close

मादी गाउँपालिका कार्यालय बेतेनीमा सार्ने प्रस्ताव

मादी गाउँपालिका कार्यालय बेतेनीमा सार्ने प्रस्ताव

Trulli
ADVERTISEMENT

कास्की– कास्कीको मादीगाउँपालिकाको कार्यालय सार्ने तयारी गरिएको छ । अहिले सञ्चालनमा रहेको याङजाकोटबाट बेतेनीमा सार्ने तयारी थालिएको हो ।


गाउँसभाले ४ वटा विकल्पसहित प्रदेश सरकारलाई सिफारिस पठाएको थियो । प्रदेश सरकारले मन्त्रिपरिषद्बाट निर्णय गराएर बेतेनीमा कार्यालय सार्न उपयुक्त हुने सिफारिस संघमा पठाएको छ ।

 

गाउँसभाले पहिलो विकल्पको रूपमा प्रस्ताव गरेको बेतेनीमा गाउँपालिका कार्यालय सार्न सकिने सिफारिस गरिएको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । ‘स्थानीय सरकारले सिफारिस गरेकै नाम संघमा पठाइएको हो’, उनले भने, ‘पालिकाबाट प्राथमिकताका आधारमा आएको नामबाट पहिलो नामलाई प्रदेशले छनोट गरेको हो ।’ 


अघिल्लो वर्ष पुसमा भएको गाउँसभाले वडा नम्बर ४ र ५ को सिमानामा पर्ने बेतेनीमा गाउँपालिका कार्यालय राख्न उपयुक्त हुने ठहर गरेको थियो । विरोध भएपछि विकल्पमा अरू ३ वटा नामसमेत समेटिएको थियो ।

 

हाल कार्यालय रहेको याङजाकोट, नजिकै रहेको देउरालीलाई पनि प्रस्ताव गरिएको थियो । बेतेनीमा कार्यालय सार्ने निर्णयमा बहुमत नपुगेपछि अरू नाम विकल्पको रूपमा पठाइएको पालिकाका प्रवक्ता लालबहादुर गुरुङले बताए । 


‘सकेसम्म अहिले नसारौँ भनेको हो । सार्नैपरे साझा बेतेनी उपयुक्त हुन्छ’, उनले भने, ‘केहीले विरोध गरिरहे पनि सबैलाई पायक पर्ने ठाउँ हो । मध्यपहाडी लोकमार्ग पनि यही पर्छ ।’ 


गाउँपालिका उपाध्यक्ष विष्णु पौडेल र पूर्वमन्त्री खगराज अधिकारीलगायतले तारकाङ सार्न जोड गरेका थिए । कांग्रेसका अधिकांशले याङजाकोटमै राख्नुपर्ने प्रस्ताव गरेका छन् । अहिले प्रचण्ड–माधव समूह र कांग्रेसले पहिलो प्राथमिकता साझा बेतेनीलाई बनाएका छन् । 


सबैको समर्थन कुनै पनि ठाउँमा नभएपछि छैटौँ गाउँसभाले पहिलो प्राथमिकतामा साझा बेतेनी, दोस्रोमा देउराली, तेस्रोमा तारकाङ र अहिलेको कार्यालय भएको ठाउँ याङजाकोटलाई अन्तिम विकल्पको रूपमा प्रस्ताव गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए ।