close

के छन्, कम उमेरका स्थानीय जनप्रतिनिधिका योजना

के छन्, कम उमेरका स्थानीय जनप्रतिनिधिका योजना

Trulli
ADVERTISEMENT

जनप्रतिनिधिबाट गरिने शासनलाई सर्वोत्कृष्ट मानिन्छ । सम्भवतः यही भएर पछिल्लो समय धेरै मुलुकले जनताबाट प्रत्यक्ष शासन गर्ने अभ्यास अवलम्बन गर्ने गरेका छन् । 

नेपालले पनि २०६२/६३को जनआन्दोलनको जगमा टेकेर २०६५बाट नेपाल गणतन्त्रात्मक शासन पद्धति अवलम्बन गरेको छ ।

त्यसैगरी जनताका प्रतिनिधिबाट २०७२ सालमा संविधान बनेको छ । जसको अभ्यासस्वरुप हाल  नेपालमा एक केन्द्रीय सरकार, सात प्रादेशिक र ७५३ गरी कुल ७६१ सरकारबाट शासन सञ्चालन भइरहेको छ ।

कानुनी रूपमै तीनै तहको जनप्रतिनिधि हुन न्यूनतम उमेर तोके पनि कति वर्षसम्म भनी उमेर तोकेको छैन ।तर धेरै उमेर पुग्नेवित्तिकै जनप्रतिनिधि बन्न सक्दैनन्  । 

तर, केही यस्ता पनि हुन्छन् जनप्रतिनिधि बन्न न्यूनतम उमेर पुग्नेवित्तिकै जनप्रतिनिधि बनी शासन गर्ने अवसर प्राप्त गर्छन् । 

प्रस्तुत छ, स्थानीय तहमा न्यूनतम उमेर पुग्नेवित्तिकै र सबैभन्दा कम उमेरका जनप्रतिनिधिबारे विपना मुसिख्वालले तयार पारेको सामग्री

२१ वर्षीय अध्यक्ष वशिष्ट कुमार

२१ वर्ष पुगेका वशिष्टकुमार पर्सा कालिकामाई गाउँपालिकाका अध्यक्ष हुन् । स्नातक सकाएका उनी यतिखेर गाउँपालिकाको बागडोर सम्हालिरहेका छन् । झिनो मतान्तरले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजयकुमारलाई पछाडि पारी उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । निर्वाचित भएसँगै आफू पालिकामा रहेका समस्या समाधानमा लागेको उनले बताए । 

पालिकाका मुख्य समस्या शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार रहेको बताउँदै यिनै विषयलाई प्राथमिकतामा राखी योजना अघि सारेको उनले बताए । उमेरले कम उमेरको जनप्रतिनिधि भए बताउँदै अग्रजका अनुभव र युवाको जोस जाँगरको सन्तुलन मिलाएर काम गर्ने बताए । पालिकाले चालू नीति तथा कार्यक्रममा कृषिलाई विशेष महत्त्व दिइएको बताए ।

२२ वर्षीय राजाबाबु यादव

२२ वर्षका राजाबाबु यादव सर्लाही रामपुर गाउँपालिकाका जनप्रतिनिधि हुन् । काठमाडौंबाट स्नातक पूरा गरेका उनले २०७९को स्थानीय तहको निर्वाचनपछि  पालिका अध्यक्षमा निर्वाचित भए । जनता र परिवारको सहयोगमा उनले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले आफू विजयी भएको उनी बताउँछन् । 

राजनीतिक परिवारको सदस्य र आफ्नै पहिचानका कारण आफू चुनावमा होमिएको बताए । आफूमा गाउँबारे चासो लिने र समुदायसँग बसेर कुराकानी गर्ने बानीकै कारण सबैको नजरमा परेको उनले बताए ।‘म गाउँमा गएर निम्न वर्गदेखि ठूलाबडासँग भलाकुसारी गर्थेँ । युवासँग छलफल गर्थेँ,’ उनले भने, ‘त्यसैले म सबैको नजरमा परेँ ।’ 

युवाहरूकै चाहनाका कारण आफूले गाउँपालिका अध्यक्षमा उम्मेद्वारी दिएको बताए । ‘मेरो सोच गाउँपालिका अध्यक्ष बन्ने थियो । साथीभाइ सबैले हौसला दिनुभयो,’ उनले भने । 

पालिकामा भ्रष्टाचार मुख्य समस्याको रुपमा रहेको बताउँदै उनले पालिकामा यसअघिका जनप्रतिनिधिले कुनै पनि काम नगरेको उनको आरोप छ । उनले भने, ‘यसअघिका जनप्रतिनिधिले उल्लेख्य काम गर्नुभएन । अहिले जति विकास देखिन्छ, त्यो सबै २०५४ सालमा भएको हो ।’

आफूले सबै कार्यपालिका सदस्यसँग छलफल गर्दै आएको बताउँदै उनले विज्ञ तथा अनुभवी व्यक्तिबाट सल्लाह र सुझाव लिने योजना रहेको बताए । पालिकाको विकासको जिम्मेवारी आफ्नो काँधमा आएको बताउँदै उनले चुनावमा गरेका सबै प्रतिबद्वता पूरा गर्ने बताए । 

२५ वर्षीय विद्यानन्द चौधरी 

विद्यानन्द चौधरी सप्तरीका युवा जनप्रतिनिधि हुन् । २५ वर्षीय चौधरी लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित सप्तरीको छिन्नामस्ता गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । 

अध्यक्ष चौधरीले निकटम प्रतिद्वन्द्वी जनता समाजवादीका उम्मेद्वार सत्यनारायण यादवलाई करिब एक हजार मतले पछि पारेका थिए । चौधरीले दुई हजार आठ सय ९५ मत ल्याउँदा यादवले एक हजार सात सय ६६ मत पाए । ०७४ सालको चुनावमा उनी तत्कालीन गाउँपालिका अध्यक्षसँग ३५ मतान्तरले पराजित भएका थिए । 

समाजमा सामान्यदेखि ठूला समस्या रहेको र त्यसलाई अन्त्यका लागि आफूलगायत युवाको खाँचोले जनप्रतिनिधि बन्न हौस्याएको उनको भनाइ छ । 

सानैदेखि सामाजिक कार्य गर्दै आएको बताउँदै भने, ‘स्कुल पढ्दादेखि नै राजनीतिमा चासो दिन्थेँ । समाजमा भएका ससाना समस्या केलाएर शिक्षकसँग कुरा गर्थेँ । जसका कारण म समाजसँग नजिकिएँ ।’

चुनाव हारे पनि आफू केही युवा मिलेर जनतासँग जनप्रतिनिधि कार्यक्रम चलाएको उनले बताए । उनले भने, ‘साप्ताहिक र मासिक रुपमा प्रत्येक वडामा हामी पुग्थ्यौँ । यही कारण पालिकामा प्रिय भएँ । 

पाँच वर्षमा छिन्नमस्ताबासीले केही परिवर्तन नपाएको बताउँदै उनले गाउँको विकासका लागि युवा जनप्रतिनिधि आवश्यक रहेको उनको भनाइ छ । उनले भने, ‘गाउँका समस्या हटाउन र विकास गर्न युवाको खाँचो छ ।’

गाउँमा विकास गर्ने अठोटका साथ निर्वाचनमा होमिएका चौधरीले युवा र क्षमताकै कारण पालिका अध्यक्ष पदमा विजयी भएको बताए । पालिकामा कुनै पनि पार्टीको बहुमत नभएको बताउँदै उनले भने, ‘मेरो पार्टीबाट म एकल मेयर हुँ । कर्मचारीतन्त्रको मनपरिले सोचेअनुरुप विकास हुन सकेको छैन ।’

गाउँका विकासको लागि युवाको जोस र जाँगरले मात्रै नपुग्ने बताउँदै उनले अग्रज राजनीतिककर्मीको सल्लाह सुझाव, विषयगत विज्ञको सल्लाह आवश्यक रहने बताए । विज्ञहरूसँग बसेर छलफल गरी योजना बनाएको उनले बताए ।

स्थानीय स्रोत साधनको विकास, पूर्वाधार विकास, भौतिक विकास, गरीब उन्मूलन, पर्यटकीय क्षेत्रको विकास, शिक्षाको विकास, सामाजिक विकासलाई प्राथमिकतामा राखेर आफूले योजना बनाएको उनको भनाइ छ । 

गाउँ कार्यपालिकामा विभिन्न राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिका कारण सुरुमा काम गर्न असहज भए पनि बिस्तारै सहज हुँदै गएको उनले बताए । उनले भने, ‘ निर्वाचित भएपछि राजनीतिक दलको प्रतिनिधिभन्दा पनि जनप्रतिनिधि भएर काम गरिरहेका छौँ ।’