close

१९ वर्ष देशलाई, बाँकी जीवन खेतलाई

१९ वर्ष देशलाई, बाँकी जीवन खेतलाई

Trulli
ADVERTISEMENT

उदयपुर– १९ वर्षदेखि सक्रिय राजनीति गर्दै आएकी अरुणादेवी राईको दैनिकी हिजोआज फेरिएको छ । गफिने पेसा राजनीतिलाई एकातिर राखेर राई कृषि कर्ममा होमिएकी छन् ।

 

लामो समय खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको राजनीति गर्दै आएकी राई अहिले नेकपा प्रदेश कमिटी सदस्य हुन् । राजनीति र कृषि कर्मलाई सँगै लैजान आधुनिक प्रविधिको ड्रागन फ्रुट खेतीमा हाम फालेको राई सुनाउँछिन् ।

 

मदन भण्डारी लोकमार्ग नजिकै चार वर्षदेखि एक बिघामा ड्रागन फ्रुटको खेती थालेकी उनले यो नेपालमा नौलो भएको बताउँछिन् । बसाहामा उनको फार्म फैलिँदो छ । ड्रागन खेती पानी नजम्ने र प्रशस्त पानी भएको ठाउँमा गर्न सकिन्छ ।

 

चौदण्डीगढी नगरपालिका–४ वर्षेडाँडा थुलुङटोलकी राईले यस वर्षदेखि ड्रागन फ्रुटको खेतीबाट आम्दानी हुन थालेको बताइन् । ‘ड्रागन फ्रुट मानव स्वास्थ्यका लागि उत्तम मानिन्छ । यसमा भिटामिन, खनिज, मिनरललगायतका औषधीय गुण हुन्छन् । उत्पादित फ्रुट बेच्न गाउँघर चहार्नु पर्दैन । किन्ने मान्छे आफैं आउँछन्’, राईले भनिन् ।

 

ड्रागन फ्रुटको बिरुवा चार वर्षपहिले काठमाडांैस्थित गोरखा ब्रिटिस सेनाको संस्था गोरखा मिलिनियमबाट प्रतिगोटा तीन सयका दरले किनेर ल्याएको उनले जानकारी दिइन् । तिनै बिरुवाले अहिले आम्दानी दिन थालेका हुन् ।

 

राईले एक बिघामा ड्रागन फ्रुटसँगै एभोकाडो, अंगुर, लिची, अम्बालगायत फलपूmल उत्पादन गरिरहेकी छन् । ‘ड्रागन फ्रुटको खेतीबाट उत्पादित दाना र बिरुवा बिक्री गरेर यो वर्ष करिब तीन लाख रुपैयाँ आम्दानी भयो’, राईले भनिन्, ‘ड्रागन फ्रुट खेती गर्न चाहनेलाई आप्mनै नर्सरीबाट प्रतिगोटा दुई सय रुपैयाँका बिरुवा बिक्री गर्दै आएकी छु ।’

 

एक पटक लगाएपछि लगातार २० वर्षसम्म फल दिने भएकाले यसको खेती गर्नु धन र स्वास्थ्य दुवैका लागि लाभदायक भएको राईको बुझाइ छ ।


‘यसलाई धेरै स्याहारसुसार चाहिन्छ । ड्रागन फ्रुट उत्पादन गर्न सके बजारमा यसको माग अधिक छ । अहिले मागअनुसार उत्पादन हुन सकेको छैन । भविष्यमा उत्पादन बढाउने लक्ष्य छ’, राईले भनिन् ।

 

उत्पादित रातो बोक्रा भएको ड्रागन फ्रुट घरमै प्रतिकिलोग्राम ६ सय रुपैयाँमा बिक्री हुने गरेको छ । ड्रागन फ्रुट किन्न धरान, विराटनगरलगायतका सहरबाट मान्छे आउने गरेका छन् ।

 

ड्रागन खेती गर्दै आएकी राईलाई पनि कतिपयले सिउँडी किन लगाउनुभएको भनेर प्रश्न गर्छन् । ‘यो सिउँडी प्रजाति भए पनि सिउँडी होइन, यो विश्वकै राम्रो फल हो भनेर बुझाउँछु,’ उनले भनिन् ।


खेती विस्तारका लागि सरकारले ऋणको व्यवस्था गरिदिए यसबाट आर्थिक समृद्धि भित्र्याउन विदेश पस्नु नपर्ने उनको तर्क छ ।

 

राजनीतिलाई हेर्ने सवालमा आफनो कृषि कर्मलाई एउटा क्रमभंगता मान्छिन् उनी । ‘राजनीति स्थायी व्यवसाय होइन, यो एउटा कालखण्डसम्म गर्ने सेवा हो’, उनी भन्छिन्, ‘राजनीति समाज सेवा हो, जुन निःस्वार्थ र निःशुल्क गरिन्छ ।’

 

देश राजनीति गर्नेहरूले बिगारे भन्ने जनतामा रहेको वितृष्णा हटाउन पनि आपूm कृषि कर्ममा  लागेको उनले दाबी गरिन् । ‘रोजगारीका लागि लाखौं युवा विदेश गएका छन् । राजनीति गरेकाले सबै बिगारे भन्ने जनताको गुनासो हटाउन ड्रागन फ्रुट खेतीलाई अपनाएकी हुँ’, राईले भनिन् ।

 

बसाहामा अरुणाले गरेको ड्रागन खेतीको अध्ययन भइरहेको चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख खगेन्द्र राईले बताए । ‘यो नयाँ र नौलो खेती रहेछ । यसलाई विस्तार गर्न सके स्थानीय किसानलाई समृद्धिसँग जोड्न सकिने आश छ’, नगरप्रमुख राईले भने ।

 

ड्रागन फ्रुट फलफूलमध्येकै राजा भएको ड्रागन फ्रुट विज्ञ एवं नेपालमा यसको पहिलो खेती सुरु गर्ने डा. जगन्नाथ राईले जानकारी दिए । सरकारी स्तरबाटै अभियानको रुपमा ड्रागन खेतीलाई विस्तार गरिए रोजगारीका लागि विदेश पलायन हुने युवालाई स्वदेशमै आत्मनिर्भर गराउन सकिने उनको दाबी छ ।

 

‘समुद्री सतहदेखि चार हजार पाँच सय फिट उचाइसम्मको हावापानी र जस्तोसुकै माटोमा पनि सहजै फलाउन सकिने भएकाले मुलुकको बेरोजगारी समस्या समाधान हुन सक्थ्यो । यसले गरिबी निवारणमा पनि सघाउँथ्यो’, डा. राईले भने ।

 

सिउँडी प्रजातिमा पर्ने ड्रागन फ्रुट तीन किसिमका हुने उनको भनाइ छ । गुणस्तरका हिसाबले रातो बोक्रा र त्यसभित्र सेतो गुदीमा तिल दानाजस्तो  भएकोलाई अति उत्कृष्ट, रातो बोक्रा र भित्रको गुदी पनि रातै भएको उत्कृष्ट र पहेंलो बोक्रा र भित्र कालो गुदी भएको तेस्रो श्रेणीको हुन्छ ।

 

नेपालमा पाइने सबै पहिलो श्रेणीकै भएकाले ड्रागन फ्रुटको खेतीमा सरकारी लगानी बढाउन आवश्यक रहेको डा. राई सुनाउँछन् । ड्रागन फ्रुटबाट विभिन्न १३ किसिमका फलपूmलमा पाउन सकिने मिनरलसहित क्यान्सर प्रतिरोधात्मक  क्षमता पनि हुने डा. राईको दाबी छ । यो फल थाइल्यान्ड, मलेसिया, भियतनाम र इजरायलमा लोकप्रिय छ ।

 

तर, नेपालमा उतिसारो प्रचलनमा नल्याइए पनि पछिल्लो समय मुलुकका विभिन्न जिल्लामा यसको व्यावसायिक खेतीप्रति किसानको आकर्षण बढ्दै गएको ड्रागन फ्रुट विज्ञ डा. राईले बताए ।

 

नेपालमा पहिलो पटक खोटाङका डा. जेएन (जगन्नाथ) राईले ड्रागन फ्रुट भित्र्याएका थिए । उनले सन् २००२ मा भियतनामबाट ड्रागन फ्रुट भित्र्याएको बताइन्छ ।

 

उष्णप्रदेशीय फल मानिने यो सिउँडी प्रजातिको भएकाले सिउँडी हुने ठाउँमा बढी खेती गर्न सकिने डा. राई बताउँछन् । ‘यसको मूल खेती दक्षिण अमेरिकाको मेक्सिकोमा हुने भए पनि नेपालमा भने भियतनामबाट भित्रिएको हो’, डा. राई भन्छन् ।