close

गण्डकीको विशेष अधिवेशन सुरु हुँदै: मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव लगिँदै

गण्डकीको विशेष अधिवेशन सुरु हुँदै: मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव लगिँदै

Trulli
ADVERTISEMENT

कास्की- गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सोमबारदेखि सुरु हुँदै छ । प्रमुख प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका २८ सांसदले अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन मागेका थिए । 


उनीहरूको निवेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन डाकेका हुन् । ३ वटा दलले २ वैशाखमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । बैठकमा उक्त प्रस्ताव टेबुल हुनेछ ।

 

फ्लोर क्रसको त्रासबीच विपक्षी गठजोड अविश्वासको प्रस्तावमा जुटेको छ भने सरकार पक्ष प्रस्ताव सामना गर्न तयार देखिन्छ । २ बजे बस्ने विशेष अधिवेशनका लागि आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तयार गरेको छ । अहिलेको अधिवेशनमा दलका नेताहरू बोल्ने छैनन् ।

 

सामान्य अवस्थामा अधिवेशनको सुरुमा दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची हुन्थ्यो । अहिलेको अधिवेशन फरक प्रयोजनका लागि भएकाले नयाँ हिसाबले कार्यसूची तय गरिएको सभामुख नेत्रनाथ अधिकारीले बताए । 

अविश्वास प्रस्ताव टेबुल भएपछि सबै सांसदले १० मिनेटका दरले बोल्नेछन् । विपक्षी दलले टेबुल भएकै दिन अविश्वास प्रस्ताव टुंगो लगाउन दबाब दिएका थिए । तर, परामर्श समितिले सबै सांसद बोल्ने समय छुट्याएको छ ।

 

कार्यसूची तलमाथि नभए १५ वैशाखमा अविश्वास प्रस्तावमा मत विभाजन हुनेछ । प्रस्तावको पक्षमा ३१ मत परे हालको गुरुङ सरकार ढल्नेछ । अन्यथा उनी नै मुख्यमन्त्री कायम रहनेछन् ।

 

हालसम्म सरकारको पक्षमा एमालेका २७, जनमोर्चाका ३ र स्वतन्त्र सांसद १ जना गरी ३१ जनाको समर्थन छ । अविश्वास प्रस्तावमा कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादीका २ गरी २८ जनाले हस्ताक्षर गरेका छन् । जनमोर्चाका ३ जनालाई सरकारको समर्थन फिर्ता लिएर अविश्वासमा मतदान गर्न केन्द्रीय समितिको उर्दी छ । 

 

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा भने माथिल्लो निर्देशनप्रति सन्तुष्ट छैनन् । संख्याका हिसाबले अल्पमतमा परेका मुख्यमन्त्री गुरुङको कुर्सी त्यतिबेला मात्रै जोगिन्छ, जतिबेला अरू पार्टीका सांसदले फ्लोर क्रस गर्ने हिम्मत राख्नेछन् । कार्यव्यवस्था समितिले बनाएको कार्यसूचीअनुसार चल्यो भने सम्भवतः १५ वैशाखमा गुरुङ मुख्यमन्त्रीबाट बिदा हुनेछन् ।

 

गुरुङ अहिले आन्तरिक गृहकार्यमा व्यस्त छन् । जनमोर्चासँग उनी पूर्ण विश्वस्त थिए । जनमोर्चाले विपक्षमा मतदान गर्ने निर्णय गरेपछि ओली समूहकै नेता मुख्यमन्त्री भएकाले काठमाडौंको राजनीतिक बाछिटा गण्डकीसम्म छिरेको हो । 

 

त्यसअघि मुख्यमन्त्री गुरुङले जनता समाजवादीका सांसदलाई बोलाएर आफूलाई सघाउन आग्रह गरे पनि उसले समर्थन नगर्ने बताएको छ । कांग्रेस र माओवादीसँग छलफल गरे पनि औपचारिकताका लागि मात्रै देखियो ।


करिब-करिब दलगत समर्थन मुख्यमन्त्रीको पक्षमा देखिँदैन । गुरुङसँग अन्तिम अस्त्र एउटै मात्र छ, अरूको मत खोस्ने अर्थात् ‘फ्लोर क्रस’ । उनले शंकास्पद केही सांसदलाई बोलाएर सहयोगको याचना गरिरहेका छन् ।