close

एमालेको विरोधका बीच लुम्बिनीको नीति तथा कार्यक्रम पारित

एमालेको विरोधका बीच लुम्बिनीको नीति तथा कार्यक्रम पारित

Trulli
ADVERTISEMENT

बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले जेठ २५ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम आज बहुमत सदस्यबाट पारित भएको हो ।

आइतबार प्रदेश सभा बैठकमा सभामुख पुर्णबहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेपछि एमालेको विरोध गरेको थियो । 

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम गत बुधबार प्रदेश सभामा पेस गरेपछि प्रदेश सभाको बहुमतले ध्वनिमतका आधारमा नीति तथा कार्यक्रम पारित भएको हो । ८० सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्ता पक्षमा ४३ र विपक्षमा ३७ सांसद छन् ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले चुनावी सरकारले दीर्घकालीन महत्त्वका र पूरा हुन नसक्ने योजनाहरु ल्याएको भन्दै आलोचना गरेका थिए ।

मुख्यमन्त्री कुलप्रसाद केसीले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरकफरक भए पनि लुम्बिनीको विकासमा एक हुनका लागि सबैलाई अपिल गरे । उनले प्रदेशको गौरवको आयोजना, प्रदेश सरकारले शिक्षा, स्वास्थ्य कृषिका क्षेत्रमा लगानीगर्ने जनाउँदै त्यसका लागि प्रदेश सरकार जिम्मेवार भएको बताए । 

उनले लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी विश्वविद्यालय, प्रदेशको राजधानीलगायतका गौरवका आयोजना र आम जनताको जीवनस्तर माथि उठाउनका लागिसमेत आगामी वर्षको बजेटमा समेट्ने तयारी भइरहेको बताए ।