close

कमलामाईकाे वडा कार्यालयमा स्थानीयले लगाए ताला

कमलामाईकाे वडा कार्यालयमा स्थानीयले लगाए ताला

Trulli
ADVERTISEMENT

सिन्धुली- यहाँको कमलामाई नगरपालिका वडा नं.- २ को वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन् । वडा अध्यक्ष नवराज थिङको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै स्थानीयले आइतबार ताला लगाएका हुन् ।


वडा अध्यक्ष थिङले दलीय प्रतिनिधि तथा भौगोलिक क्षेत्रका बासिन्दाको सल्लाहलाई बेवास्ता गर्दै आफूखुसी बजेट विनियोजन गरेको बन्दै तालाबन्दी गरिएको स्थानीयले बताएका छन् ।

 

स्थानीयले बागमती प्रदेशले निर्धारण गरेको बजेट हुँदाहुँदै कमलामाई नगरपालिकाको नगरकार्यपालिकाले छुट्याएको बजेटलाई साविकको अन्य वडालाई छाडेर वडा नम्बर- २ मा मात्र बजेट छुट्याएको भन्दै स्थानीयले ताला लगाएका हुन् ।


साविकका वडालाई बेवास्ता गरी साविक भद्रकाली गाउँ विकास समितिको वडा- २ मा मात्र बजेट विनियोजन गरिएको निर्णय गलत भएकाले त्यसलाई यथाशीघ्र सच्याई भूगोल तथा क्षेत्रलाई समेटिने गरी स्थानीय राजनीतिक दल, आम सर्वसाधारण नागरिकको उपस्थितिमा योजनाबारे छलफल गर्न र बजेट विनियोजन गर्न स्थानीयले माग गरेका छन् ।


यता, वडा अध्यक्ष थिङले भने विनाकारण वडा कार्यालयमा ताला लगाएको बताए । ताला लगाउनुको कारण बुझेर समस्या समाधान गर्न चाँडै नै सम्बन्धित पक्षहरूसँग छलफल गरिने उनको भनाइ छ ।