close

फलफूलका बिरुवा बेचेरै बर्षेनि २५ लाखसम्म कमाइ (भिडियाे खबर)

फलफूलका बिरुवा बेचेरै बर्षेनि २५ लाखसम्म कमाइ (भिडियाे खबर)

ADVERTISEMENT

बैतडी- धेरै कृषकहरू तरकारी र फलफूल खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् भन्ने उदाहरण आजकल प्रशस्तै सुनिन्छन् । तर, बैतडीका केही कृषक भने फलफूलका बोट बिरुवा बेचेरै बर्सेनि लाखौँ रुपैयाँ आर्जन गर्छन् । 


दशरथचन्द नगरपालिका वडा नं.- १ स्थित सतबाँझमा रहेको सुख्खा फलफूल विकास केन्द्रले विगतदेखि नै बिरुवा उत्पादन गर्दै आएको थियो । अहिले २२ जना किसानले निजी नर्सरी संचालन गरेका छन्  । उनीहरू अहिले बर्सेनि कम्तीमा ५ लाखदेखि बढीमा २५ लाख रुपैयाँसम्मको आम्दानी बिरुवा बिक्रीबाटै गरिरहेका छन् ।


पहिले स्याउ, ओखर पर्याप्त मात्रामा फलाउने गरेको बैतडीको सुख्खा फलफूल विकास केन्द्रले अहिले बिरुवा बिक्री गर्दै आएको छ । हिउँदे र बर्षे फलफूलका बिरुवा उत्पादन गर्ने सुख्खा फलफूल विकास केन्द्रले केही दिनअघि मात्र तरकारी बिक्री गरेर ४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । केन्द्रले अहिले हिउँदे सिजनमा मात्र २८ लाख रुपैयाँ बराबरका बिरुवा उत्पादन गरी बिक्री गर्दै आएको छ ।  


सबै किसानले आफ्नो घरमा फलफूलका केही बिरुवा रोप्न भने चाहेका हुन्छन् । उनीहरू घरमै खानका लागि पनि बिरुवा रोप्ने गर्छन् भने कोही व्यावसायिक रूपमै फलफूल खेती गर्छन् । अहिले रोपेको फलफूलको एकै रूखबाट पनि भविष्यमा लाखौँ रुपैयाँ आर्जन गर्न सकिने भएकाले फलफूल खेतीलाई जागिरपछिको पेन्सनका रूपमा समेत लिइन्छ । 


बैतडीको दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा गरी अहिले २२ वटा निजी नर्सरीले फलफूलका बिरुवा उत्पादन गरी बिक्री गर्दै आएका छन् । उनीहरू सबैको गरी एक सिजनमा करिव २ करोड रुपैयाँका बिरुवा बेच्छन् । अहिले त स्थानीय तहहरूले पनि बिरुवा खरिद गरेर किसानलाई अनुदानमा वितरणसमेत गर्दै आएका छन् । 


फलफूलका बिरुवा उत्पादन गरी बिक्री गर्दै आएका बैतडीका कृषकले बर्सेनि लाखौँ रुपैयाँ यसै व्यवसायबाट आर्जन गरिरहेका छन् । यी कृषकले उत्पादन गरेका बिरुवा देशका सबैजसो जिल्लामा फैलिएका पाइन्छ । बिरुवा उत्पादन गरेर उनीहरूले आत्मसन्तुष्टि त कमाएकै छन् नै, साथै लाखौँ रकम पनि कमाइरहेका छन् ।