close

संरक्षण अभावमा ओझेलमा छ पुरातात्विक मैनामैनीधाम

संरक्षण अभावमा ओझेलमा छ पुरातात्विक मैनामैनीधाम

Trulli
ADVERTISEMENT

उदयपुर¬ उदयपुरको बेलका नगरपालिका– ७ स्थित सप्तकोसी नदी किरानाको भीरमा अवस्थित मैनामैनीधाम प्रचार–प्रसार अभावमा ओझेल परेको छ ।

 


पौराणिक, ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण रहे पनि पुरातात्विक धरोहर मैनामैनीधामको संरक्षण नहुँदा अलपत्र परेको हो । धार्मिक पर्यटनको समेत उत्तिकै संभावना बोकेको भए पनि सर्वसाधारणलाई त्यसबारे पर्याप्त जानकारी नहुँदा ओझेल पर्दै आएको हो ।

 


उदयपुरको बेलका नगरपालिका– ७ मा रहेको सप्तकोसी नदी किनारा नजिकैको मैनामैनी मन्दिरमा करिब २२ सय वर्ष पुरानो शिव पार्वतीको प्रस्तर मूर्ति र मन्दिर सम्बन्धित निकायले संरक्षण नगरिँदा जीर्णावस्थामा पुगेको छ ।


किराँती धर्मअनुसार पारुहाङ र सुम्निमा भन्ने गरिएका भगवान शिव र पार्वतीको  प्राचीन शिला र त्यस वरपर टुटफुटको अवस्थामा रहेका गणेश, कुमार, नन्दी, भृंगीलगायत शिव गणहरूका अनेकौं प्रस्तर मूर्तिहरूको उत्खनन् र संरक्षण नगरिँदा मैनामैनीको पुरातात्विक महत्वका अन्य अमूल्य वस्तु नष्ट हुँदै गएको मैनामैनी मन्दिरका स्थानीय पुजारी रामप्रसाद राई बताउँछन् ।


पुस्तांैदेखि मन्दिरमा पुजारी रहँदै आएका राईले  भने, ‘अहिलेसम्म थाहा भएअनुसार परिवारका सात पुस्ता मैनामैनीको पुजारी रहँदै आएका छौं । मन्दिर सञ्चालनका लागि सरकारी निकायबाट कुनै सहयोग नभएको र पूजा खर्चसमेत व्यक्तिगत रुपमा आपैंm जुटाउने गरेको छु ।’


अहिले बिरामी भएको र मन्दिर परिसरमा नुहाउने पानीसमेत नभएको गुनासो पुजारी राईको छ । ‘मन्दिर संरक्षण तथा प्रचार–प्रसार भएन । प्रचार नहुँदा सरकारको ध्यान गएन ।’


मैना राजारानीको सो मन्दिरको पुजारी परम्परागत प्रचलनअनुसार राई जातिको एउटै वंशबाट हुँदै आएको छ । त्यसमा पनि जेठो छोराको जेठै छोराबाट हुँदै आएको र आपूmभन्दा अगाडिका क्रमशः थामबहादुर, थयसिंह, राजवीर, मोहनसिंह, पूर्णसिंह र विचारीसमेत ६ पुस्तासम्मको नाम आपूmलाई थाहा भएको राई सुनाउँछन् । तर, त्यस अगाडिका पुजारीहरूको नाम भने थाहा नभएको उनको भनाइ छ ।

 

खर्च अभावमा मन्दिरको नियमित पूजाअर्चनासमेत कठिन हँुदै गएको र मन्दिरमा नेपालभर अन्त कतै देख्न नसकिने एक प्रकारको शिवलिंग अत्यन्तै कलात्मक शैलीमा कँुदिएकोे छ । अनुहारको केही भाग भने टुटफुटको अवस्थामा रहेको पार्वतीको उभिएको मूर्तिको अस्तित्व पनि संकटमा पर्दै गएको राईले बताए ।


उदयपुरको इतिहाससम्बन्धी अध्येता एवं वरिष्ठ पत्रकार कौशल चेम्जोङका अनुसार विसं १४०२ मा बंगालका नबाब राजा तुलतवंशी समसुद्दीन इलियासले काठमाडौं आक्रमण गर्न जाने क्रममा मैनामैनीको मन्दिर तोडफोड गरेको इतिहास रहेको छ । फुटेको मूर्तिमा हिन्दुहरूले पूजा गर्दैनन् भनी बाटोमा पर्ने मैनाराजारानीको मन्दिर तोडफोड गरी त्यहाँ रहेका बहुमूल्य रत्न लुटपाट लगेको किंवदन्ती छ ।


मैनामैनीको मन्दिर तोडफोडपछि काठमाडांै छिरेर त्यहाँ सात दिनसम्म बसी लुटपाट तथा आगजनी गरेको ऐतिहासिक प्रमाण रहेको छ ।

 

ईसं ३०० देखि ५०० को बीचमा कालिदासले रचना गरेको गुप्तकालीन साहित्यको कुमार सम्भवमा मैनामैनी क्षेत्रमा महादेव र पार्वतीको प्रणय स्थलको रुपमा वर्णन गरिएको छ । त्यसले पनि यो क्षेत्र ऐतिहासिक तथा धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ । रघुवंशका अनुसार मैनामैनी क्षेत्र किराँतीहरूको आदिम थलो रहेको उल्लेख छ ।

 

सप्तकोसीको भीरमा रहेको मैनामैनी मन्दिर बराह क्षेत्रको सीधै माथि पर्छ । उदयपुर, धनकुटा, भोजपुर, सुनसरीको संगम स्थल सप्तकोसीदेखि माथि रहेको छ । मैनामैनीमुनि सप्तकोसी किनारमा बराह क्षेत्र तथा चतराधाम छ ।


भौगोलिक हिसाबले दुर्गम क्षेत्र रहेकाले पनि त्यस क्षेत्रको विकास र प्रचार–प्रसार हुन नसकेको हो । गुरुयोजना निर्माण गरी यातायात र खानेपानीको सुविधा उपलब्ध गराउन सकिए देश–विदेशबाट धार्मिक पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् ।


पौराणिक मान्यताअनुसार भगवान विष्णुले बराह अवतार लिएको स्थान पनि मैनामैनी मन्दिर वरपर रहेको बताइन्छ ।


चेम्जोङका अनुसार पाँच सय वर्षअघि नेपाल एकीकरणको इतिहाससँग जोडिएको थलो पनि हो, मैनामैनी । मैनामैनीसम्म सडक विस्तारसहितका केही काम अघि बढाइएको बेलका नगरपालिका– ७ का वडाध्यक्ष सुरेन्द्रकुमार राई बताउँछन ।


हरेक वर्ष स्थानीय पहलमा शिवरात्रि, अक्षय तृतीयामा भजनकीर्तनसहित रुद्री गर्ने गरिएको छ ।


चतरास्थित सप्तकोसीको पुलदेखि १३ किलोमिटर कच्ची सडक प्रयोग गरी दुई घन्टाको मोटर यात्राबाट पुग्न सकिने ऐतिहासिक एवं धार्मिक रुपमा परिचित हुँदै गएको मैनामैनीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बेलका नगरपालिका काम सुरु गरिसकेको नगरप्रमुख दुर्गाकुमार थापाले जानकारी दिए ।


नगरप्रमुख थापाका अनुसार मैनामैनी हरेक हिसाबले महत्वपूर्ण भएकाले त्यसको विकासका लागि नगरपालिकाले विभिन्न योजना बनाएको छ । ‘बराह क्षेत्रबाट मैनामैनीसम्म केबुलकार निर्माण गर्न अध्ययन भइरहेको छ । चतरा–मैनामैनी हुँदै भोजपुर जोड्ने लोकमार्ग निर्माण भइरहेको छ । मैनामैनीलाई प्रदेशकै धार्मिक पर्यटनको गन्तव्य बनाउन प्रदेश तथा केन्द्र सरकारसँग कुरा गरिरहेका छौं,’ नगरप्रमुख थापाले भने ।


मैनामैनीको पुरानो मन्दिरको भग्नावशेष क्षेत्रको उत्खनन् गरी त्यसभित्र रहेका पुराना वस्तुहरूको अनुसन्धान गर्न र ऐतिहासिक मन्दिरको जीर्णाेद्धार गरी पुनर्जीवन दिन पटक–पटक पुरातत्व विभागमा गएर अनुरोध गर्दा पनि सुनुवाइ नभएको बेलका नगरपालिका–७ का वडाअध्यक्ष राईले बताए ।