्तकोसी नदीमा पानीको वहाब बढ्न थालेपछि वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ ठाकुरबारीस्थित १० नम्बर नोज स्पर (बाँध) कटान गर्न थालेपछि स्थानीय चिन्तित छन् । कोसीमा पानीको वहाब घटबढ हुने क्रम जारी रहेकाले कमजोर बनेको स्पर १० को मर्मतसम्भार गरिँदै छ ।
निरन्तरको वर्षाका कारण नदीमा बढेको पानीको वहाबले स्परको करिब ६० मिटर भाग कटान गरेपछि अस्थायी मर्मत थालिएको छ । सो क्षेत्रमा कोसीले कटान गरेको भागमा मर्मत नहुँदा स्थानीयरुमा बाढीको त्रास बढेको छ । कोसीको पानीको सतह लगातार बढ्ने क्रममा रहेकाले कटान भइरहेको हो । कटान भएको ठाउँमा थप क्षति हुन नदिन व्यवस्था मिलाउन स्थानीयले जिल्ला विपद् व्यवस्थापन समिति उदयपुरसँग आग्रह गरेका छन् ।
कटान क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तह, निमित्त प्रमुख जिल्ला अधिकारी र सरोकारवालाले आइतबार स्थलगत अनुगमन गरी कटान रोक्न तत्काल मर्मत गर्न प्रदेश सरकार, प्रदेश योजना आयोग र संघीय सरकारमा आग्रह गर्ने निर्णय भएको बेलका नगरपालिका प्रमुख दुर्गाकुमार थापाले जानकारी दिए ।
निरन्तरको वर्षाका कारण सप्तकोसीले पश्चिमतर्फ धार परिवर्तन गर्दा बेलका नगरपालिकाका वडा नम्बर २ , ३ , ८ र ९ उच्च जोखिममा परेको निमित्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताए ।
स्थलगत अनुगमनपछि आइतबार बेलका नगरपालिकाको सभाहलमा जिल्ला विपद् व्यवस्थापन समिति उदयपुरको बैठक बसेको छ । निमित्त प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले सप्तकोसीमा आएको उच्च बाढीले बेलका नगरपालिका वडा नम्बर ८ लाहुरेको खोच परियोजनाबाट कटान गर्दै नदीको धार तथा वहाब नगरको वडा नम्बर २, ३, ८ र ९ तथा सप्तरीका विभिन्न स्थानमा हुन सक्ने जनधनको क्षतिलाई दृष्टिगत गरी तत्कालै बाँध लगाउने, हेभी इक्युपमेन्ट प्रयोग गर्ने, सिँचाइ डिभिजनसँगको सहकार्यमा लन्चिङ ड्याम, स्यान्ट रकिङ र तारजाली भरेर कटानका सम्भावित क्षेत्रका स्थानीयलाई उद्दार तथा राहतको व्यवस्थापन गर्ने निर्णय भएको नगरप्रमुख दुर्गाकुमार थापाले बताए ।
कोसी कटानका कारण बेलका र वराहक्षेत्र नगरपालिकाका गरी ४ हजार घरपरिवार विस्थापित हुने खतरा छ । तत्कालीन व्यवस्थापनका लागि प्रदेश, संघीय सरकार, प्रहरी, सेना तथा स्थानीयलाई अनुरोध गरिएको उनले जानकारी दिए ।
सप्तकोसी १२ वर्षअघि १० नम्बर स्परबाट करिब ५\६ सय मिटर पश्चिम भएर बग्ने गरेको थियो । तर, यो वर्ष निरन्तको वर्षाका कारण वहाब पूर्वी किनारामा ठोकिएको हुँदा कटान थालेको हो ।
वराहक्षेत्र नगरपालिकाको ११ वटामध्ये वडा नम्बर ३, ४ र ५ बाहेक सबै वडा सप्तकोसी नदीको उच्च जोखिममा परेका छन् । सुनसरीको भन्टाबारी कोसी ब्यारेजदेखि उत्तर वराहक्षेत्रसम्मका बाँध मर्मत–सम्भार गर्ने र कटान नियन्त्रण गर्ने मुख्य दायित्व भने भारत सरकारको हो ।
कोसी ब्यारेज निर्माणदेखि सम्झौताअनुसार भारतले बर्सेनि कटान रोक्ने प्रयास गरे सफल नहुँदा नेपाली भूभाग कटान र डुबानमा पर्दै आएको छ । कोसी तथा वक्राहा नदी नियन्त्रण आयोजना विराटनगरका अनुसार कोसी सम्झौताअनुसार चतरादेखि ब्यारेजसम्म सप्तकोसीका दुवै किनारमा भारतले तटबन्ध निर्माण गर्ने सम्झौता छ ।
भारतले कटान भएका बेला अस्थायी रूपमा मर्मत गर्दै आए पनि सम्झौताअनुसार तटबन्ध निर्माण नगरेका कारण यस्तो समस्या आएको हो । नेपाल र भारतबीच सन् २५ अप्रिल १९५४ मा कोसी सम्झौता भएको थियो । सिँचाइ, यातायातको विकास गर्ने उद्देश्यले कोसी सम्झौता भएकोे हो ।
सम्झौताअनुसार कोसी पुलको ढोकाबाट बर्खायाममा ९ लाख घनमिटर पानी रोक्ने भनिएको थियो । तर, अहिले भारतले त्योभन्दा बढी पानी रोक्ने गरेको छ ।
ब्यारेज निर्माणपछि नेपालतर्फ झन्डै ९ हजार हेक्टर जमिन सदाका लागि आहालमा परिणत भएको छ ।
पम्प नहर र वितरण प्रणालीबाट नेपालको २४ हजार हेक्टर जमिनमा सिँचाइ उपलब्ध गराउने लक्ष्यसहित कोसी सम्झौता भयो । तर, योजनाका कारण सप्तरीको झन्डै ३३ हजार हेक्टर जमिन उल्टै डुबानमा परेको छ ।