close

हिउँले चुटेपछि मरुभूमि बन्यो तरकारी जोन

हिउँले चुटेपछि मरुभूमि बन्यो तरकारी जोन

Trulli
ADVERTISEMENT

धनकुटा- बाह्रै महिना तरकारी खेतीले हराभरा हुने धनकुटाको तरकारी जोन सिंधुवा क्षेत्र २ वैशाखमा परेको असिनापानीका कारण मरुभूमि बनेको छ ।

 

करिब २४ घन्टा मध्यपहाडि लोकमार्ग र स्थानीय बाटाघाटा अवरोध हुने गरी परेको असिनापानीले सिंधुवा क्षेत्रमा फार्म र व्यक्तिगत रूपमा लगाइएका हरियो घाँस नष्ट हुँदा पशु चौपायालाई खुवाउनसमेत समस्या परेको छ ।

 

मरुस्थलजस्तै देखिएको सिंधुवा क्षेत्र अहिले चराचुरुंगीको आवाजविहीन बनेको छ भने असिनाले टिनका छाना, खानेपानी ट्यांकी र घर बाहिर राखिएका भाँडावर्तन पुटेका छन् । 

 

असिनाले केही व्यक्तिको टाउकोमा चोटसमेत लागेको स्थानीयले जानकारी दिए । हाल सबै क्षेत्रबाट तथ्यांक संकलन गर्ने काम भइरहेकाले क्षतिको यकिन तथ्यांक आएको छैन । 

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ तेह्रथुम तथा जोन इकाइ धनकुटाअन्तर्गत सिंधुवा क्षेत्रको १२१० हेक्टरमा लगाइएको सबै तरकारी बाली नष्ट भएको छ ।

 

इकाइका प्राविधिक सहायक भर्मराज कटुवालका अनुसार छथर जोरपाटी वडा नम्बर ६, ५ र २, महालक्ष्मी नगरपालिका वडा नम्बर ८, ९ र १ मा मा लगाइएका सबै तरकारीबाली नष्ट भएका छन् ।

 

बेलुकीपख करिब ४५ मिनेट बढी परेको असिनापानीले छथर जोरपाटी गाउँपालिकाको सिंधुवा जोन क्षेत्रमा लगाइएका काउली, बन्दा, आलु, मटरकोसा, साग, नर्सरी र टनेल नष्ट भएका छन् ।

 

छथर जोरपाटी गाउँपालिका वडा नम्बर ६ को मजुवा गाउँमा मात्र करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला सहकारी संघ धनकुटाका कोषाध्यक्षसमेत रहेका स्थानीय अगुवा कृषक युवराज थापाले जानकारी दिए । उक्त गाउँमा करिब ३ सय घरले लगाएको सबै तरकारी नष्ट भएको उनले बताए ।

 

क्षतिको विवरण संकलन तथा अनुगमन गर्न प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राई, प्रदेश ‘ख’ का सभासद् इन्द्रमणि पराजुली तथा जिल्ला प्रशासन कार्यालय धनकुटा र पत्रकारको टोली सिंधुवा पुगेको थियो ।

 

विपद्पछि छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष भीमला क्षेष्ठको नेतृत्वमा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको पालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए ।