close

६६ का प्रचण्डको चुनौती : १०० कटेका टीकादत्त र २९ टेकेका मियाँ ! (भिडियोसहित)

वृद्ध र युवा नेताको भिडन्तले रोचक बन्दै निर्वाचन

६६ का प्रचण्डको चुनौती : १०० कटेका टीकादत्त र २९ टेकेका मियाँ ! (भिडियोसहित)

वृद्ध र युवा नेताको भिडन्तले रोचक बन्दै निर्वाचन

Trulli
ADVERTISEMENT

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा दल र स्वतन्त्र उम्मेदवारको ताँती लागेको छ । त्यसमध्ये कतिपय चर्चामा छन् भने कतिपयले गुमनाम रहेर नै मंसिर ४ कटाउनेछन् । भनिन्छ, राजनीति गर्न उमेर बाधक बन्दैन ।

गोरखा–२ मा पनि यस्तै अवस्था छ । स्थानीय तह निर्वाचनको मतमा भर परेर चितवन छाडेर गोरखा–२ आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अहिले पाका र युवा उम्मेदवारको जोडीलाई पाखा लगाउनु पर्ने चुनौती छ । 

कुनैबेला बाबुराम भट्टराईको यो क्षेत्रलाई सहज मानेर प्रचण्ड चितवनबाट गोर्खा उक्लिएका हुन् ।  तर, त्यहाँ उनको जम्काभेट हालसालै १०० वर्षमा टेकेका नेपाली कांग्रेस विपीका टिकादत्त पोखरेल र नेकपा एमालेका सबैभन्दा कान्छा उम्मेदवार २९ वर्षीय अब्दुस सलाम मियाँसँग हुँदैछ । 

प्रचण्डलाई गोरखाबाट जित्न नदिन पोखरेल आफ्नो जन्मदिनका दिन उम्मेदवारी निस्क्रिय गर्दै मियाँलाई सघाउने वचन दिएका छन् । उनले सिरानचोक गाउँपालिका–४ छोप्राकको माझगाउँबेसीस्थित पुख्र्याैली घरमा परिवारसहित गत सातामात्रै आफन्त र छरछिमेक भेला गरेर सयौँ जन्मदिन मनाएका थिए ।

प्रचण्डविरुद्ध उम्मेदवारी दिँदा ९९ वर्ष पुगेका पोखरेल आसन्न प्रतिनिधिसभामा उठेका सबैभन्दा पाका उम्मेदवार पनि हुन् । 

प्रचण्डविरुद्ध आगो ओकेलेर गोरखाका जनतालाई प्रभाव पारिरहेका युवा उम्मेदवार मियाँलाई आफूभन्दा ७१ वर्षीय पाका नेताको सहयोगले झन् जोसिलो बनाएको छ । 

प्रचण्ड जन्मिनुभन्दा अगाडि अर्थात् २००४ सालमै नेपाली सेनाको जागिर छाडेर राणा शासनविरुद्ध आन्दोलनमा होमिएका पोखरेलको गोरखा बेग्लै साख छ । उमेरका आधारमा प्रचण्डका एक प्रतिद्वन्द्वी उनीभन्दा ३४ वर्ष जेठा छन् भने प्रमुख प्रतिस्पर्धी ३७ वर्ष कान्छा छन् । 

उता आसन्न प्रतिनिधि सभा निर्वाचनमा जति पाका नेताको उम्मेदवारी परेको छ, त्यति नै युवारु पनि चुनावी मैदानमा देखिएका छन् । 
तनहुँ १ बाट नेपाली काँग्रेसका ७८ वर्षिय वयोवृद्ध नेता रामचन्द्र पौडेल चुनावी मैदानमा ओर्लिएका छन् । 

डडेल्धुराबाट फेरि एक पटक चुनावी मैदानमा ओर्लिएका प्रधानमन्त्री शेरबहादुर देउवासमेत ७७ वर्षका छन् । 

यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७० वर्षका भइसकेका छन् । इलाम–१ बाट चुनाव लड्न लागेका नेकपा एकीकृत समाजवादीका सम्माननीय नेता झलनाथ खनाल ७२ का छन् । 

सत्तारुढ दलको बाम लोकतान्त्रिक गठबन्धनबाट बागलुङ–२ बाट चुनाव लड्दै गरेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ८० वर्ष पुगिसकेका छन् ।

यस्तै, कपिलवस्तु–३ मा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता ७७ वर्ष भए । निर्वाचन आयोगमा दर्ता भएको मितिलाई आधार मान्दा सर्लाही–२ मा माओवादीबाट उम्मेदवार बनेका महेन्द्रराय यादव ८५ वर्षका भइसकेका छन् । 

तर, उनको यो उमेर भने विवादमा छ । सप्तरी–१ मा जसपाका उम्मेदवार नवलकिशोर साह ७३, महोत्तरी–३ मा लोसपाका उम्मेदवार महन्थ ठाकुर ८० वर्षका भएका छन् । 

उता युवाहरुलाई राजनीतिमा आउन प्रेरित गरेको राष्ट्रिय स्वन्त्रत पार्टीले प्यूठानबाट ६४ वर्षका कृष्णप्रसाद पोखरेललाई उम्मेदवार बनाएको छ । 

यस्तै तेह्रथुमबाट राप्रपाका उम्मेदवार युवराज गौतम ८७ वर्षका भइसके । आसन्न निर्वाचनमा उम्मेदवारी दिने वृद्ध उम्मेदवारको गन्ती योभन्दा निकै बढी छ । हुन त केही दलले युवा उम्मेदवारलाई चुनाव लड्ने अवसर दिएका छन् । 

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले मुस्ताङबाट २९ वर्षका योगेश गौचनलाई उम्मेदवार बनाएको छ । एमालेले गोरखा–२ बाट उठाएको मियाँ र गौचन नै राष्ट्रिय दलले चुनावी मैदानमा खडा गरेका सबैभन्दा कान्छा खेलाडी हुन् । 

लोसपाका दोलखाका उम्मेदवार गोपाल नेपाली अहिले २७ का मात्रै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी अखडामा उत्रिएका निरञ्जन कुसवाह, हिमेश पन्त र सुदेश गुरुङ २५ वर्षका मात्रै छन् । 

राप्रपाले ललितपुर–३ मा उम्मेदवार बनाएको सन्दीप आचार्यको उमेर पनि २७ वर्ष मात्रै छ । समग्रमा आसन्न निर्वाचन युवा र पाका उम्मेदवारको युद्ध बन्ने पक्का छ ।