close

मादीकाे मुकाम सार्ने प्रस्तावकाे विराेधमा असन्तुष्ट पक्षले गरे ताेडफाेड

मादीकाे मुकाम सार्ने प्रस्तावकाे विराेधमा असन्तुष्ट पक्षले गरे ताेडफाेड

Trulli
ADVERTISEMENT

कास्की- कास्कीको मादी गाउँपालिकाले हालको कार्यालय सार्ने प्रस्ताव गरेसँगै त्यसको विरोधमा असन्तुष्ट पक्षले पालिका कार्यालयमा तालाबन्दी गरेको छ । हाल याङजाकोटमा गाउँपालिकाको कार्यालय छ । 

 

याङजाकोटमा रहेको कार्यालयलाई बेतेनीमा सार्ने तयारी गरिएको हो । ४ वटा विकल्पसहितको प्रस्ताव गाउँपालिकाले प्रदेश सरकारसमक्ष पठाएकामा प्रदेश मन्त्रिपरिषद् बैठकले बेतेनीलाई उपयुक्त ठहर गर्दै संघीय सरकारलाई सिफारिस गरेको थियो ।

 

याङजाकोटका नागरिकले कार्यालय सार्न नहुने माग राखेका छन् । राजनीतिक सहमतिविपरीत पालिका कार्यालय सार्न लागेको उनीहरूको आरोप छ । 

 

गाउँपालिकाका प्रवक्ता लालबहादुर गुरुङले याङजाकोटका स्थानीयको मात्रै विरोध भएको बताए । ‘माइतमा बसिरहेकी छोरी अन्माउनुपर्दा केही असहज भइहाल्छ नि’, उनले भने, ‘याङजाकोटका साथीहरूलाई त्यहीँ भएको हो । प्रदेश सरकारले गरेको निर्णय ठीक छ ।’ उनले तालाबन्दीबाट सेवाग्रहीले सास्ती पाउने हुँदा अरू उपायमार्फत समाधान खोज्न असन्तुष्ट पक्षलाई आग्रह गरे ।

 

गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले कार्यालयमा तोडफोड गरिएको बताए । ‘जे भेट्छन्, त्यही फुटाएका छन् । गेट तोडिसके’, उनले भने, ‘असन्तुष्टहरूको नेतृत्व गर्ने कोही छैन ।’ कार्यालयलाई थप तोडफोड हुनबाट बचाउन प्रहरी बोलाएको उनले जानकारी दिए ।‘जिल्लामा कुरा गरेर प्रहरी बोलाएका छौँ’, उनले भने । 


कांग्रेसका केही नेता र संघर्ष समितिले पालिका कार्यालयमा ताला लगाएको अध्यक्ष गुरुङको दाबी छ । छैटौँ गाउँसभाले मादीको केन्द्र वडा नम्बर ४ र ५ को मादी करिडोर छेउ पर्ने बेतेनीमा सार्ने निर्णय गरेको थियो । 

 

यसबाहेक वडा नम्बर ३ स्थित याङजाकोट, देउराली र तारकाङ पनि सिफारिस गरिएको थियो । पालिका अध्यक्षले सहमतिविपरीत केन्द्र सार्ने प्रस्ताव पठाएकाले विरोध गरिएको संघर्ष समितिका संयोजक नारायण गुरुङले बताए ।

 

गाउँपालिका केन्द्र सार्ने निर्णयको विरोधमा असन्तुष्ट पक्षले सर्वोच्च अदालतमा मुद्दासमेत दर्ता गराएको छ । गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई विपक्षी बनाएर मुद्दा दर्ता गरिएको हो । तालाबन्दी भए पनि दैनिक काम भने नरोकिने अध्यक्ष गुरुङले जानकारी दिए ।