close

‘न अस्पताल नत क्याम्पस, न सडक नत पानी : यस्तै छ प्रधानमन्त्रीको गृहपालिकाको कहानी’ (भिडियो कुराकानी)

‘न अस्पताल नत क्याम्पस, न सडक नत पानी : यस्तै छ प्रधानमन्त्रीको गृहपालिकाको कहानी’ (भिडियो कुराकानी)

ADVERTISEMENT

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका हो, सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लास्थित गन्यापधुरा गाउँपालिका । देशमा ५ पटक प्रधानमन्त्री बनिसकेका देउवाको पालिकाका सबै वडामा अहिलेसम्म यातायातको सहज पहुँच छैन ।

साबिकका असिग्राम गणेशपुर, मष्टामाण्डौँ र कैलपालमाण्डौँ  गरी ४ वटा गाविस मिलाएर गन्यापधुरा गाउँपालिका बनाइएको हो । १५ हजार ९३ जनसंख्या रहेको यस विकट पहाडी भेगमा हिन्दु धर्मावलम्बी मान्दै आएको शिखर (गन्याप) देवताको नामबाट यो पालिकाको नामकरण गरिएको हो । यस गाउँपालिकाको पूर्वमा डोटी जिल्लाको शिखर नगरपालिका, पश्चिममा डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका र आलिताल गाउँपालिका, उत्तरमा डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका र दक्षिणमा आलिताल गाउँपालिका र डोटी जिल्लाको जोरायल गाउँपालिका रहेका छन् । 

भौगोलिक विकटता रहेपनि प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति देउवाको गृहपालिका भएकै कारण बेलाबेलामा यो स्थानीय तह राष्ट्रिय चर्चामा पनि आउने गरेको छ । तर विडम्बना यहाँका सडकहरू साँघुरा त छन् नै साथै कच्ची, धुलाम्य र हिलाम्य हुँदा देउवाले स्थानीय तह, संघ र प्रदेशको निर्वाचनमा मत हाल्न अझै पनि हेलिकप्टरबाटै घर जानु पर्ने बाध्यता छ । देउवाको घर रहेको वडा नम्बर २ जाने बाटो त झन् यति बेहाल छ कि वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुन्छ । 

हुँदा हुँदै बितेको ५ वर्षमा २ पटक प्रधानमन्त्री बनेका देउवाको पालिकामा अहिलेसम्म प्रशासनिक भवन छैन भन्दा पत्याउनै गाह्रो पर्छ । अझ एक कदम अगाडि बढेर भन्नु पर्दा यहाँ न अस्पताल छ नत क्याम्पस समेत छैनन् । नाम मात्रको सामुदायिक विद्यालय भवन भने छन् । देशको प्रधानमन्त्रीको गृहपालिका अहिलेसम्म भौतिक पूर्वाधारका आधारमा निकै पिछडिएको छ । 

२०७९ सालको स्थानीय तहको निर्वाचनबाट यस पालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानुकुमारी सेटी निर्वाचित भएका छन् । देशका प्रधानमन्त्रीले यसपाली त पालिकालाई समृद्ध बनाउँछन् कि भन्ने आशा अहिले पनि यहाँका बासिन्दाहरूमा मरेको छैन । अध्यक्षका युवाको जितले यहाँका बासिन्दाहरूलाई केही उत्साही भने अवश्य बनाएको छ । अध्यक्ष कार्कीले ५ वर्षभित्र गन्यापधुराको पालिका मुकाम गणेशपुरलाई जोड्ने दुवै सडक कालोपत्रे गर्ने योजना अघि सारिसकेका छन् । उनले प्रधानमन्त्रीको गृहपालिका भएपनि सडकको स्तर राम्रो नहुँदा निकै गुनासाहरू आउने गरेकाले यस विषयमा देउवासँग निरन्तर कुराकानी भइरहेको र एउटा सडकमा काम भइरहेको जानकारी दिए । साथै भएका सडकहरू कालोपत्रे हुने विश्वास समेत व्यक्त गरे । 

त्यसरी नै अध्यक्ष कार्कीले कृषिको निकै सम्भावना बोकेको पालिकामा किसानको जीवन सुधार्न ‘विकास र समृद्धि, कृषि क्षेत्रमा लगानी वृद्धि’ को नारा अघि सारेका छन् । उनले यसै वर्ष गन्यापधुरा अस्पताल निर्माण कार्य अघि बढाइने समेत बताए । त्यसैगरी व्यावसायिक र प्रयोगात्मक शिक्षातर्फ विद्यार्थी आकर्षित गर्न प्राविधिकधारका विद्यालय संचालन गर्ने योजना उनको छ ।

गन्यापधुराको अर्को समस्या भनेको पिउने पानी पनि हो । त्यसैले गाउँपालिकाले एक घर एक धाराको रणनीति अवलम्बन गर्दै सबैलाई शुद्ध पिउने पानी उपलब्ध गराउने योजना अघि सारेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका गन्यापधुरा पुगेर पालिकाखबरकर्मी जनकराज पण्डितले अध्यक्ष इन्द्रबहादुर कार्कीसँग गरेको कुराकानीको सम्पादित अंश ।