close

पोखरा महानगरले थाल्यो राष्ट्रिय परिचयपत्र तथ्यांक संकलन

पोखरा महानगरले थाल्यो राष्ट्रिय परिचयपत्र तथ्यांक संकलन

Trulli
ADVERTISEMENT

कास्की- कास्कीको पोखरा महानगरमा राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन सुरु भएको छ । बुधबार पोखराको ५ नम्बर वडाबाट तथ्यांक संकलन थालिएको हो । वडा नम्बर ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाको तथ्यांक संकलन गरेर कार्यक्रम सुरु गरिएको थियो ।

 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट खटिएको टोलीले विवरण दर्ताका लागि वडा कार्यालयमै कम्प्युटरलगायत आवश्यक उपकरणसहित काम थालेको परिचयपत्र रुजु अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।

 
वडा नम्बर ५ का वडाध्यक्ष बास्तोलाले नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिले आवश्यक विवरण भरेर राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सक्ने बताए ।

 

जनतालाई प्रदान गर्ने सेवा-सुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधानसहितको प्रणालीको विकास गर्ने, जैविक पहिचानसहितको बहुपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्यांक भण्डारणमा समाविष्ट गर्न लागिएको हो । 


‘लाइसेन्स, प्यान कार्ड, विवाह दर्ता अब बोक्नु पर्दैन,’ उनले भने, ‘अब पाइने राष्ट्रिय परिचयपत्रमा यी सबै परिचयपत्रमा उल्लेख गरिएका सबै विवरण हुन्छन् ।’

 

१ देखि ५ नम्बर वडासम्मको काम बुधबारदेखि सुरु भएको छ । यो टोलीले १ साताभित्र यी वडाको काम सकेर अरू वडामा जानेछ । महानगर प्रमुख मानबहादुर जिसीका अनुसार २ महिनाभित्र पोखराका सबै वडामा तथ्यांक संकलन गरिसक्ने लक्ष्य छ । 

 

‘२ महिनामा काम सकिन्छ । अपुग टोली थप्न भनेका छौँ’, उनले भने, ‘राष्ट्रिय परिचयपत्र डिजिटल हुन्छ । यसमा भएका विवरण रिडेबल मेसिनमार्फत हेर्न सकिन्छ ।’