close

बिक्री हुन छाडे माटाका भाँडा

बिक्री हुन छाडे माटाका भाँडा

Trulli
ADVERTISEMENT

बागलुङ । निसीखोला गाउँपालिकाका शिरबहादुर सुनार १५ वर्षभन्दा बढी समय माटाको भाँडा व्यवसाय गरे। पछिल्लो समय आयातित धातुका भाँडाले माटाका सामग्री विस्थापित हुँदै गएपछि उनले यो व्यवसायनै छोडे। 

उनले भने,'अहिले त जताततै प्लास्टिक, इस्टिल, सिल्टीका भाँडा पाइन्छ, उतिबेला माटोका बाहेक अरु भाँडा कम पाइन्थे । त्यही भएर पनि व्यापार राम्रो हुन्थ्यो । तर अहिले बिक्री हुनै छोड्यो ।' बजारबाट विभिन्न भाँडावर्तन खरिद गर्ने र गाउँ–गाउँमा पुगरे व्यापार गर्ने उनी अहिले घरधन्दामै व्यस्त छन् ।

एक दशक अगाडिसम्म बागलुङका बजार र ग्रामीण क्षेत्रमा माटाका भाँडा प्रसस्त पाइने भए पनि अहिले निकै कम भएको उनको भनाइ छ । यही व्यवसायबाट आफ्नो छोराछोरी पढाउने र परिवार चलाउने गरे पनि माटाका भाँडाको माग निकै कम हुने र व्यापार हुन छोडेपछि व्यवसायबाट अलग्निुपरेको उनले बताए । 

 काठमाडौँ, भक्तपुर र चितवनदेखि खरिद गरेर भाँडा बिक्री गर्ने उहाँले व्यापार नभएपछि लाखौँको नोक्सान ब्यहोर्नुपरेको दुखेसो पोखे ।

उनले भने, 'पहिले गाउँमा रक्सी पार्ने हाँडी, घैँटो र पैसा जम्मा गर्ने खुत्रुकेको माग निकै आउने गथ्र्यो । एकै पटकमा दुई÷तीन लाखको सामान खरिद गरेर बेच्ने गर्थे । सुरुको १० वर्ष राम्रो व्यापार भयो । घर बारी जोडे तर पछिल्लो पाँच वर्ष व्यापार निकै कम भयो । खरिद गरेको पैसा पनि नउठेपछि व्यापार गर्न छोडे । अहिले छोराछोरी हुर्किए । उनीहरुले आफ्नो धन्दा गर्न छन् । म बुढो घरको काम गरेर बस्छु । माटोका भाँडा अहिले हराउँदै गए, प्रयोग पनि हुन छोडेँ ।'

सुनारले बाहिरबाट आउने धातु र प्लास्टिकका भाँडामा राज्यले रोक लगाउन सके मात्रै माटाका भाँडाको प्रयोग बढ्ने बताए । आफ्ना बाउबाजेका पालमा धातुका सामान निकै कम पाइने हुँदा माटाकै भाँडा बढी प्रयोग हुने गरेको उनको भनाइ छ । बागलुङ नगरपालिका–२ का टीकाबहादुर बोसेलले २५ वर्ष माटाका भाँडा बेच्ने काम गरे । अहिले यो व्यवसाय उनकी छोरी ३६ वर्षीया सुमित्रा बोसेलले सञ्चालन गरेकाे हाे ।  बीसऔँ वर्ष व्यवसाय गर्दा टीकाबहादुरले राम्रो आम्दानी गर्थे । तर अहिले सुमित्राले निकै कम भएको सुनाए ।

पाँच वर्षदेखि माटाको भाँडा व्यवसाय सञ्चालन गर्नुभएकी बोसेलले मासिक रु १०/१२ हजार आम्दानी गर्न पनि गाह्रो हुने गरेको उनले गुनासाे गरे । सुमित्राले साँघुरो पसलमा हाँडी, घैटो, गमला, खुत्रुकेलगायत विभिन्न थरीका माटोका सामान राखे ।

ती भाँडासँगै प्लास्टिकका गमला, बाल्टी, खुत्रुकेलगायतका सामान पनि छेउमै छन् । माटाको भाँडा बिक्री नभएपछि प्लास्टिकका भाँडा पनि राखेको उनले सुनाए । माटाको भाँडा बकेचेर दिनभरिमा रु पाँच सयको कमाइ गर्न पनि नसकिने बताउँछन्। अहिले भाँडा बेचेर परिवार चलाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

'दश वर्ष अगाडिसम्म राम्रो व्यापार हुन्थ्यो । बाबाआमाले व्यवसाय गर्ने बेला महिनामै ४० हजारभन्दा बढी आम्दानी गर्नुहुन्थ्यो । अहिले त्यो अवस्था छैन । कहिलेकाहीँ दियो बिक्री हुन्छ', उनले भने, 'अहिले त तामा, तिपल, फलाम र रबरका धेरै किसिमका भाँडा आए । त्यसले गर्दा माटाका भाँडा व्यापार ठप्पजस्तै भएका छन् ।'