close

पेन्सन र सासुभत्ता लिने भेटिएपछि स्थानीय तहलाई गृहको परिपत्र

पेन्सन र सासुभत्ता लिने भेटिएपछि स्थानीय तहलाई गृहको परिपत्र

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले निवृत्तिभरण पाइरहेका व्यक्तिले समेत सामाजिक सुरक्षा भत्ता लिइरहेको भए वास्तविकता यकिन गरी लगत कट्टा गर्न देशभरका स्थानीय तहलाई परिपत्र गरेको छ ।


गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरका स्थानीय तहलाई एकसाथ परिपत्र गर्दै निवृत्तिभरण पाइरहेका व्यक्तिले सामाजिक सुरक्षा भत्ता लिएको हुन सक्ने विषय सम्बन्धित स्थानीय तहबाट थप पुष्टि गर्नुपर्ने भएकाले वास्तविकता यकिन गरी सामाजिक सुरक्षा भत्ता र निवृत्तिभरण दुवै लिएको भए वास्तविकता यकिन गरी लगत कट्टा गर्न भनेको हो । 


सामाजिक सुरक्षा ऐन, २०७५ को दफा १५ (ख) मा सरकारी कोषबाट निवृत्तिभरण पाइरहेका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था छ ।

विभागले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण निवृत्तिभरण प्रणालीको विवरणसँग प्रमाणीकरण गराउँदा २ हजार ४ सय ६६ जना लाभग्राहीले दोहोरो सुबिधा लिइरहेको पाइएको भन्दै विभागको प्रणालीबाट दोहोरो सुविधा लिने लाभग्राहीको लगत कट्टा गरिएको छ ।

 

लगत कट्टा गरिएका लाभग्राहीले दोहोरो सुविधा नलिएको पुष्टि भए पुष्ट्याइँसहितका कागजात तथा प्रमाणका आधारमा सत्यतथ्य यकिन गरी उचित देखिए पुनः लगत कायम गर्नसमेत विभागले स्थानीय तहलाई भनेको छ । 


अहिले सामाजिक सुरक्षा भत्ता पाइरहेका मध्ये ८४ हजार ७ सय ६३ जनाले निवृत्तिभरण र सामाजिक सुरक्षा भत्ता दुवै लिएको हुन सक्ने भएकाले त्यसबारे गहिरो अनुसन्धान गरी वास्तविकता यकिन गर्न विभागले तिनको सूची स्थानीय तहलाई पठाएको छ ।