close

सुदूरपश्चिममा मतगणनाको तयारी सुरु

सुदूरपश्चिममा मतगणनाको तयारी सुरु

Trulli
ADVERTISEMENT

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा बाजुरा बाहेकका आठ जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको  मतगणना सुरु गर्न लागिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा अहिले मत गणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । उक्त जिल्लामा  ५१ हजार छ सय ६० मत खसेको थियो । कुल ९१ हजार दुई सय एक मतदाता रहेको त्यहाँ ५६ दशमलव ६४ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यहाँ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा बिरुद्ध  नेपाली कांग्रेस बिपीका उम्मेदवार कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकाल  प्रतिस्प्रर्धी छन् । त्यसैगरी बैतडीमा दिउँसो १ बजे सर्वदलीय बैठकपछि लगत्तै मतगणना सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार बैतडीमा ७८ हजार चार सय १६ मत खसेको थियो । एक लाख ५० हजार एक सय ५६ मतदाता रहेको उक्त जिल्लामा ५२ दशमलव २२ प्रतिशत मत खसेको थियो ।बैतडीमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका नेता नरेन्द्रबहादुर कुवँर र नेकपा एमालेका नेता दामोदर भण्डारीबिच प्रतिस्प्रर्धा हुने अनुमान गरिएको छ ।

त्यसैगरी दार्चुलामा मतपेटिका सदरमुकाम खलङ्गा पु¥याउन बाँकी छ । यहाँ चार वटा मतदान केन्द्रको मतपेटिका ढुवानी गर्न बाँकी रहेको छ ।  प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भइसकेपछि सर्वदलीय बैठक बस्ने र लगत्तै गणना सुरु हुने जानकारी दिए।

यहाँ सत्ता गठबन्धनबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र नेकपा एमालेबाट गणेशसिंह ठगुन्ना उम्मेदवार छन् । ९८ हजार एक सय ५४ मतदाता रहेको दार्चुलामा ५८ हजार ५८ मत खसेको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिए।

त्यसैगरी बझाङ्गमा ६३ हजार ४८९ मत खसेको छ । यहाँ सत्ता गठबन्धनबाट एकीकृत समाजवादी पार्टीका नेता भानुभक्त जोशी र नेकपा एमालेका युवा नेता ऐन महरबीच प्रतस्पर्धा हुने अनुमान गरिएको छ । बझाङमा सबैभन्दा विकट मानिएको साइपाल गाउँपालिकाका मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम चैनपुरस्थित मतगणनास्थल जिल्ला अदालत बझाङमा ल्याइएपछि मात्रै मतगणना थालिने जिल्ला निर्वाचन कार्यालय प्रमुख विमलप्रसाद गौतमले बताए 

त्यसैगरी डोटीमा दिउँसो १ बजेपछि मतगणना हुने तयारी छ । सर्वदलीय बैठकले १ बजेदेखि गणना सुरु गर्ने तयारी गरिसकेको छ । एक लाख २४ हजार आठ सय ७३ मतदाता रहेको डोटीमा ६४ हजार ५८ मत खसेको थियो । यहाँ सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री प्रेम आले, एमालेबाट गौरी ओली र स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्का प्रतिस्पर्धी छन्।

त्यसैगरी दुई वटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्र रहेको अछाम जिल्लामा पनि सर्वदलीय बैठक बसिरहेको छ । यहाँको निर्वाचन क्षेत्र नं २ मा सर्वदलीय बैठक बसिरहेको छ भने निर्वाचन क्षेत्र १ मा दिउँसो ३ बजे गणना सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । यहाँ निर्वाचन क्षेत्र १ सत्ता गठबन्धनबाट एकीकृत समाजवादी पार्टीका नेता एवं श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर, नेकपा एमालेका झपट बोहरा र स्वतन्त्र उम्मेदवार राजन कुँवर प्रतिस्प्रर्धी छन् । निर्वाचन क्षेत्र नं २ मा गठबन्धनबाट नेपाली कांग्रेसका नेता पुष्पबहादुर शाह र नेकपा एमालेको तर्फबाट यज्ञबहादुर बोगटी  प्रतिस्प्रर्धी छन्।


आछामको निर्वाचन क्षेत्र नं १ मा ४१ हजार छ सय ४३ र २ नं क्षेत्रमा ४१ हजार आठ सय ११ खसेको छ ।त्यसैगरी यहाँको पहाडी जिल्ला बाजुरामा भने मतदानको विषयमा विभिन्न क्षेत्रमा विवाद हुँदा स्थिति तनावग्रस्त छ । बाजुराको त्रिवेणी नगरपालिका–७ मा मतदानस्थलमा विवाद हुँदा गोली लागेर एक युवकको मृत्यु हुनका साथै आइतबार राति अर्का युवकको पनि कुटपिटबाट मृत्यु भएपछि अहिले बाजुरामा तनाव उत्पन्न भएको हो ।

'अहिले पनि सदरमुकामको स्थिति तनावग्रस्त छ । बुढीनन्दा, बूढीगङ्गा नगरपालिकाका साथै त्रिवेणीमा मतदानस्थलमा लफडा हुँदा मतदान प्रक्रियामा नै असर प¥यो । जिल्लाको मतदानको सबै जानकारीसमेत आफूले पाउन सकेको छैन,' जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीले भने, 'मतदान सकिएको क्षेत्रमा भने मतपेटिका सुरक्षित नै राखिएका छन् ।विवाद भएको विषयलाई लिएर अहिले सदरमुकाम तनावग्रस्त अवस्थामा छ ।'

बाजुरामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र नेकपा एमालेका तर्फबाट पूर्वमन्त्री कर्ण थापाबीच प्रतिस्प्रर्धा हुने अनुमान गरिएको छ । कुल ८३ हजार पाँच सय ६७ मतदाता रहेको जिल्लामा  ७० वटा मतदानस्थल तोकिएका थिए । जिल्लाका केही भागमा मतदानका क्रममा विवाद हुनुका साथै उग्ररुप लिँदा दुई जनाको मृत्यु भएपछि आज पनि सदरमुकाम मार्तडी तनावग्रस्त छ ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा भने मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ताराप्रसाद शर्माले जानकारी दिए । यहाँ सत्ता गठबन्धनबाट पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक र नेकपा एमालेबाट नेत्री निरुदेवी पालबीच  प्रतिस्प्रर्धा हुने अनुमान गरिएको छ । कुल ९७ हजार आठ सय २२ मतदाता रहेको क्षेत्र नं ३ मा ५७ हजार नौ सय ५५ खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा दिउँसो २ बजदेखि  गणना सुरु हुने भनिएको छ । यहाँ एक लाख पाँच हजार पाँच सय ७७ मतदाता रहेकामा  ६५ हजार एक सय ४६ मत खसेको थियो । यहाँ सत्ता गठबन्धनबाट पूर्वमन्त्री एंव नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउद र नेकपा एमालेका नेता नरबहादुर धामीबीच प्रतिस्प्रर्धा हुने अनुमान गरिएको  छ ।

त्यसैगरी सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा पनि मतगणना सुरु गर्ने तयारी छ । पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेको कैलालीमा तीन लाख ३७ हजार तीन सय ७३ मत खसेको थियो । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कैलालीमा निर्वाचन कार्यालयले गणनाको तयारी गरिरहेका छन् ।