close

अन्नपूर्णको केन्द्र सार्न खिवाङबासीको माग 

अन्नपूर्णको केन्द्र सार्न खिवाङबासीको माग 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ खिवाङका बासिन्दाले निःशुल्क जग्गा दिने प्रतिबद्धतासहित हाल पोखरेबगरमा रहेको पालिकाको केन्द्र सार्न माग गरेका छन् । 


यसअघि गाउँपालिका स्तरमा खिवाङमा गाउँपालिकाको केन्द्र बनाउनुपर्ने आवाज उठाउँदै आएका उनीहरूले आइतबार जिल्ला जग्गा मूल्यांकन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारीलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । 


वडा सदस्य रवीन्द्र गर्बुजाको नेतृत्वमा आएको खिवाङ टोल विकास संस्थाले सोही वडामा पर्ने पोखरेबगरमा पालिकाको कार्यालय बनाउन आवश्यक उपयुक्त जग्गा नपाइएकाले खिवाङमा केन्द्र कायम गराउन ठाउँको अनुगमन र मूल्यांकन सिफारिस गरिदिन अनुरोध गरेका हुन् । 


अग्ला पहाडको खोच र कालीगण्डकी नदी कटानको उच्च जोखिममा रहेको, बेनी-जोमसोम कोरला सडकले साँघुरिएको तथा प्रसारण लाइनमुनि पर्ने पोखरेबगरमा गाउँपालिका स्थापना भएको ४ वर्षसम्म पनि जग्गा प्राप्त हुन नसकेकाले खिवाङमा केन्द्र सार्नुपर्ने र त्यसका लागि १ सय रोपनी सुरक्षित ठाउँको जग्गा निःशुल्क उपलब्ध गराउने उनीहरूको भनाइ छ । 


भविष्यमा गाउँपालिकाको महत्त्वलाई ध्यानमा नराखी राजनीतिकरणले गर्दा अहिलेसम्म पालिकाको पूर्वाधार निर्माण हुन नसकेको ठहर उनीहरूको छ । खिवाङबासीको प्रस्तावमा शिख र हिस्तानका बासिन्दाको पनि समर्थन रहेको वडा सदस्य गर्बुजाले दाबी गरे । 


खिवाङ र पोखरेबगर एउटै वडामा पर्छन् । नक्साको हिसाबले पोखरेबगर बीचमा पर्ने भए पनि पोखरेबगर–चित्रे सडक कालोपत्रे भएपछि खिवाङ पनि सुगम बन्ने स्थानीयको दाबी छ । पोखरेबगरमा घर भाडामा लिएर गाउँपालिकाको कार्यालय सञ्चालन गरिएको छ । 


शिखका बलबहादुर तिलिजाले ४ वर्षको अवधिमा घर भाडा तिर्ने पैसाले पालिकाको पूर्वाधार बनिसक्ने बताए । कार्यालय सञ्चालनका लागि घरभाडाबापत मासिक १ लाख रुपैयाँ हाराहारी खर्च हुन्छ । 


हाल उपचारका लागि भारतमा रहेका गाउँपालिका अध्यक्ष डमबहादुर पुनले पनि पोखरेबगरमा पर्याप्त र उपयुक्त जग्गा नभएकाले केन्द्र सार्नुपर्ने धारणा सार्वजनिक कार्यक्रममै राख्न थालेका छन् । 


केही समयअघि बाबियाचौरमा भएको जिल्लास्तरीय समन्वय बैठकमा अध्यक्ष पुनले बहुमतको बलमा अनुपयुक्त ठाउँमा पालिकाको केन्द्र बनाउन बाध्य भएको भन्दै दुखेसो पोखेका थिए । 

 

जनप्रतिनिधिले नै पोखरेबगरको विकल्प खोज्न थालेपछि अन्नपूर्णको आउने गाउँसभामा केन्द्र विवादले प्रवेश पाउने देखिएको छ । अधिकांश जनप्रतिनिधि भने पोखरेबगरमै केन्द्र हुनुपर्ने अडानमा छन् ।