close

प्रचण्ड र ओलीका एसम्यान: दुई महासचिव,दुवै पराजित

प्रचण्ड र ओलीका एसम्यान: दुई महासचिव,दुवै पराजित

Trulli
ADVERTISEMENT

काठमाडाैं । नेपालका तीन ठूला दलमध्ये दुई दल नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का महासचिव पराजित भएका छन्। अरु कुनै दलले नभएर उनीहरुलाई पराजित गर्ने पनि एमाले र माओवादीका उम्मेदवार नै रहेका छन् । एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रकी रेखा शर्मासँग हार व्यहाेरेका  हुन्। त्यसरी नै माओवादी केन्द्रका महासचिव देव गुरुङले एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङसँग हारेका छन् ।  

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेलको हार एमालेका लागि निकै ठूलो हार हो । 'दाङमा राजधानी सारेको जस  पाउछुँ' भन्ने पोखरेललाई लागेको थियो ।  त्यसैमाथि प्रभावशाली मानिएका माओवादी केन्द्रका कृष्णबहादुर महरा पछि हट्दा शर्मा उम्मेदवार बन्नुपरेको थियो । पोखरेललाई निर्वाचन अघि नै प्रभावशाली नेताको रुपमा प्रस्तुत गरिएको थियो । जसले शर्मासँग जित्नुपर्ने उनीमाथि निरन्तर दबाब बढेकाे थियो । तर शर्माले सहज रुपमा प्रचार–प्रसार गर्दै सत्ता गठबन्धनको साथ पाएपछि पोखरेल माथि जित हात पार्न सफल बनेकी हुन् । 

एमाले महासचिव पोखरेलको हार एमालेलाई मात्रै होइन, अध्यक्ष केपी शर्मा ओलीका लागि पनि ठूलो चुनौती हो । किनभने एमालेमा आफ्नो विरासत पोखरेलमा सार्ने गरी ओलीले उनलाई महासचिव मनोनित गरेका थिए । नेकपा कालमै महासचिव बनेका विष्णु पौडेल प्रतिस्पर्धी भए पनि उपाध्यक्षमा सर्नु परेको थियो । दुई बीचको प्रतिस्पर्धाको संकेत निर्वाचन अघि पनि देखियो । राजधानीका विषयलाई लिएर उनीहरुले दोहोरी नै खेलेका थिए । शीर्ष नेताहरुले गिजोल्दै गएको राजनीतिलाई सुधार्न होइन, अन्ध साथ दिन अघि बढेका पोखरेललाई आम मतदाताले नै सबक सिकाएको रुपमा लिन सकिन्छ ।

माओवादी केन्द्रलाई त समग्रमा ठूलो झट्का नै लागेको छ । सोचेजस्तो परिणाम आफ्नो पक्षमा नआएर आत्तिएको माओवादीलाई त्यसैमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एसम्यान देव गुरुङले हारेका छन्। पार्टीमा महासचिवका लागि प्रतिस्पर्धा गरिरहेका वर्षमान पुन र जनार्दन शर्मालाई पाखा लगाउँदै गुरुङ प्रचण्डको छनौटमा परेका थिए । गुरुङ एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङसँग लमजुङमा पराजित भएका हुन् । एकीकृत समाजवादीका महासचिव तथा राष्ट्रिय सभा सदस्य बेदुराम भुसाल प्रतिनिधि सभाको यो निर्वाचनमा मैदानमा थिएनन्। 

चुनावी मैदानमा रहेका उपमहासचिव जीवनराम श्रेष्ठ, सचिव द्वय जगन्नाथ खतिवडा र रामकुमारी झाँक्री पराजित भएका छन् । यता सत्तारुढ दलको प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा भने निर्वाचित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको विपक्षी गुटका थापा र शर्माले चुनाव मात्रै जितेका छैनन् । अब प्रधानमन्त्रीका रुपमा सभापति विरुद्ध उत्रने भनेर गगनले भनिरहँदा विश्वप्रकाश शर्माले आफूले समर्थन गर्ने जनाई सकेका छन् ।

यसले पनि सधै एसम्यान भएर बस्दा आफु सकिएको र पार्टी सकिएको भेउ समेत नपाईने रहेछ भन्ने सन्देश दुई कम्युनिष्ट पार्टीका महासचिवको हारले पनि देखाएको छ ।