close

त्रिदेशीय सीमामा के गर्दै छ सशस्त्र प्रहरी ?

त्रिदेशीय सीमामा के गर्दै छ सशस्त्र प्रहरी ?

Trulli
ADVERTISEMENT

दार्चुला– नेपालले भारतबाट अतिक्रमित भूमि आफ्नो नक्सामा समेटेपछि सरकारले पहिलो पटक ३१ वैशाखमा व्यासमा सशस्त्र प्रहरी खटायो । सुरुमा सशस्त्र प्रहरी निरीक्षक लीली चन्दको कमान्डमा बोर्डर आउट पोस्ट स्थापना गर्‍यो ।

 

बीओपी स्थापना गरेको ६ महिनापछि गत ९ असोजमा सरकारले त्यो क्षेत्रमा सशस्त्र प्रहरीको गुल्म नै स्थापना गर्‍यो । त्यो गुल्मले व्यासको भारतले अतिक्रमण गरेको क्षेत्र कालापानीदेखि चीनको सीमा जोडिने पिलर नम्बर १ सम्म ड्युटी गरिरहेको छ । 

 

गुल्मअन्तर्गत व्यास गाउँपालिका वडा नम्बर २ को दुम्लिङ र वडा नम्बर १ को टिंकरमा बीओपी रहनेछन् । दुम्लिङमा बिओपी स्थापना भइसकेको छ भने टिंकरमा स्थापनाको तयारी छ । बिओपी निर्माणका लागि भवनको ठेक्का सम्झौता भएको छ । 

 

गुल्म स्थापनालगत्तै गुल्मका डिएसपी धीरेन्द्र शाह भारतले अतिक्रमण गरेको कालापानी नजिकै पुग्ने प्रयास गरे । काली नदीको मुहान र मन्दिर हेर्न गएका डिएसपी शाहको टोलीलाई ३ सय मिटरयतै भारतीय एसएसबीको टोलीले बाटो छेक्यो । तर, भेट सौहाद्र रूपमा भएको डिएसपी शाह बताउँछन् । 

 

टोलीले नेपाल प्रहरीसँगै चीनसँग सीमा जोडिने पिलर नम्बर १ सम्म गस्ती ग¥यो । पछिल्लो समय भने हिमपातका कारण लामो गस्ती हुन नसकेको सशस्त्र प्रहरी बताउँछ । सीता पुलमा नियमित ड्युटी गरिरहेको छ, सशस्त्र प्रहरीले । 

 

भारतीय एसएसबीको छांगरुमा गुल्म रहेको हुँदा उसले पनि कम्पनी स्थापना गरेको छ । ‘काउन्टर पार्टमा हाम्रो सम्बन्ध राम्रो छ’, डिएसपी शाह भन्छन्, ‘हामीबीच यस क्षेत्रमा राम्रो सहकार्य भइरहेको छ ।’

 

सशस्त्र प्रहरी छांगरु बसेपछि काठ तस्करी, वन्यजन्तु तस्करी रोकिएको डिएसपी शाह सुनाउँछन् । उनी भन्छन्, ‘विगतमा ६ महिना खुला रहने यो क्षेत्रमा तस्करीका घटना बढी हुने गरेका थिए । अहिले सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएपछि तस्करीका घटना हुन पाएका छैनन् ।’ 

 

छांगरुमा बसेको सशस्त्र प्रहरीले आफ्नो नियमित ड्युटीसँगै मन्दिर सफाइ, हाइड्रोपावरको नहर मर्मतदेखि पुल–पुलेसा निर्माणसम्मका काम गरेको छ । ‘सशस्त्र प्रहरीले उच्च मनोबलका साथ काम गरिरहेको छ’, डिएसपी शाहले भने, ‘यस पटक संयोगले हिमपात पनि त्यति धेरै भएन ।’ 


सशस्त्र प्रहरी जवानका लागि आयोजना गरिएको शिविरमा स्थानीयलाई समेत स्वास्थ्य परीक्षण र औषधी वितरण गरिएको शाहले जानकारी दिए । 

 

गाउँमा स्वास्थ्य संस्था प्रमुख नहुँदा सशस्त्र प्रहरीकै अहेवले औषधी दिने र बिरामी चेकजाँचसम्मका काम गर्छन् । सशस्त्र प्रहरी जवान अहेव किसनसिंह साउदले गाउँले बिरामी हुँदा औषधोपचार गर्ने गरेको डिएसपी शाह बताउँछन् । 

 

आगो तापेर ड्युटी गर्दै सशस्त्र प्रहरी


माइन्स १६ डिग्री तापक्रम हुने व्यासमा पहिलो पटक सशस्त्र प्रहरी बाह्रैमास बसेको छ । चिसो विस्तारै कम हुँदै गएको छ । तर, मंसिरदेखि चैतसम्म सशस्त्र प्रहरीले रातदिन आगो तापेर ड्युटी गर्नुपरेको छ । 

 

सशस्त्र प्रहरीसँग बस्नलाई आफ्नै भवन नहुँदा भाडाको भवनमा बस्दै आएको छ । त्यहाँ विद्युत् छैन् । अत्यावश्यक कामका लागि जेनेरटेर बालेर उज्यालो बनाइन्छ । चिसोबाट बच्न आगो तापेरै बस्नुपरेको सुरक्षाकर्मी बताउँछन् । 

 

‘चिसो छल्ने सहारा भनेकै यही आगो हो’, सशस्त्र प्रहरी भन्छन्, ‘आगो नभइदिएको भए माइन्स तापक्रम हुने क्षेत्रमा कसरी बस्न सकिन्छ ? रातभर ड्युटी गर्ने मान्छेले आगोमै बस्नुपर्छ । दिनमा पनि राम्रो घाम नलागे त्यही मुडा बालेर बस्ने गर्छाैं ।’ 

 

भारतले हरेक पोस्टमा हिटरको व्यवस्था गरेको छ । कोठा उस्तै न्यानो बनाइएको हुन्छ । अत्याधुनिक उपकरण जडान गरिएका छन् । जाडो छल्ने व्यवस्थाका लागि बाक्ला लुगा, जुत्ताको व्यवस्था गरेको छ । 


नेपालको सशस्त्र प्रहरीलाई जुत्ता, ज्याकेट, ट्रयाकसुट र सिल्पिङ ब्यागको व्यवस्था छ । तर, ५ देखि ६ फिटसम्म हिउँ जम्ने ठाउँका लागि लुगा पर्याप्त छैनन् । चिसो छल्न नसकिने अवस्था भएकै कारण रातदिन आगो तापेरै बस्नुपरेको सुरक्षाकर्मी बताउँछन् । 

 

‘सरकारले हामीलाई सहयोग गरेकै छ’, १ जना सुरक्षाकर्मीले नाम नबताउने सर्तमा भने, ‘जति सरकारको सामथ्र्य छ, त्यति गर्ने हो । अहिले पनि पूरै गुल्ममा खटिएको जनशक्ति आएको छैन । भवन अभाव छ । यस्तो जाडोमा कमै मात्र आउँछन्, ड्युटी गर्न ।’ 

 

व्यासमा सशस्त्र प्रहरीको भवन निर्माण सुरु


व्यासको छांगरुमा सशस्त्र प्रहरी भवन निर्माण पुनः सुरु भएको छ । गत मंसिरबाट रोकिएको भवन निर्माण सुरु भएको हो । 


गत ९ असोजमा गृहमन्त्री रामबहादुर थापा नेतृत्वको टोलीले शिलान्यास गरेको सशस्त्र प्रहरीको पक्की भवन निर्माण अघि बढेको हो ।

 

माइनस १८ डिग्रीसम्म चिसोमा बस्ने मिल्ने गरी आधुनिक सुविधासम्पन्न भवन बनाउन सुरु गरिएको छ । यो वर्ष चिसोमै बिताएका सशस्त्र प्रहरीलाई आगामी वर्ष भवनमा सार्ने गरी निर्माण सुरु गरिएको निर्माण व्यवसायीले बताए । 

 

अत्याधुनिक सुविधासहितको ४० कोठे भवन निर्माणका लागि अहिले ४० बढी मजदुर खटिएका छन् । छाङरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मलाई बाह्रैमास बस्न मिल्ने गरी भवन निर्माण अघि बढाएको हो ।


१ वर्षभित्रै भवन निर्माण सक्ने गरी कुल १० करोड रुपैयाँ लागतमा निर्माण सम्झौता भएको थियो । भवन शिलान्यास गरिएको ३ महिनाभित्रै भुइँ तला निर्माण गर्ने बताएका निर्माण व्यवसायीले पछिल्लो समय काम रोकेका थिए ।

 

झन्डै ५ महिना रोकिएको काम अहिले सुरु भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले जनाएको छ ।

 

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग अतिक्रमण वर्षभरि बस्न सक्ने गरी सैन्य अखडा स्थापित गरेको छ । भारतीय सुरक्षाकर्मी बस्न सुविधासम्पन्न भवन र चिसो छल्न मिल्ने गरी हिटरको व्यवस्था छ । तर नेपालतिरका सुरक्षाकर्मी भने चिसो समय आगो तापेर ड्युटी गर्न बाध्य छन् । 

 

सरकारले गत ३१ वैशाखमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट राख्ने निर्णय गरेको थियो । लगत्तै सरकारले नक्सा नै जारी गरेपछि २८ असारको मन्त्रिपरिषद् बैठकले व्यासमा बाह्रैमास सशस्त्र प्रहरीको गुल्म राख्ने निर्णय गरेको हो ।

 

सशस्त्र प्रहरीको भवन निर्माणका लागि स्थानीयले गागा क्षेत्रमा १५ रोपनी जग्गा सशस्त्रलाई दिएका हुन् । भवन निर्माण भएपछि मात्रै सशस्त्र प्रहरीले आफ्नो कार्य क्षेत्रमा सहज ड्युटी गर्न सक्नेछ ।