close

जनप्रतिनिधि कार्यालयमा छन् कि छैनन् भनेर घरैबाट थाहा हुने

जनप्रतिनिधि कार्यालयमा छन् कि छैनन् भनेर घरैबाट थाहा हुने

Trulli
ADVERTISEMENT

सिन्धुली- सुनकोशी गाउँपालिकाका स्थानीयले अब घरमै बसेर जनप्रतिनिधि पालिका कार्यालयमा छन् की छैनन् भन्ने सूचना पाउने भएका छन् । गाउँपालिकाले जनप्रतिनिधि पालिकामा भएको नभएको जानकारी दिने मोबाइल एप्लिकेसन तयार गरेको छ । 

मोबाइल एप निर्माणको काम अन्तिम चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए । सो मोबाइल एप यही महिनाभित्र ‘लन्च’ हुनेगरी निर्माण भइरहेको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत दर्जीका अनुसार सो एपबाट नागरिक बडापत्र, गुनासो संकलन, जनप्रतिनिधि तथा कर्मचारी पालिकाको कार्यालयभित्र छन् कि छैनन् जस्ता जानकारी उपलब्ध हुन्छ । 

सो एप सञ्चालनमा आएपछि स्थानीयले पालिकाको वेबसाइटमा नगइ मोबाइल एपबाट नै गाउँपालिकाको सम्पूर्ण जानकारी पाउन सक्ने उनले बताए । उनले भने, "गाउँपालिकाको शाखागत रुपमा प्रदान गर्ने सेवा, आवश्यक डाटा तथा कागजातहरू, विवरण, दस्तुर आदिको विषयमा एपबाटै जानकारी लिन सक्छन् । स्थानीयका गुनासा, समस्या र सुझाव पनि स्थानीयले एममार्फत राख्न सक्नुहुन्छ । हाम्रो कन्ट्रोल रुमले गुनासो र समस्याको जानकारी राख्छ ।" स्थानीयका गुनासो सुन्दै पालिकाको सेवालाई पारदर्शी बनाउन मोबाइल एपले सहयोग पुर्‍याउने उनको विश्वास छ ।  

करिब ४ लाखको लागतमा निर्माण गर्न लागिएको गाउँपालिकाको मोबाइल एप्लिकेसनको करिब २ महिनादेखि निर्माण काम भइरहेको उनले जानकारी दिए । शाखागत सुझाव लिएर एपमा आवश्यक डाटा थप्ने काम भइरहेको र डेभलपरले एप पूर्णरुपमा तयार गरेपछि पालिका अध्यक्षसहित जनप्रतिनिधि र कर्मचारी बसेर रुजु गर्ने उनले सुनाए । 

उनले भने, "एप लन्च भइसकेपछि पालिका अध्यक्ष र उपाध्यक्षले गाउँपालिकाको एपको बारेमा दिएको शन्देशमुलक जानकारीसहितको भिडियो बनाएर व्यापक प्रचारप्रसार गछौँ ।"

यसअघि पालिका कार्यालयमा गुनासो सुन्ने रजिष्टर खडा गरिएको तर गुनासो रजिष्टारले सबै स्थानीयलाई समेट्न नसकेको प्रमुख प्रशासकीय अधिकृत दर्जीले बताए । गुनासो टिपाउन पालिका कार्यालयमा नै पुग्नुपर्ने बाध्यता भएका कारण पालिका केन्द्र आसपासका सेवाग्राही मात्र लाभान्वित भएकाले सबैलाई सहज हुने उपायको खोजी गरेको उनले बताए ।

"त्यो समयमा गुनासो रजिष्टरमार्फत स्थानीयले बाँदर धपाउने बन्दुकको माग गर्नुभएको थियो । ३ जनालाई बाँदर धपाउने बन्दुक वितरण गर्‍यौँ । त्यसपछि अरु स्थानीयले पनि पहिलेका स्थानीयले जस्तै बन्दुककै माग गर्न थाल्नुभयो । हामी १५/२० वटा बन्दुक वितरण गर्‍यौँ," उनले पालिकाखरबसँग भने ।

सबै स्थानीयको समस्याको विषयमा जानकारी भएमा पालिकालाई आवश्यक योजना र नीति बनाउन सहज हुने भएकाले एप बनाउने सोच आएको उनले सुनाए । उनले थपे, "स्थानीयको सानो सानो समस्याको बारेमा पालिकालाई थाहा हुँदैन । कर्मचारी त बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र कार्यालयमा खटिने हुन् । टोलटोलका समस्या थाहा हुँदैनन् । अब उहाँहरूले घरबाट सजिलै गुनासो गर्न सक्ने एप बनाउने योजना छ ।"

मोबाइल एप्लिकेसन सञ्चालनमा आएपछि स्मार्ट मोबाइल फोनको प्रयोगकर्ताको हातहातमा पालिकाको खबर पुग्ने उनले बताए । उनका अनुसार हरेक घर परिवारमा मोबाइल रहेकाले सो एपबाट सबै स्थानीय लाभान्वित हुनेछन् । पालिका बाहिर रहेर पनि सुशासनको पक्षमा खबरदारी गर्ने स्थानीयले विदेशमा बसेर समेत पालिकाको सेवाप्रवाहका विषयमा सुझाव दिन सक्ने उनले बताए । 

"मानिसहरू पालिकाको वेबसाइटमा गएर आवश्यक जानकारी हेर्दैनन् । मोबाइल एपको प्रयोग भयो भने सजिलो हुन्छ," उनले भने ।