close

सर्वोच्चले रोक्यो फलेवासको केन्द्र परिवर्तन गर्ने निर्णय

सर्वोच्चले रोक्यो फलेवासको केन्द्र परिवर्तन गर्ने निर्णय

Trulli
ADVERTISEMENT

पर्वत- पर्वतको फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय तत्कालका लागि रोक्का गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

 

नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा र त्यसपछि फलेवास सिँचाइ आयोजनाको कार्यालयबाट सञ्चालन गरिँदै आएको नगरपालिकाको केन्द्र परिवर्तन गर्ने नगर कार्यपालिकाले गते पुसमा निर्णय गरेको थियो ।

 

नगर कार्यपालिकाको बैठकले अहिले सञ्चालनमा रहेको नगर कार्यपालिकाको कार्यालय फलेवासको वडा नम्बर ५ कै झकलकमा सार्ने निर्णय गरेको थियो ।

 

उक्त निर्णयविरुद्ध परेको रिटमा बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले उक्त निर्णयलाई रोक्का गर्न आदेश दिएको हो । नगर प्रमुखसहितको बैठकले स्थान परिवर्तनसहित प्रमुख प्रशासकीय भवन निर्माण गर्ने निर्णय गरेपछि उप-प्रमुख मञ्जु अधिकारीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

 

अहिलेको कार्यालय खानीगाउँकै पिप्लेमा रहेको फलेवास सिँचाइ आयोजनाको कार्यालयमा छ । नयाँ स्थानान्तरण हुने झकलक झन्डै एक किलोमिटरको दूरीमा रहेको छ ।

 

झकलकमा ६० दशमलव आठ रोपनी जग्गा उपलब्ध भएको छ । उक्त जग्गामध्ये अधिकांश स्थानीयले नगरपालिकालाई अनुदानस्वरूप दिएका हुन् । ३ रोपनी क्षेत्रफलमा रहेको सिँचाइको भवनमा कार्यालय सञ्चालन गर्न समस्या भएको र आफ्नो स्वामित्वमा नभएका कारण अन्य भौतिक पूर्वाधारसमेत थप गर्न कठिनाइ भएपछि नयाँ स्थानमा केन्द्र र प्रशासनिक भवन निर्माण गर्ने निर्णय भएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए । 

 

उनका अनुसार सर्वोच्चको आदेशसँगै तत्काललाई परिवर्तनको प्रक्रिया रोकिएको र नयाँ कार्ययोजनासहित अघि बढ्नेछ । नगरपालिकाको मुख्य प्रशासनिक भवन, विषयगत शाखाका भवनसहित बजार क्षेत्रको विस्तारलगायत पालिकाको केन्द्रका लागि आवश्यक पूर्वाधार झकलकमा निर्माण अघि बढाइने योजना थियो ।

 

मुख्य प्रशानिक भवन निर्माणको काम चालू आर्थिक वर्षभित्रै सुरु गरिने योजना कार्यपालिकाको थियो भने भवन निर्माणका लागि बोलपत्रसमेत आह्वान भइसकेको थियो । 

 

नगरपालिकाको केन्द्र साविकको ठाउँबाट अन्यत्र लैजाने निर्णयको कार्यालय वरिपरिका बासिन्दाले भने विरोध गरिरहेका थिए । उनीहरूले गत असारमा नगरपालिका घेराउ गर्दै भइराखेको स्थानमा कायम गर्न माग गरेका थिए ।

 

केन्द्र स्थानान्तरणको निर्णयमा नगर उप-प्रमुख मञ्जु अधिकारीले भने असहमति जनाउँदै आएकी थिइन् । उनले आवश्यक छलफल र तयारीबिनै सार्न लागिएको भन्दै निर्णयमा असहमति जनाएकी थिइन् ।