close

बाजुरेलीको मन माझेका सिडियोको ११ महिनामै सरुवा

बाजुरेलीको मन माझेका सिडियोको ११ महिनामै सरुवा

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेकोे ११ महिने जिल्ला बसाइ टुंगिएको छ । गैरेको कारागार कार्यालय वीरगञ्ज पर्सामा सरुवा भएको हो ।

 

बाजुराको करिब १ वर्षे बसाइमा गैरे यहाँका नागरिकमाझ लोकिप्रय थिए । सिडियो भन्नेबित्तिकै शानदार तरिकारले हिँड्ने र प्रस्तुत हुने गर्छन् । समुदायसँग कमै सम्पर्कमा बस्न चाहन्छन् । तर, गैरे भने सबैसँग नजिकिने, समस्या बुुझ्ने सिडियोका रूपमा परिचित भएका छन् ।

 

उनको सरुवापछिको बिदाइमा स्थानीयले फूलमाला र अबिरले स्वागत गरे पनि कसैको आँखा ओभानो देखिएको थिएन ।
 
सेवाग्राहीसँग कहिले पनि रुखो शब्द नबोल्ने र काममा सहजीकरण गरेर घर पठाउने गरेका थिए । बाजुराको प्रशासन प्रमुख भइरहँदा उनले कुनै पनि कर्मचारीलाई अगतिलो नगरेको कर्मचारी बताउँछन् ।

 

नागरिकताबाट वञ्चित भएकालाई पनि उनले पहिलो पटक नागरिकता दिन सफल भएका थिए । सेवाग्राहीसँग मिलनसार रूपमा प्रस्तुत हुने र सेवा प्रवाहमा सम्झौता नगर्ने स्वभावका गैरेले बाजुराको बसाइमा यहाँका नागरिकको मन जितेका छन् ।

 

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष काल्चे दमाई गैरे सिडियो बाजुराका लागि नभुलिने पात्र रहेको बताउँछन् । गैरेले अरू सिडियोभन्दा फरक पहिचान बनाएको उनको बुझाइ छ ।
 
गैरे प्रशासनिक काममा मात्र नभई बाजुराको विकासका सवालमा पनि अग्रसर हुँदै आएका थिए । बाढीपहिरोले तहसनहस बनाएका बेला बूढीगंगा नदीमा बेलीब्रिज स्थापना र सडक सुचारु गर्न महत्त्वपूर्ण पहल लिएका थिए ।

 

कोभिड–१९ को संकटमा सिडियो गैरेको टिम अग्रमोर्चामा परिचालित भएको थियो । कोभिड–१९ का बेला उनको भूमिका महत्त्वपूर्ण रहेको जनप्रतिनिधि बताउँछन् । विपद् व्यवस्थापनमा पनि गैरेले सक्दो प्रयास गरेका थिए ।


 
गैरे बाजुराको विकटमा रहेको स्वामीकार्तिक गाउँपालिका वडा नम्बर १ मुक्तिकोटमा समेत पुुगेका थिए । उक्त गाउँमा हालसम्म कुनै सिडिओ पुगेका थिएनन् ।

 

सदरमुकामबाट ३ दिन पैदल दूरीमा रहेको यो ठाउँमा जनताका समस्या बुझ्न प्रजिअ पुग्दा स्थानीयबाट न्यानो स्वागत पाएका थिए ।


 
पहिलो पटक सिडियो गाउँ पुग्दा स्थानीय खुसी भएका थिए । मुक्तिकोट गाउँमा दलित समुदायको बाहुल्य छ । गरिबीका कारण यो गाउँ लामो समयदेखि तड्पिरहेको छ । नेपालमा सबैभन्दा बढी गरिब भएको गाउँ मुक्तिकोटलाई मानिने गरेको छ ।

 

२०२८ मा पहिलो पटक हिरामान श्रेष्ठ बाजुरामा प्रजिअ भएर आएका थिए । त्यतिबेलादेखि हालसम्म बाजुरामा ४८ जना प्रमुख जिल्ला अधिकारी आइसकेका छन् । तर, विकट ठाउँमा पहिलो पटक प्रजिअ गैरे मात्र पुगेका छन् ।

 

यो गाउँ भौगोलिक विकटताका कारण निकै पछि परेकोे छ । यो क्षेत्रमा राज्यका तल्लो तहका कर्मचारीसमेत जान मान्दैनन् । केही कामका लागि त्यहाँ जानुपर्ने भए बीचबाटै फर्कने गरेको स्थानीय सुनाउँछन् ।


 
‘गैरसरकारी संस्थाका कर्मचारीसमेत त्यहाँ जान मान्दैनन् । विकट ठाउँमा पहिलो पटक सिडियो साब आउँदा हामी निकै खुसी भयौँ’, स्थानीय धन विक भन्छन् । चुनावका बेला जिल्ला तहको नेता उक्त गाउँ पुगे पनि अरू बेला मुख नदेखाउने ग रेको स्थानीय अगुवा मन लुहारले बताए ।