close

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकको ल्यान्डफिल साइट हटाउन महानगरलाई ताकेता

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकको ल्यान्डफिल साइट हटाउन महानगरलाई ताकेता

Trulli
ADVERTISEMENT

कास्की- कास्कीको पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकोे ६५ प्रतिशतभन्दा बढी काम सकिएको छ । निरन्तर काम भए अबको एक वर्षभित्रै यहाँबाट अन्तर्राष्ट्रिय विमान आउजाउ गर्न सक्छन् । 


विमानस्थलको काम धमाधम भइरहे पनि त्यसको सहायक व्यवस्थापनमा सरकारको चासो अझै पुगेको छैन । अन्तर्राष्ट्रिय विमानस्थल संचालनको पहिलो शर्त छ- १४ नम्बर वडास्थित बाच्छेबुडुवामा रहेको ल्यान्डफिल साइट हटाउनुपर्ने । 

 

फोहोरको डंगुरमाथि चराचुरुंगी उड्ने र जहाजसँग ठोक्किने सम्भावना भएकाले एयरपोर्ट नजिक र जहाज उड्ने रुटमा ल्यान्डफिल राख्न मिल्दैन । एकातिर यसको आयु सकिएको छ भने अर्कातिर विमानस्थलकै कारण हटाउनै पर्ने बाध्यता छ । तर, पोखरा महानगर नयाँ ल्यान्डफिल साइटको खोजी र निर्माणमा गम्भीर बनेको छैन । 

 

१५ वर्षको आयु तोकेर २०६१ सालमा बनाइएको ल्यान्डफिल साइटमा अब फोहोर फाल्न मिल्दैन । ‘डिजाइनको हिसाबले आयु सकियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले विकल्प खोज्न परिपत्र गरिसकेको छ’, ल्यान्डफिल साइटका इन्चार्ज नेत्र तिमिल्सिना भन्छन्, ‘ट्रिटमेन्ट प्लान्टले काम गर्न छाडिसक्यो । एयरपोर्टका कारण मात्र होइन, प्राविधिक हिसाबले पनि अब नयाँ ठाउँ खोज्नै पर्छ ।’


निर्माणाधीन विमानस्थल आयोजनाले आउँदो डिसेम्बरसम्म ल्यान्डफिल साइट सार्न २०७६ भदौमा परिपत्र गरेको थियो । ‘एयरपोर्टबाट कम्तीमा १३ किलोमिटर पर ल्यान्डफिल साइट लैजान परिपत्र आएको छ । त्यति पर बनाउने ठाउँ पाउन कठिन छ’, उनले भने, ‘जनप्रतिनिधि आएकै दिनदेखि गम्भीर भएर जग्गा खोज्नुपर्ने हो । अहिलेसम्म देखिने गरी काम भएको छैन ।’

 

उनका अनुसार ल्यान्डफिल साइट व्यवस्थापन गर्न कम्तीमा डेढदेखि २०० रोपनी जग्गा चाहिन्छ । आईकाओको मापदण्डअनुसार करिव १० किलोमिटर नजिक ल्यान्डफिल साइट राख्न नपाइने व्यवस्था छ । 


पोखरा महानगरले ल्यान्डफिल साइट बनाउन आकाशको १३ किलोमिटर दूरीभित्र जमिन कतै नपाइने बताएको छ । कार्यपालिका बैठकले १३ नम्बर वडाका अध्यक्ष लेखबहादुर तामाङको संयोजकत्वमा पाँच सदस्यीय फोहोरमैला व्यवस्थापन समिति गठन गरेर ल्यान्डफिल साइटको खोजी गर्न लगाएको छ ।

 

समितिमा वडा नम्बर- १० का अध्यक्ष राजकुमार गुरुङ, वडा- ११ का अध्यक्ष मोहनप्रसाद बाँस्तोला, वडा- १५ का प्रकाश पौडेल, कार्यपालिका सदस्य राधिका योगी सदस्य छन् भने सरसफाइ शाखा प्रमुख कल्पना बराल सदस्यसचिव ।


समितिले तीन ठाउँमा जग्गा हेरेको संयोजक लामाले बताए । वडा- १९ र माछापुच्छ्रे गाउँपालिकाको सीमा, वडा- १९ र २५ को सीमा तथा वडा- ३३ भरतपोखरीमा जग्गा हेरिएको उनले जानकारी दिए ।

 

‘प्रारम्भिक चरणमा जग्गा हेर्ने काम भएको छ । हाम्रो चाहनाले  बनाएर भएन । प्राविधिकको राय चाहियो भनेर प्राधिकरणमा पत्र पठाएका छौँ’, उनले भने, ‘छठपछि प्राविधिक पठाउने भनेका छन् । उनीहरूले आएर ठाउँ हेरेपछि बल्ल जग्गाको छनोट हुन्छ ।’

 

अन्यत्रको अभ्यासलाई समेत अध्ययन गरेर कम फोहोर मात्र ल्यान्डफिल साइटमा लैजाने गरी डिजाइन गरिरहेको उनले जानकारी दिए । समयमा प्राविधिक नपठाएकै कारण ल्यान्डफिल साइट सार्न ढिलो भइरहेको उनको भनाइ छ ।

 

‘गल्ती महानगरको मात्र होइन, एयरपोर्टको पनि छ । समयमा प्राविधिक पठाइदिएको भए अहिले कराकर गर्नुपर्ने अवस्था आउँदैन थियो’, लामा भन्छन्, ‘एकले अर्कोलाई दोष दिनेभन्दा छिटो ल्यान्डफिल साइट सार्न दुवैले चासो दिनुपर्छ । पोखरा त्यसका लागि तयार छ ।’

 

पोखरामा नयाँ ल्यान्डफिल साइट बनाउँदा कम्तीमा एक अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ । यो रकमसमेत प्राधिकरण र सरकारसँग माग गरिएको छ । सबै वडामा महानगरले पत्राचार गरेर ल्यान्डफिल साइटका लागि सम्भावित जग्गा खोजी गर्न निर्देशन पठाएको छ । 

 

विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मी निर्माणको तीन महिनाअघि नै ल्यान्डफिल साइट सार्न आग्रह गरिएको बताउँछन् । ‘जुलाईमा काम सकिन्छ । यही वर्षभित्र सार्नू भनेर सुझाएका छौँ’, उनले भने, ‘मेयरसा'बले ठाउँ हेरिसकेको र तोकिएकै समयभित्र सार्ने वचन दिनुभएको छ ।’

 

ल्यान्डफिल सार्न तीन पटकसम्म आयोजनाले महानगरलाई पत्र पठाएको छ । बाच्छेबुडुवाको ल्यान्डफिल २०० रोपनीमा फैलिएको छ । 


चार वर्षअघि गरिएको एक सर्भेक्षणले पोखरामा उत्पादित फोहोरमध्ये ६८ प्रतिशत कुहिने भनी पहिचान गरेको थियो । सबै प्रकारका फोहोर अहिले ल्यान्डफिल साइटमै विसर्जन गर्ने गरिएको छ । यसले गर्दा ल्यान्डफिल साइटको आयु झनै कमजोर भएको विज्ञहरू बताउँछन् । 

 

खण्डखण्ड जमिन रहेको ल्यान्डफिल साइटमा एक तह फोहोर र एक तह माटो गरी पुरेर जमिन सम्याइएको छ । नयाँ विकल्पबारे निरन्तर छलफल गरिरहेको नगरप्रमुख मानबहादुर जीसी बताउँछन् ।


पोखरामा दैनिक डेढ सय टन फोहोर उत्पादन हुन्छ । वार्षिक हिसाब गर्दा महानगरबाट ३५ हजार टनभन्दा बढी फोहोर उत्पादन हुने आँकडा छ ।