close

तनहुँका जनप्रतिनिधि भन्छन्ः ‘यो दुर्भाग्यपूर्ण घटना हो’

तनहुँका जनप्रतिनिधि भन्छन्ः ‘यो दुर्भाग्यपूर्ण घटना हो’

Trulli
ADVERTISEMENT

तनहुँ- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते आमनिर्वाचनको मिति घोषणा गरेकी छन् । प्रधानमनन्त्री र राष्ट्रपतिको यस कदमप्रति विभिन्न क्षेत्रबाट प्रतिक्रिया आउने क्रम जारी छ ।


विभिन्न जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूले उक्त कदमको विरोध र समर्थन जारी राखेका छन् । तनहुँका स्थानीय तहमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित जनप्रतिनिधिले यस घटनाले आमनागरिकलाई निराश बनाएको बताएका छन् ।


देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले केही नेताको व्यक्तिगत स्वार्थका कारण जनताले चाहेको स्थिर सरकार र दिगो विकासको सपना पूरा हुन नपाएको दुखेसो गरे । उनले थपे, ‘जुन जोगी आए पनि कानै चिरेको भन्ने उखानलाई चरितार्थ गर्ने काम भएको छ ।’ 


स्थानीय, प्रदेश र संघीय सरकार एउटै माला भएकाले अब आफूहरूलाई काम गर्न अप्ठ्यारो पर्ने उनी बताउँछन् । यस कदमबाट हाल भइरहेको विकासको गतिमा बाधा आउने उनको बुझाइ छ ।


भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले इतिहासमा जनताले विकास गर्नलाई दुई तिहाइ मत दिएर पाँच वर्षसम्मलाई पठाएकामा बीचमै प्रतिनिधिसभा विघटन हुनु दुर्भाग्यपूर्ण रहेको बताए । 


‘स्थानीय सरकार संचालनार्थ पर्याप्त अधिकार दिइएको छैन । ऐन, कानुन संशोधन गर्दै अधिकार प्रदान गर्नुपर्ने बेला यसो नहुनुपर्ने हो’, उनले भने । नगरप्रमुख थापाले अब वैशाखमा हुने चुनावले स्थानीय तहको चौतर्फी विकासमा बाधा पुर्‍याउने उल्लेख गरे ।