close

नेपाल र अजरबैजानका सभामुखबीच भेटवार्ता, के भयो कुराकानी ?

नेपाल र अजरबैजानका सभामुखबीच भेटवार्ता, के भयो कुराकानी ?

Trulli
ADVERTISEMENT

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र गणतन्त्र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच भेटवार्ता भएको छ  ।

अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा सभामुख सापकोटाले अजरबैजानले असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनको सफल आयोजना गरेकोमा बधाई ज्ञापन गरेका थिए ।

उनले असंलग्न आन्दोलनका आदर्शहरू महत्वपूर्ण भएको बताउँदै यसका आदर्श र एजेन्डाहरूप्रति अजरबैजानले जनाएको प्रतिबद्धताको प्रशंसा गरे ।

भेटमा सभामुख सापकोटाले अन्तर्राष्ट्रिय एकताको प्रयासबाट मात्र विश्वव्यापी चुनौतीहरूको समाधान गर्न सकिने धारणा राखेका थिए । अजरबैजानसँग नेपालको लामो कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै उनले २०७२ सालको भूकम्प पछिको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

सभामुख सापकोटाले स्वतन्त्रता प्राप्तिपछि अजरबैजानले गरेको विकासको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेर काम गर्न सकिने धारणा राखे । भेटका क्रममा उनले नेपाल र अजरबैजानको संसदका बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन संसदीय मैत्री समूह निर्माणको प्रस्ताव गरे ।

भेटमा अजरबैजानका सभामुख गफारोवाले नेपालको सभामुख सहितको प्रतिनिधि मण्डललाई आफ्नो देशमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै सहभागिता र सम्बोधनका लागि आभार व्यक्त गरे ।

यस अघि स्पेनमा भएको अन्तर व्यवस्थापिका संघको बैठकका क्रममा भएको भेट स्मरण गर्दै गफारोवाले नेपालसँग संसदीय मैत्री समुह बनाउन अजरबैजानको संसद तयार रहेको बताए ।

भेटमा नेपाली प्रतिनिधि मण्डलका सदस्यहरू पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक सहभागी थिए । 

बाकुमा जारी सम्मेलनमा सहभागी हुन यहि असार १४ गते त्यसतर्फ प्रस्थान गरेको सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधि मण्डल असार १९ गते नेपाल फर्कने समय तालिका छ ।