close

काेराेनाकाे दाेस्राे लहरपछिकाे पहिलाे लकडाउन, बाँकेमा

काेराेनाकाे दाेस्राे लहरपछिकाे पहिलाे लकडाउन, बाँकेमा

Trulli
ADVERTISEMENT

बाँके- बाँकेमा कोरोना संक्रमणको दर बढ्दै गएपछि लकडाउन गरिने भएको छ । मंगलबार दिउँसो सर्वपक्षीय सर्वदलीय बैठकमा बाँकेमा कोरोना संक्रमणको चेनब्रेक गर्न डिसिसिएमसी बाँकेले बिहीबारदेखि लकडाउन गरिने बताएको हो ।

 

बैठकमा कोरोना संक्रमणका कारण अस्पताल भरिभराउ भएको र लकडाउनबाहेक अर्को विकल्प नभएको सर्वपक्षीय सुझाव दिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले बिहीबारदेखि लकडाउन हुने जानकारी दिए । 

 

पहिलो चरणमा १ साता लकडाउन गरिने र त्यसपछि आवश्यकताअनुसार थप गर्न सकिने प्रजिअ गेलालले बताए ।

 

कोरोनाका बिरामीको उपचार भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मात्र भइरहेको छ । यी अस्पतालले कोरोना बिरामी राख्न ठाउँ नभएको र लकडाउन गरी सम्पूर्ण प्रबन्ध मिलाउन बैठकमा आग्रह गरेपछि कोरोना नियन्त्रण गर्न लकडाउनै गर्नुपर्ने निष्कर्षमा सबै पुगेका थिए ।

 

नेपालगन्ज उपमहानगर प्रमुख डा. धबलशमशेर राणाले तत्काल १ साताका लागि लकडाउन गर्न आग्रह गरेका थिए । लकडाउन अवधिभर लामो दूरीका सवारी साधनदेखि मान्छेसमेत सडकमा हिँडडुल गर्न पाउने छैनन् ।  खाद्यान्न किनमेल गर्न र अत्यावश्यक काममा हिँड्न भने पाइनेछ ।


बाँकेका एसपी ओमबहादुर रानाले लकडाउन पूर्ण रूपमा कडाइ गरी अनुमतिबाहेकका सबै चीजमा पूर्ण रूपमा रोक लगाइने बताए ।

 

भेरी अस्पतालमा २० चैतदेखि ६ वैशाखसम्म १७ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार बाँकेमा ३२२ जना संक्रमित फेला परेका छन्, जुन अहिलेसम्मकै सर्वाधिक उच्च दर हो ।

 

सर्वपक्षीय बैठकमा नेपालगन्ज उपमहानगर प्रमुख डा. राणा, भेरी अस्पतालका मेसु डा. प्रकाश थापा, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डा. नितेश कनोडिया, वेस्टर्न हस्पिटलका प्रबन्ध निर्देशक डा. राहुल थापा, विभिन्न राजनीतिक दल, नेपाली सेना, नेपाल प्रहरीका अधिकारीलगायतको सहभागिता थियो ।