close

भक्तपुर–१ मा योजना छनोट तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

भक्तपुर–१ मा योजना छनोट तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा आर्थिक वर्ष २०८०/८१ को योजना छनोट तथा बजेट निर्माणको लागि सुझाव संकलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनस्तरबाट आएको सुझावलाई नगर र नगरबासीहरुको आवश्यकताको आधारमा कार्यान्वयन गर्दै बजेट निर्माण गर्दै आएको बताए।

भक्तपुर नगरपालिकाले व्यक्तिलाई होइन, समुदायलाई बलियो पार्ने काम गर्दै आएको बताउँदै उनले भक्तपुर नपाले नगरको आवश्यकताअनुसार बजेट परिचालन तथा नगरको सन्तुलित विकासमा विशेष जोड दिँदै आएको बताए।

भक्तपुर नपाले निर्वाचनको समयमा व्यक्त प्रतिबद्धताअनुरुप जनतासँग प्रत्यक्ष सरोकार भएको अधिंकाश काम पूरा गरेको बताउँदै उनले विकास निर्माणसँगसँगै अब नगरको व्यवस्थापन, सौन्दयीकरणतर्फ अगाडि बढिरहेको बताए।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाबाट सञ्चालित योजना तथा गतिविधिहरुबारे अवगत गराउँदै वडाको सेवा अझ सहज र सुलभ रुपमा प्रदान गर्ने उद्देश्यबाट वडा अगाडि बढिरहेको बताए। भनपा १ क्षेत्रफलको हिसाबले ठूलो वडा भएको बताउँदै उनले खानेपानी समस्या समाधानको लागि वडाले ठाउँ ठाउँमा डीप बोरिन सञ्चालन गर्दै आएको बताए।

कार्यक्रममा समाजसेवीहरु लक्ष्मीनारायण राजलवट र कृष्णबहादुर दुगुजूले नगरपालिका र वडाको लागि रचनात्मक सुझाव दिँदै वडामा बहुउदेश्यीय भवन निर्माण गर्नुपर्ने, सामुदायिक विद्यालयको भौतिक सुधार र फुटपाथ व्यवस्थापनमा वडाले विशेष जोड दिनुपर्ने धारणा राखे।

कार्यक्रममा मुपुज्व टोल सुधार समितिका कृष्णगोविन्द मुलगुठी, ज्ञानकुन्ज टोलसुधार समितिका कृष्णप्रसाद दुमरु, नःपली सिर्जना सेवा समितिका नारायणप्रसाद कोइराला र असंगाल टोल सुधार समितिका प्रबिन सिन्ताकलले वडामा सडक फराकिलो गर्ने, ढुंगा छपाई, सम्पदा संरक्षण, किसानलाई सहुलियत, पर्ति जग्गा संरक्षण, ढल व्यवस्थापन, खानेपानी व्यवस्थापन, सडक बत्ती मर्मत, हनुमन्त्ते करिडोरमा वातावरणीय सुधारलगायत राय सुझाव बुँदागत रुपमा प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडा सदस्यहरु सूर्यप्रसाद श्रेष्ठ र गंगालक्ष्मी बमनुले पनि बोलेका थिए।