close

विदेशबाट फर्केर उद्यम गर्ने युवालाई तालिम र अनुदान

विदेशबाट फर्केर उद्यम गर्ने युवालाई तालिम र अनुदान

Trulli
ADVERTISEMENT

रुपन्देही- कञ्चन गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केर आफ्नै गाउँमा उद्यम गर्न चाहनेलाई सहयोग गर्दै आएको छ । गाउँपालिकाले संघीय सरकारको सहयोगमा गत आर्थिक वर्षदेखि  रोजगारमुखी कार्यक्रम सञ्चालनमा ल्याएकाे हाे ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई लक्षित गरी पुनः एकीकरणमार्फत स्वदेशमै उद्यमी बनाउनका लागि साे कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका रोजगारी शाखाका रोजगार संयोजक ईश्वरी ज्ञवालीका अनुसार पालिकाले वैदेशिक रोजगारी बोर्डको समन्वयमा सो कार्यक्रम सञ्चालन गरिएको हो । 

बोर्डले सो कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको उनले पालिकाखबरलाई सुनाए । सो रकमबाट वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित गरी पाँच दिने तालिम सञ्चालन गरी अनुदान रकम वितरण गरेको उनले बताए । 

उनका अनुसार व्यवसाय, पशुपालन तथा अन्य काम गर्न चाहने व्यक्तिलाई गाउँपालिकाले ३५ हजार रुपैयाँ अनुदान दिएको थियो । सो रकममा आवश्यक लगानी व्यक्ति स्वयंले थप गरी गत वर्षदेखि व्यवसाय तथा उद्यम सञ्चालन गरेको उनको भनाइ छ । 

कार्यक्रमको लागि गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई लक्षित गरी प्रस्ताव माग गरेको र सोही प्रस्तावको आधार कार्यक्रम सञ्चालन गरेको उनले बताए । कार्यक्रममा सहभागी भएका व्यक्तिलाई गाउँपालिकाले पाँच दिनसम्म व्यावसायिक परियोजनासम्बन्धी तालिम दिएको उनले बताए । 

तालिम सकिएसँगै कार्यक्रमको कार्यविधि अनुसार अनुगमन गरी ४७ जनालाई अनुदान रकम वितरण गरेको उनले सुनाए । उनले भने, ‘बोर्डले विनियोजन गरेको रकम बढी भएपछि व्यवसायको सहजताको लागि अनुदान वितरण गरेका हौँ ।’

गाउँपालिकाको उपाध्यक्षको नेतृत्वमा अनुगमन गरी सोबाट सिफारिस भएको व्यक्तिलाई अनुदान दिइएको उनले सुनाए । सो पछि हालसम्म कुनै अनुगमन नभएको उनले जानकारी दिए । तर व्यवसायी भन्ने सोचसहित कार्यक्रममा सहभागी भएका व्यक्तिले फाइदा लिएको उनले दावी गरे । 

चालु आवमा साे कार्यक्रम सञ्चालन गर्नका लागि गाउँपालिकाले आवेदन माग गरेकाे उनकाे भनाइ छ । साेमा हालसम्म ६० जनाले आवेदन  दिए पनि स‌ंघीय सरकारले बजेट  विनियाेजन गरेपछि मात्रै कार्यान्वयन हुने उनले बताए ।

गाउँपालिकाका अध्यक्ष नवराज ढकालका अनुसार रुपन्देहीमा कञ्चन गाउँपालिकासँगै अन्य तीन वटा स्थानीय तहले पनि सो कार्यक्रम सञ्चालन गर्दै आएको छ । रुपन्देहीका तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र कञ्चन गाउँपालिकाले यो अभियान सुरु गरेको उनले पालिकाखबरलाई बताए । 

‘अघिल्लो वर्ष गाउँपालिकाले विदेशबाट फर्किएका युवालाई लक्षित गरी प्रस्तावना माग गरेको थियौँ,’ उनले भने । ‘सक्छौँ विदेश नजाउ सक्दैनौँ सीप  सिकेर प्रक्रियामा आवेदन देउ’ भन्ने नारासहित यो अभियान चलाउँदै आएको उनले जानकारी दिए । 

उनका अनुसार अघिल्लो वर्ष प्रस्ताव माग गरी बोर्डले २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । ‘सोही बजेटको आधारमा विदेशमा गएका र विदेशबाट फर्किएका व्यक्तिलाई लक्षित गरी एक हप्ता तालिम गरेका थियौँ । उहाँहरुलाई सीप सिकाएर पेशा र व्यवसायमा जोडिनको मागको आधारमा सहयोग गरेका थियौँ,’ उनले भने ।

संघीय सरकारको कार्यविधि अनुसार कार्यक्रमको लागि समिति गठन गरी योग्य व्यक्ति छनौट गरिएको उनको भनाइ छ । छनौट भएका व्यक्तिहरुको व्यवसायबारे पालिकाले समया समय अनुगमन गर्दै आएको उनले बताए । 

उनले  भने, ‘उहाँहरुले राम्रोसँग काम गर्दै आएको पाएका छौँ । सो रकमलाई सदुप्रयोग गरी काम गर्दै आएको पाएका छौँ ।’ गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनका अनुसार सो कार्यक्रम चालु आर्थिक वर्षमा पनि लागू हुनेछ । सोका लागि आवश्यक बजेट गाउँपालिकाले विनियोजन गरेको उनको भनाइ छ ।  कार्यक्रमको लागि गाउँपालिकाले प्रस्ताव माग गरिसकेको उनले जानकारी दिए । 

तर कति जनालाई साे सहभागी गराउने भन्ने  विषय टुंगाे नलागेकाे उनले जानकारी दिए । गत वर्ष गाउँपालिकाले ५० जनालाई सहभागी गराउने भनिए पनि साे नभएकाे उनले बताए । 'गत वर्ष ५० जनालाई दिने याेजना थियाे । तर प्रस्तावना पेश गरे पनि अनुगमन जाँदा सम्पर्कमा नआएपछि तीन जना सहभागी हुन पाएनन् । ४७ जना मात्रैै सहभागी हुन पाए,' उनले भने । 

गत आवमा केही मात्रै सहभागी भएकाले स्थानीयस्तरबाटै धेरै गुनासाे आएकाले चालु आवमा धेरै जनालाई कार्यक्रम सहभागी गराउने लक्ष्य लिएकाे उनले सुनाए ।