close

कांग्रेस निर्वाचन : झापाको पाँच निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

कांग्रेस निर्वाचन : झापाको पाँच निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

Trulli
ADVERTISEMENT

झापा–नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत झापाका पाँच वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक परिणामले नेता कृष्ण सिटौला समूह र कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माबीच प्रतिस्पर्धा भएको देखाएको छ । दुवै नेताको समर्थनबाट उम्मेदवारी दिएकाले आ–आफ्नो अडान नछाडेपछि सोमबार निर्वाचन भएको हो । पाँच निर्वाचन क्षेत्रमध्ये सिटौलाले समर्थन गरेका क्षेत्र २, ३, ४ र शर्माले समर्थन गरेका क्षेत्र १ र ५ का क्षेत्रीय सभापतिका उम्मेदवार विजयी भएका छन् ।

 

क्षेत्र १ को सभापतिमा इन्द्रबहादुर बुढाथोकी निर्वाचित भए । उनले गोपाल तामाङलाई हराए । सचिवमा सुरेन्द्र बुढाथोकी र गुणराज भट्टराई निर्वाचित भए । सहसचिवमा खगेन्द्र गिरी र दीपक काफ्ले निर्वाचित भए । क्षेत्र २ को सभापतिमा खगेन्द्र मैनाली निर्वाचित भएका छन् । उनले शर्मा समर्थक मोहन सुब्बा लिम्बूलाई पराजित गरे । सचिवमा चन्द्रप्रसाद चुडाल र रामबाबु धिमाल तथा सहसचिवमा जीवन थापा र नगेन्द्र बस्नेत निर्वाचित भएका छन् ।


क्षेत्र ३ को सभापतिमा गणेश पोखरेल निर्वाचित भएका छन् । उनले राजेन्द्र घिमिरेलाई पराजित गरेका हुन् । घिमिरे संस्थापन पक्ष शर्मा समर्थक हुन् । क्षेत्रीय सचिवमा गीताप्रसाद भट्टराई र भूपाल बस्नेत विजयी भए । सहसचिवमा नारायण दाहाल र प्रकाश राजवंशी निर्विरोध निर्वाचित भएका छन् । क्षेत्र ४ को सभापतिमा जयनारायण साह तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । झापा गाउँपालिका अध्यक्षसमेत रहेका साहले नारायणप्रसाद बजगार्इंलाई पराजित गरेका हुन् । 


बजगाईंलाई शर्माको समर्थन थियो । क्षेत्रीय सचिवमा रूपनारायण खतिवडा र सुमन काफ्ले निर्वाचित भएका छन् । सहसचिवमा इन्द्रप्रसाद प्रसाईं र कोषराज गड्तौला निर्वाचित भएका छन् । क्षेत्र ५ को सभापतिमा ढुण्डिराज भण्डारी पुनः निर्वाचित भएका छन् । भण्डारीले रोशनकुमार गौतमलाई हराएका हुन् । सचिवमा धर्मानन्द भट्टराई र मुकुन्द उप्रेती निर्वाचित भएका छन् । त्यस्तै, सहसचिवमा गोपालराज दाहाल र डिल्ली चापागाईं निर्वाचित भए ।

 

क्षेत्रीय अधिवेशन सकिएलगतै जिल्ला अधिवेशनमा पनि नेता सिटौला र शर्मा समर्थनका दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । सिटौला समर्थकका देउमान थेबे र शर्मा समर्थकका राम कट्टेलले सभापतिमा प्यानल बनाएर उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । थेबे पूर्वउपसभापति हुन् भने कट्टेल वर्तमान उपसभापति हुन् ।