close

व्यास नगरको ३४ औँ नगरसभा : एउटा वडा थप र ३ वटा वडाको सीमांकन हेरफेरको निर्णय

व्यास नगरको ३४ औँ नगरसभा : एउटा वडा थप र ३ वटा वडाको सीमांकन हेरफेरको निर्णय

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको व्यास नगरपालिकामा अब एउटा वडा थपिने भएको छ । मंगलबार र बुधबार २ दिनसम्म चलेको ३४ औँ नगरसभाले वडा नम्बर ६ लाई टुक्र्याएर दुईटा बनाउने प्रस्ताव पारित गरेको हो । हाल व्यासमा १४ वडा छन् ।


वडा नम्बर ६ लाई विभाजन गर्ने र ३ वटा वडाको सीमांकन हेरफेर गर्ने प्रस्ताव नगरसभामा सर्वसम्मत पारित भएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । स्थानीय तहको पुनर्संरचना हुँदा साविकको स्याम्घा गाविसलाई वडा नम्बर ६ बनाइएको थियो ।

 

अब साविक स्याम्घाको वडा नम्बर १, २, ३ र ४ लाई एउटा वडा बनाउने र त्यसको केन्द्र सिसाघाटमा राखिने न्यौपानेले बताए । उनका अनुसार वडा नम्बर ५, ६, ७, ८ र ९ लाई अर्को वडा बनाई केन्द्र श्याम्घाहटियामा राख्न प्रदेश हुँदै संघीय सरकारसमक्ष नगरसभाले पारित गरेको प्रस्ताव पठाइनेछ ।


यस्तै वडा नम्बर ८ को कोटथोक गाउँलाई ७ नम्बर वडामा, ९ को छाप गाउँलाई ११ मा र ११ को पातल गाउँलाई ९ मा गाभ्ने निर्णय भएको छ । 

 

यसअघि नै नगरपालिकाले उपप्रमुख मीरा जोशीको संयोजकत्वमा वडा सिमाना हेरफेर गर्न समिति गठन गरेको थियो । समितिको प्रतिवेदन र सर्वदलीय बैठकको निर्णयबमोजिम नगरपालिकाको आन्तरिक सिमाना हेरफेर तथा वडा विस्तारको निर्णय गरिएको न्यौपानेले बताए ।


‘जनताको मागबमोजिम वडा विभाजन र सीमांकन हेरफेर गर्ने निर्णय भएको हो’, उनले भने, ‘विभाजन गर्न लागेको वडा ठूलो थियो । वडाको केन्द्र टाढा परेका गाउँलाई नजिक केन्द्र भएको वडामा गाभिएको छ ।’


छिमेकी पालिकाका वडाका केही भागलाई व्यास नगरपालिकामा समावेश गर्न सम्बन्धित स्थानीय तहमा प्रस्ताव पठाउने निर्णयसमेत भएको छ । भानु नगरपालिकाको वडा नम्बर १३ टुटेपानीलाई व्यासको वडा नम्बर ८ मा, बन्दीपुर गाउँपालिकाको वडा नम्बर ३ को तानुङयताका २ गाउँलाई व्यासको वडा नम्बर १४ मा र भानु नगरपालिका वडा नम्बर ६ मूलपानीका २ टोललाई व्यासको वडा नम्बर १२ मा समावेश गर्ने प्रस्ताव छ ।


स्थानीय सरकार सञ्चालन ऐनको दफा ५ र ६ अनुसार गाउँपालिका वा नगरपालिकाको वडा संख्या वा सिमाना हेरफेर गर्नुपरे त्यस्तो हेरफेरबाट प्रभावित हुने गाउँपालिका तथा नगरपालिकाको सभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाइ बहुमतबाट प्रस्ताव पारित गरी प्रदेश हुँदै केन्द्र सरकारमा पठाएपछि नेपाल सरकारले हेरफेर गर्न सक्ने प्रावधान छ । यो निर्वाचन हुने मितिभन्दा कम्तीमा १ वर्षअगावै गरिसक्नुपर्ने उल्लेख छ ।


नगरसभाले चालु आर्थिक वर्ष २०७७/७८ को संशोधित बजेट तथा कार्यक्रम १ अर्ब ५७ करोड २७ लाख १२ हजार रुपैयाँलाई यथावत राखी संशोधित आयमा संघीय सरकार तथा जिल्ला समन्वय समितिबाट प्राप्त हुने २ करोड २८ लाख १९ हजार रुपैयाँ थप गरी आन्तरिक आयमा उक्त बराबर घटाउने निर्णय भएको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

 

उनका अनुसार नगरसभाबाट चालू आर्थिक वर्षको संशोधित आर्थिक विधेयक, २०७७ र संशोधित विनियोजन विधेयक, २०७७ पारित भएको छ । 


लेखासमितिबाट पेस भएको आर्थिक वर्ष २०७५/७६ सम्मको बेरुजु तथा पेस्कीसम्बन्धी १० करोड ५० लाख ४७ हजार ७ सय ६० रुपैयाँको सम्परीक्षण गर्नुपर्ने प्रस्ताव नगरसभाले पारित गरेको छ ।

 

स्थानीय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर निर्धारण एवं अद्यावधिक गर्नलाई नगर कार्यपालिकाको अधिकार प्रत्यायोजन गर्ने निर्णय नगरसभाले गरेको छ ।