close

खुलेआम ग्रे मोबाईल भित्रिँदा व्यवसायी पलयान हुने अवस्थामा, नियामक निकाय मुकदर्शक  (भिडियोसहित)

खुलेआम ग्रे मोबाईल भित्रिँदा व्यवसायी पलयान हुने अवस्थामा, नियामक निकाय मुकदर्शक  (भिडियोसहित)

Trulli
ADVERTISEMENT

महोत्तरी । नेपाल र भारतको खुल्ला सिमानाबाट गैरकानुनी रुपमा मोबाइल भित्रिएकाले मुलुकका व्यवसाय धरासय हुनुपर्ने अवस्थामा पुगेको व्यवसायीले बताएका छन्। मधेश प्रदेश कमिटी गठन गर्न महोत्तरीको बर्दिबासमा भेला भएका व्यवसायीहरुले खुल्ला सिमानाका कारण आफूहरु मर्कामा परेकाे बताएका हुन् ।

हरिवन, सर्लाहीका मोबाईल व्यवसायी लक्ष्मी दाशले खुल्ला सिमानाका कारण आफूहरु व्यवसायबाट पलायन हुने अवस्थामा पुगेकाे बताए । विगत दुई दशकदेखि मोबाइल व्यवसाय सञ्चालन गर्दै आएका उनी पछिल्लो समय खासै व्यापार नहुने सुनाए । व्यापार नभएकै कारणले गर्दा आफूहरु व्यवसायबाट टाढा बस्नु पर्ने अवस्था आएको उनकाे भनाइ छ । 

'कारोबार धरासयी अवस्थामा छ । भारतबाट दिनहुँ मान्छेसहित बोराबोराको सामान आउँछ,' उनले भने, 'यस्तै अवस्था आउने हो भने हामी व्यापार गर्न सक्दैनौँ ।'

विभिन्न समस्या लिएर सरकार तथा सरोकारवाला निकायलाई पटकपटक गुनासो गर्दा पनि कुनै सुनुवाई नभएकोप्रति उनले दुखेसो पोखे। 'पहिले व्यापार गर्न भ्याइनभ्याई हुन्थ्यो,' उनले स्मरण गर्दै भने,  'करौडौँको व्यापार गर्ने हाम्राे २५ प्रतिशत पनि व्यापार छैन ।' 

महोत्तरीका जीवन शिल्पकारको समस्या पनि उस्तै छ । लामो समयदेखि मोबाइल व्यवसाय गर्दै आएका उनी पछिल्लो समय टिक्नै अवस्था नभएको सुनाउँछन् । सरकारलाई पटक पटक गुनासो गर्दा पनि आफू कुनै आशा नदेखेको उनले बताए ।

यो समस्या शिल्पकार र दाशको मात्रै होइन् । राज्यका नियामक निकायहरुको लापरवाहीका कारण हाल हजारौं व्यवसायीहरु व्यवसाय नै त्याग्नु पर्ने अवस्थामा पुगेका छन् । गैरकानूनी कार्यलाई नियन्त्रण नगर्दा एकातिर राज्यको राजश्व गुमेको छ भने अर्काेतर्फ व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका उनीहरु बताउँछन् ।  भारतसँगको खुला सिमाका कारण खुलेआम भन्सार छलीका मोबाईल भित्रिँदा पनि प्रहरी प्रशासन मुकदर्शक बनेको व्यवसायीको आरोप छ । 

नेपाल मोबाईल व्यवसायी महासंघको मधेश प्रदेश कमिटी गठन गर्न महोत्तरीको बर्दिबासमा भेला भएका व्यवसायीहरुले उठाएका समस्याका बारेमा सरकारलाई अवगत गराएको भए पनि बेवास्ता गरेको महासंघका केन्द्रिय अध्यक्ष भरत भट्टराईले सुनाए । मोबाइल विक्रिमा ७० प्रतिशत कमी भएको उनी सुनाउँछन् । 'व्यापारमा कमी आउने त भइहाल्यो । पछिल्लो समय मोबाइल चोरीको समस्या पनि उस्तै छ,' उनले भने, 'चोरीबाट हुने क्षति कम गर्न इन्सुरेन्स गर्न आवश्यक छ ।'

उनले व्यवसायीको सुरक्षाको लागि महासंघ र सरोकारवाला निकायले विमा कम्पनिसँग सम्झौता गर्नको लागि आवश्यक पहल गर्दै आएको बताए  । 'यसले हाम्रो व्यवसाय सुरक्षित हुनेछ,' उनले भने । विमा गर्नको लागि उनले एक हप्ताभित्र आवश्यक कागजात महासंघ उपलब्ध गराउन आग्रह गरे । उनले मोबाइल व्यवसायीलाई लक्षित गरी बिना धितो ५ लाखसम्म ऋण लिन पाउने व्यवस्था गर्न लागेको बताए ।

उनले व्यवसायीको सुरक्षाको लागि आफूहरुले अभियान नै सञ्चालन गर्दै आएको बताए । व्यवसायीको समस्या तत्काल समाधान हुने अवस्था देखिए पनि आफूहरु अझै त्रासमा बाँच्नुपरेको महासंघका केन्द्रीय अध्यक्ष भट्टराईले बताए । उनले अब महासंघले व्यवसाय सुरक्षाका लागि विमासँग सम्झौता गर्ने तयारीमा लागेको व्यवसायीहरुलाई सुनाए।

हाल मुलुकभर मोबाइल व्यवसायबाट ५० हजारभन्दा बढी रोजगारी सिर्जना भइरहेको छ । सोही रोजगारी प्रदान गर्दै आएका २५ हजार स्वरोजगार मोबाईल व्यवसायीहरु कम्पनीको असमान खालको स्किम कारण पनि प्रताडित बनेको दुखेसो पोखे । स्किममा हुने भेदभावले मोबाईल बजार असन्तुलित भएको व्यवसायीहरुको जिकिर छ । 

लगानी धेरै गर्नुपर्ने तर मुनाफा राज्यले तोकेभन्दा पनि ४ गुणा कम पाउँदा व्यवसाय टिकाउनै मुश्किल परेको तर्क गर्दै मोबाईल व्यवसायी महासंघ बागमती प्रदेश अध्यक्ष छतेन्द्र आचार्यले अबको संघर्ष आयातकर्ताहरुसँग हुने बताए । उनले आफूहरुको व्यवसाय बाहिरी रुपमा लक्जरी भए पनि सो अनुरुपको व्यापार नहुनुमा दुखेसो पोखे ।

'अबको हाम्रो लडाई प्रयोगकर्तासँगको होइन । अबको लडाई आयातकर्तासँगको हो,' उनले भने, 'हाम्रो पीडा हामीसँगै छ । राज्यले हाम्रो लागि २० प्रतिशत मुनाफा तोकेको छ । हामीले त्यस्तो पाएका छैनौं । अझ बागेनिङको कुरा त छदैँछ ।'

व्यवसायीहरु महासंघमा संगठित भएकैले काठमाडौंको ल्होत्से मलमा भएको मोबाईल लुटपाटको घट्नाको तत्काल सुनुवाई गर्न सरकार बाध्य भएको तथ्य नर्बिसन व्यवसायीहरुलाई महासंघका वरिष्ठ उपाध्यक्ष सुरेश प्रसाईले स्मरण गराए । 'ल्होत्से मलको घटनालाई लिएर सरकारसँग तत्काल छानबिनको लागि माग गरेका थियौँ । तर उहाँले एक हप्तासम्म छानबिन गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो,' उनले भने, 'उहाँकै अनुरोधमा हामीले आन्दोलन बन्द गरेका थियौँ । तर अहिलेसम्म केही भएन ।' 

कार्कीका अध्यक्षतामा मधेश प्रदेश समिति गठन
 मधेश प्रदेशस्तरीय भेलाबाट नेपाल मोबाईल व्यवसायी महासंघको प्रदेश समितिको अध्यक्षमा पर्साका व्यवसायी मोहन कार्कीलाई चयन गरेको छ । 

भेलाले उपाध्यक्षमा सुरेन्द्र कुमार शर्मा र रामहरी थापामागर, महासचिवमा महादेव शर्मा, सचिवमा राहुल कुमार शाह, कोषाध्यक्ष लालबाबु प्रसाद साह र सह कोषाध्यक्षमा लक्ष्मी दासलाई जिम्मेवारी दिएको छ । 

त्यस्तै, मधेश प्रदेश सदस्यमा मोहम्मद हमिद, जिवन शिल्पकार, रमेश श्रेष्ठ, सुदिप भण्डारी, अनिल कुमार महत्तो, राम सुदिस महत्तो, सुवास चन्द्र बानियाँ, मोहमद अलि हुसेन, विरेन्द्र प्रसाद गुप्ता, शशि भुषण शर्मा, रुपेश यादव, कृष्ण जैसवाल छानिएका छन् । 

२७ सदस्यीय प्रदेश समितिमा रिक्त रहेका ८ जना सदस्यहरु पछि चयन हुनेछन् । निर्वाचित भएपछि प्रतिक्रिया दिंदै अध्यक्ष मोहन कार्कीले व्यवसायीका समस्या समाधानमा लागिपर्ने बताए । नवनिवार्चित अध्यक्ष कार्कीले व्यवसायी साथीभाईको गुनासो अनुरुप काम गर्ने प्रतिबद्धता जोहर गरे । 

मधेश प्रदेशका व्यवसायीहरुका समस्यालाई संघीय सरकारसमक्ष ध्यानाकर्षण गराउने केन्द्रीय अध्यक्ष भरत भट्टराईले बताए । उनले समस्याको समाधान हुने अवस्था नभए देशव्यापी आन्दोलन गर्न आफूहरु तयार रहेको सुनाए । 

'मोबाइल चोरी पैठारीले हामी पीडित छौँ । पटकपटक सरोकारवालाई ध्यानाकर्षण गर्दै आएका छौँ,' उनले भने, 'जेठसम्म हाम्रो माग पुरा नभएमा साउनदेखि आन्दोलन सुरु गर्ने छौँ ।'

गत वर्ष स्थापित महासंघले गठन हुन बाँकी रहेको प्रदेश कमिटी गठनलाई तिब्रता दिएको छ । चैत्रभित्र सबै प्रदेश कमिटी गठन गर्ने, बैशाखभित्र व्यवसायीका मागलाई लिपिबद्ध गर्ने, जेठ र असारमा सरकारी तहमा ध्यानाकर्षण गराउने र समस्या समाधान नभए साउनदेखि सशक्त आन्दोलन थाल्ने तयारी गरेको छ ।