close

उपभोक्ता समिति गठन नहुँदा योजना अलपत्र

उपभोक्ता समिति गठन नहुँदा योजना अलपत्र

Trulli
ADVERTISEMENT

बागलुङ । बागलुङका स्थानीय तहले विनियोजन गरेको बजेट कार्यान्वयनमा उपभोक्ता समिति नहुँदा कठिनाइ भएको छ । गाउँमा उपभोक्ता समितिमा बसेर काम गर्ने युवा जनशक्ति अभावका कारण समिति गठन हुन नसक्दा समितिमार्फत सम्पन्न गर्नुपर्ने योजनाहरु कार्यान्वयनका लागि कठिनाइ भएको हो ।

काठेखोला गाउँपालिका–६ वडा कार्यालयले प्रजातन्त्रदय प्राविमा शौचालय निर्माण र  अमृतपानी आधारभूत विद्यालयमा शौचालय, सुरक्षा पर्खाल, खानेपानीलगायतयोजना निर्माणका लागि बजेट विनियोजन गरेको छ । वडा कार्यालयले वर्षायाम सुरु हुनुअघि नै योजना सम्पन्न गर्ने लक्ष्य राखे पनि दुवै विद्यालयमा उपभोक्ता समिति गठन नहुँदा निर्माण अघि बढ्न सकेको छैन । 

 उपभोक्ता समितिमा बस्ने जनशक्तिको अभावका कारण दुवै विद्यालयका योजना अघि बढ्न नसकेको वडाध्यक्ष बृहस्पति शर्माले बताए । एउटा योजनामा सात जना समिति र तीन जना अनुगमन समिति गरी १० जना उपभोक्ता आवश्यक पर्दछ । 'एउटा योजनामा बसेको उपभोक्ता उक्त योजना सम्पन्न नभएसम्म अर्कोसमितिमा बस्न नपाउने प्रावधानका कारण उपभोक्ता समिति गठन गर्न कठिनाइ भइरहेको छ', उनले भने।

 समितिमा बस्न योग्य अधिकांश युवा अन्य योजनामा बसेका र उमेर पुगेका स्थानीय बजार केन्द्रीत हुँदा जनशक्ति अभाव भएको अध्यक्ष शर्माको भनाइ छ । 'उपभोक्ताको सङ्ख्या पु¥याउन कठिन छ', उनले भने, 'उपभोक्ताको भेला, बैठक राखेर काम गर्न गाउँमा मान्छे छैनन् ।'

    वडा कार्यालयले यो आर्थिक वर्षमा साना ठूला गरी वडाभित्र ४९ योजना तयार गरेको छ । वडा, गाउँपालिका, प्रदेश र सङ्घीय सरकारका अधिकांश कार्यक्रम उपभोक्ता समितिमार्फत गर्नुपर्ने प्रकृतिका छन् । शिक्षक, कर्मचारी र राजनीतिक दलमा आवद्ध पदाधिकारीउपभोक्ता समितिमा बस्न पाउँदैनन् । अध्यक्ष शर्माले भने, 'गाउँमा कि बालबालिका, कि ज्येष्ठ नागरिक धेरै छन्, काम गर्ने उमेर समूहका व्यक्ति पाउन मुस्किल छ ।'

    वडा–५ का वडाध्यक्ष ज्ञामनाथ कँडेलले समितिमा बसेर काम गर्दा प्राविधिक ज्ञान आवश्यक पर्ने तथा व्यक्तिगत खर्च हुने भएकाले उपभोक्ताले दायित्व बोक्न नचाहने प्रवृत्ति बढेको बताए । अध्यक्ष, सचिव र कोषाध्यक्षबाहेक अन्य सदस्यलाई उपभोक्ता समिति दोहोरिँदा समस्या नआउने गरी व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।